Saturday 16th of December | २०७४ पौष १ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

भक्तपुर– २ : उम्मेदवारका फरक फरक कार्यसूची

न्यूजअभियान | प्रकाशित मिति : २०७४ मङ्सिर २ शनिबार
newsabhiyan

 रमेश गिरी, भक्तपुर, २ मंसिर ।आगामी मंसिर २१ गते हुने निर्वाचनमा प्रतिनिधिसभा सदस्यतर्फ भक्तपुर क्षेत्र नं २ बाट प्रतिस्पर्धामा उत्रिएका नेताहरुका कारण यो क्षेत्र चर्चामा आएको छ ।

पूर्वसभामुख, पूर्वमन्त्री र पूर्वसांसदबीच त्रिपक्षीय प्रतिस्पर्धा रहेको यस क्षेत्रमा तीनै उम्मेदवारले फरक फरक कार्यसूची लिएर मतदातासँग मत मागिरहेका छन् । यस क्षेत्रमा यसअघि नेपाल मजदुर किसान पार्टी र नेपाली काँग्रेसले आलोपालो बाजी मार्दै आएका थिए ।

काँग्रेसबाट पूर्वसभामुख एवं मानवअधिकारवादी दमननाथ ढुंगाना, एमालेका युवा नेता एवं पूर्व उद्योगमन्त्री महेश बस्नेत र नेमकिपाबाट समानुपातिक सांसद भइसक्नुभएकी सुश्री अनुराधा थापा मगर चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।

उम्मेदवारका कारण मात्र होइन पछिल्लो समयमा उम्मेदवारले ल्याएको कार्यसूचीका बारेमा समेत यस क्षेत्र मतदातामाझ चर्चामा पुगेको छ । छयहत्तर वर्षीय ढुंगानाले मतदातामाझ आफूलाई कुचीकार उम्मेदवारका रुपमा उभ्याउनुभएको छ । उहाँ राजनीतिमा साह्रै फोहर बढेकाले त्यसलाई सफा गर्न राजनीतिक कुचो लिएर आफू आएको बताउनुहुन्छ ।

ढुंगाना भन्नुहुन्छ, “देश विकास गर्न पहिला राजनीतिमा बढेको फोहरी खेलको सफाइ गर्नुपर्छ, मेरो उम्मेदवारी त्यही राजनीति सफाइ गर्न कुचो बोकेर आएको कुचीकारका रुपमा बुझ्नुस्, म पहिला राजनीति सफाइ गर्छु, अनि विकास ।”

एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा भारतले नाकाबन्दी नै नगरे पनि नाकाबन्दी ग¥यो भनेर गलत हल्ला गरी राष्ट्रवादको गलत नारा लगाएको टिप्पणी गर्दै उहाँले देशलाई गलत बाटाबाट जान रोक्न विशेष परिस्थितिमा आफू भक्तपुरमा उम्मेदवार भएर आएको बताउनुभयो ।

यता एमालेका उम्मेदवार ४१ वर्षीय बस्नेत भने आफ्नो उम्मेदवार भक्तपुरको विकासका लागि भएको बताउनुहुन्छ । यसअघिको संविधानसभाको निर्वाचनमा काँग्रेससँग पराजित बस्नेतले आफूले अधिकांश समय भक्तपुरको विकासमा चासो दिएर अग्रसर भएको बताउँदै अबको पाँच वर्षमा जिल्लालाई चौतर्फी विकास गरिने दृढता व्यक्त गर्नुभयो । वर्षांैदेखि विकासमा पछि परेको भक्तपुरलाई धार्मिक पर्यटकीय क्षेत्र बनाइने, गाउँगाउँमा सडक, खानेपानी, सञ्चार, स्वास्थ्य संस्था पु¥याइने, आधुनिक सुविधासम्पन्न शहरको विकास गर्ने उहाँको कार्यसूची छ ।

बस्नेत भन्नुहुन्छ, “ मैले भूकम्पमा घर भत्किएका छ हजारभन्दा बढी पीडितलाई लत्ताकपडा, खाद्यान्न, नगददेखि जस्ताको टहरा बनाइदिएर सहयोग गरेँ, पार्टी अध्यक्ष ओली प्रधानमन्त्री हुँदा र म उद्योगमन्त्री हुँदा भक्तपुरमा रु पाँच अर्बको बजेट ल्याएर विकासका काम शुरुवात गरेँ, अबको पाँच वर्षमा भक्तपुरलाई विकासबाट सम्पन्न जिल्ला बनाउने मेरो एजेण्डा छ ।”


प्रतिस्पर्धामै रहनुभएकी नेमकिपाकी उम्मेदवार ३६ वर्षीया मगरको पनि फरक कार्यसूची छ । उहाँसँग राजनीतिक सफाइ र विकासका कार्यसूचीभन्दा पनि सिद्धान्तका कार्यसूची बढी छन् । देशमा समाजवादले ल्याउने परिवर्तन र पूँजीवादले ल्याउने संकट, धनी र गरिबबीचको बढ्दो खाडल र वैदेशिक हस्तक्षेपविरुद्ध चाल्नु पर्ने कदमका कार्यसूची लिएर उहाँ मतदातामाझ पुग्नुभएको छ ।

उहाँ देशमा भ्रष्टाचारी, देशद्रोही, बलात्कारीजस्ता अपराधीलाई फाँसीको कानून ल्याउनुपर्ने बताउनुहुन्छ । त्रिपक्षीय प्रतिस्पर्धा रहेको यस क्षेत्रमा यस पटकको निर्वाचनमा ढुंगाना, बस्नेत वा मगर कसले बाजी मार्ला भन्ने चासो र चर्चा चौतर्फी बढेको छ । (रासस) 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan