Monday 11th of December | २०७४ मङ्सिर २५ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

पोखरेल हारको ‘ह्याट्रिक’ मा, निधिले जित्ने निश्चित भएसँगै हतास भए महतो !

न्यूजअभियान | प्रकाशित मिति : २०७४ कार्तिक २७ सोमबार
newsabhiyan
newsabhiyan

काठमाडौं, २७ कार्तिक । एमाले महासचिव ईश्वर पोखरेलले आफ्नै कारण तीन तीनपटक चुनाव हारेर ‘ह्याट्रिक’ कायम गर्न लागेपछि पार्टी पंक्तिमा खैलाबैला मच्चिएको छ । उनी काठमाडौं ५ बाट २०६४ र २०७० सालमा नेपाली कांग्रेसका नेता नरहरि आचार्यसँग पराजित भएका थिए ।

यतिबेला कांग्रेसका बौद्धिक नेता डा.प्रकाशशरण महतसँग प्रतिस्पर्धा गर्दैछन् । पोखरेलको अवस्था यसपटक विगतको भन्दा पनि कमजोर बन्नुको दुईवटा कारण रहेको स्थानीय बासिन्दा बताउँछन् । पहिलो कारण हो, कांग्रेसका उम्मेदवार डा.महत व्यक्तिगत रुपमा पनि निकै बलियो हुनु ।

दोस्रो कारण हो, पोखरेलले एमाले पार्टीभित्रैका गलत र भ्रष्टहरुलाई काखी च्याप्नु । उनले आफ्ना पिए नारायण सिलवाललाई प्रदेश सभाअन्तर्गत (क) मा उम्मेदवार बनाएका छन् । उनकी श्रीमती रत्ना गुरुङ समानुपातिकाबाट सांसद बनेकी थिइन् ।

पोखरेलको सम्पत्ती घरजग्गाको कारोबारमा लगाएर अकुत कमाई गरेका नारायण सिलवाल त्यस क्षेत्रमा एमाले कार्यकर्ताबीच नै बद्नाम छन् । पोखरेल मन्त्री हुनेबित्तिकै रातारात अर्बपति बनेका सिलवालका कारण एमाले कार्यकर्तामा निराशा छाएको छ ।

स्थानीय नेता हरि अधिकारीलाई प्रदेशसभाको उम्मेदवार बनाएको भए पोखरेलले पराजय २०७० सालको जस्तै कम अन्तरमा हुने सम्भावना थियो । तर यसपटक उनले धेरै मतअन्तरले चुनाव हार्ने अवस्था छ । दुवै प्रतिस्पर्धीलाई बाहिरको भनिए पनि त्यस क्षेत्रका लागि डा.महत स्थानीय हुन् ।

क्षेत्र  नम्बर ५ र नुवाकोट जिल्ला जोडिएको छ । क्षेत्र नम्बर ५ का अधिकांश पुराना बस्तीसँग नुवाकोटको परम्परादेखि नै रोटीबेटीको सम्बन्ध छ । यस क्षेत्रका नयाँ बासिन्दामध्ये करिब ८० प्रतिशत नुवाकोट, सिन्धुपाल्चोक, काभ्रे, धादिङ, गोरखा, लमजुङ, तनहुँ छन् ।

जुन समाजसँग डा.महत विगत ४० वर्षदेखि घुलमिल भएका छन् । कक्षा ४ देखि नै काठमाडौं बसेर पढेका डा.महतलाई त्यस क्षेत्रकाले बाहिरका मान्दैनन् । तर ओलढुंगामा जन्मिएर उच्च शिक्षा जनकपुरमा पढेका पोखरेल चुनाव लड्न मात्रै त्यस क्षेत्रमा पुगेका हुन् ।

२०५६ सालमा मनमोहन अधिकारीको निधनलगत्तै पोखरेललाई उम्मेदवार बनाइएका कारण सेन्टिमेन्टका कारण उनले झिनो मतले चुनाव जितेका थिए । त्यसयताका चुनावमा भने उनलाई जनताले कहिल्यै पनि रुचाएनन् ।

यसैगरी, काठमाडौंको उत्तरी क्षेत्रको भविष्य जोडिएको टोखा–छहरे सुरुङमार्ग निर्माणका अवधारणाकार भएका कारण पनि त्यस क्षेत्रमा डा.महतप्रति धेरैले आश गरेका छन् ।

निधिले जित्ने निश्चित भएसँगै हतास भए महतो
राजपा नेता राजेन्द्र महतो गृहजिल्ला सर्लाही छाडेर यसपटक नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिविरुद्ध चुनाव लड्न धनुषा ३ पुगेको घटनाले राष्ट्रियस्तरमा चर्चा पाएको छ । पटक पटक मन्त्री हुँदा पनि आफ्नो निर्वाचन क्षेत्र सुरक्षित बनाउन नसकेका महतो जति जति क्षेत्र नम्बर ३ का गाउँ घुम्न थाले, त्यतित्यति निरास र हतास देखिन थालेका छन् ।

कांग्रेस नेता निधिकै पहलमा जटही–जनकपुर–ढल्केवर सडक ६ लेन फराकिलो बन्दै गरेको जब देखे, तब महतोको होसहवास उड्न थालेको हो । यो सडक निर्माण सम्पन्न हुने चरणमा पुगेको छ । सडक निर्माण हुनुभन्दा अघि कठ्ठाको दुई लाख मूल्य नजाने जग्गा यतिबेला कठ्ठाको २० लाखमा किन्न मान्छेहरूले तँछाड मछाड गरिरहेका छन् ।

जयनगरदेखि बर्दिवाससम्मको रेलमार्ग र जनकपुर परिक्रमा सडक निर्माण अन्तिम चरणमा पुगेको देखेपछि महतो अत्तालिएका छन् । क्षेत्र नम्बर ३  अन्तर्गतका सबै वडाहरूका मुख्य सडकहरू पिच भइसकेको र भित्री सडकहरू ढलान भइसकेका छन् ।

यसबाहेक क्षेत्र नम्बर ३ मा विभिन्न ४० वटा विकास आयोजनाको टेन्डर स्वीकृति भई काम सुरु हुने चरणमा रहेको, जनकपुर विमानस्थलको टर्मिनल भवन धमाधम बनाउन सुरु भएको महतोले नदेख्ने कुरै भएन । राजर्षी जनक विश्वविद्यालयको विधेयक निधिकै पहलमा निर्माण तथा पारित भएको हो भन्ने पनि महतोले थाहा नपाउने प्रश्नै भएन ।

निधि जति अवधि मन्त्री भएका थिए, त्यति अवधि मन्त्री भएका महतोले आफ्नो गृहक्षेत्र सर्लाहीमा भने विकास निर्माणको नाममा एक इन्च सडकसमेत विस्तार गरेका छैनन् । यो कुरामा जनकपुरका जनता अनभिज्ञ हुने कुरै भएन ।

गत स्थानीय तहको निर्वाचन परिणामअनुसार यस क्षेत्रमा नेपाली कांग्रेस एक्लैको मत १९ हजार आठ सय छ भने राजपा र संघीय समाजवादी फोरमको मत जोड्दा जम्मा १३ हजार दुई सय ५३ पुग्छ ।

तीन पुस्तादेखि त्यही क्षेत्रमा राजनीति गरिरहेका निधि जस्तो हेभीवेट चुनाव प्रचारमा उत्रना साथ स्थानीय चुनावको भन्दा दुई–चार हजार मत बढ्ने सहजै अनुमान स्थानीयले लगाएका छन् ।

निधि जनकपुर पुग्नासाथ अन्य पार्टी छाडेर कांग्रेस प्रवेश गर्नेहरूको संख्या दैनिक पाँच सयदेखि एक हजार देखिएको छ ।

गत शनिबार मात्रै तत्कालीन सद्भावना पार्टीका जिल्ला उपाध्यक्ष जगदीश महासेठ सयौं कार्यकर्तासहित नेपाली कांग्रेस प्रवेश गरेका थिए । गत आइतबार पनि एमाले किसान संघका जिल्ला सदस्य एवं  नगराइन गाविसका पूर्वअध्यक्ष श्यामसुन्दर चौधरी सयौं कार्यकर्तासहित  नेपाली कांग्रेस प्रवेश गरेका छन् ।

नेपाली कांग्रेस पार्टीको ‘सेकेन्ड म्यान’ को रूपमा रहेका निधि आगामी पाँच वर्षको अवधिमा कुनै पनि बेला प्रधानमन्त्री बन्ने सम्भावना बोकेका नेता भएकाले जनकपुर क्षेत्रका बुद्धिजीवीहरू निकै आशावादी छन् ।

मधेसी समुदायबाट प्रधानमन्त्री बन्ने सम्भावना बोकेका नेता निधिलाई जसरी पनि चुनाव जिताउनुपर्ने सेन्टिमेन्ट बढ्दै गएपछि प्रतिस्पर्धी महतो साँच्चिकै आत्तिएका छन् ।

स्थानीय निर्वाचनको पूर्वसन्ध्यामा सप्तरीको तिलाठीमा भएको गोलीकाण्डलाई निधिविरुद्ध एक मात्र हतियारका रूपमा प्रयोग गर्न सकिने निष्कर्षमा महतो पुगेको उनको निकटस्थहरूको भनाइ छ । तर सप्तरीको तिलाठीमै यो घटना मुद्दा बन्न सकेको छैन ।

एमालेको टोपी लगाएको पहाडिया लडाकु जत्था र धोती लगाएको मधेसीको लडाकु जत्थालाई आपसमा भिडाएर मधेसमा साम्प्रदायिक सद्भाव समाप्त पार्ने षड्यन्त्रमा त्यतिबेला एमाले र मधेसी दल दुवै गोटी बनेका थिए । यो षड्यन्त्र निस्तेज पार्न निधि सफल भए पनि प्रहरीको लापरबाहीका कारण तीनजनाको ज्यान गयो, तरुणमा उल्लेख छ ।

त्यतिबेला प्रहरी प्रशासन आईजीपी विवादमा फँसेका कारण पनि यो अप्रिय घटना भएको थियो । घटनालगत्तै तत्कालीन गृहमन्त्री निधि तिलाठी पुगे र मृतकलाई सहिद घोषणा गर्दै क्षतिपूर्ति दिए । नेपालको इतिहासमै मृतकलाई यति छिटो क्षतिपूर्तिसहित सहिद घोषणा गरिएको पहिलो घटना हो । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan