Saturday 16th of December | २०७४ पौष १ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सभ्य बनाउ चुनाव प्रचार प्रसारको भाषा

न्यूजअभियान | प्रकाशित मिति : २०७४ कार्तिक २३ बिहिबार
newsabhiyan
newsabhiyan

काठमाडौं, २३ कार्तिक । निर्वाचन नजिकिँदै गर्दा विभिन्न दलका उम्मेदवारले एकले अर्कोलाई गालीगलौज गर्ने गरेको देखिएको छ । आवधिक निर्वाचन भनेको जनताको मन जितेर मत पाई जनप्रतिनिधि भन्ने प्रक्रिया हो ।

तर, अर्कालाई गाली गरेर आफु राम्रो देखिने प्रवृत्ति नेपाली राजनीतिमा देखिएको छ । प्रमुख सत्तारुढ दल कांग्रेसले चुनावी घोषणापत्रमा प्रमुख प्रतिस्पर्धी तालमेलसहितको वामपन्थी घटकलाई गालगलौज गरेको छ ।

बाम गठबन्धनले पनि कांग्रेसलाई गाली गरेर मंगलबार मात्रै घोषणापत्र सार्वजनिक गरेको छ । हो, अर्काले गरेका नकारात्मक कामको सभ्य भाषामा आलोचना गर्न मिल्छ । तर, गाली गलौजमै उत्रनु भने राजनीतिक प्रवृत्ति होइन ।

पार्टीको नीति र कार्यक्रमबारे आमनागरिकलाई सुसूचित गराउने घोषणापत्रलाई कांग्रेसले वामपन्थी शक्तिलाई र बामपन्थी शक्तिले कांग्रेसलाई गाली गरेपछि जनताले के एजेण्डा मन परेर उनीहरुलाई मत दिने ?

त्यो अहिले राजनीतिक बृत्तमा बहसको विषय बनेको छ । गणतन्त्रका संवाहक शक्तिहरुबीच चुनावको मुखमा आफ्नो राम्रो काम र भावी योजनाबारे चर्चा गर्नुभन्दा पनि प्रमुख प्रतिपक्षी दललाई विष वमन गर्नु अवश्य पनि शोभनीय मान्न सकिन्न । आफू राम्रो छु भन्ने प्रमाणित गर्न अरुलाई गालीगलौज गर्न आवश्यक छैन् ।

कांग्रेस संस्थापक विश्वेश्वरप्रपाद कोइरालाको पालादेखि सुरू भएको प्रजातान्त्रिक समाजवादको सपना सात दशक बित्दा पनि पूरा हुन सकेको छैन् ।

बरू, कांग्रेसले आफ्ना प्रिय नेता बीपीको सपना साकार गराउन सक्ने चुनावी घोषणापत्र निर्माण गर्नुपथ्यो, बाम गठबन्धनले मदन भण्डारी र पुष्पलालको सपना पुरा गर्ने घोषणापत्र निर्माण गर्नु पथ्यो र पो त्यो सबैका लागि चासो र रूचिको विषय बन्थ्यो ।

वामपन्थीले आफ्नो पुरानो मूल्य र मान्यतालाई धेरै परिमार्जन गरेर समाजवादी मोडललाई आफ्नो गन्तव्य बनाएका छन् । साम्यवाद इतिहासको पाना बनिसकेको छ ।

संसदीय शासन प्रणालीअन्तर्गत खुला प्रतिस्पर्धाको माध्यमबाट बहुदलीय जनवादलाई अंगीकार गर्दै अघि बढ्ने एमालेको नीतिमा अन्य वाम घटक समाहित बनेका छन्, गठबन्धन गरेर । नागरिक समाज धेरै सचेत भइसकेको अवस्थामा परिवर्तन जनचाहना बनिसकेको छ ।

तसर्थ, मतदाताको मन जित्न अब राजनीतिक दलहरुले अरुलाई गालीगलौज गरेर भन्दा यथार्थवादी बनेर चुनावी मैदानमा उत्रिनु पर्छ । गालीको राजनीति पानीको थोपाझैँ क्षणिक हुने भएकाले मतदातालाई प्रभाव पार्न सक्दैन् । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan