Thursday 18th of October | २०७५ कार्तिक १ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

पुरूषमा गर्भधारणको अस्तित्व

न्यूजअभियान | प्रकाशित मिति : २०७४ मङ्सिर २७ बुधबार |
newsabhiyan
newsabhiyan

डा. मतिप्रसाद ढकाल, विभिन्न तीर्थयात्राका क्रममा प्रभास क्षेत्रमा पुगेर युधिष्ठिर उग्र तपस्यामा संलग्न भए भने प्रभास क्षेत्रमा बलरामजीले पाण्डवहरुलाई सहानुभूतिपूर्वक उद्गार व्यक्त गरेर आश्वस्त तुल्याउने प्रयत्न गरे । राजा गयको यज्ञको प्रशंसा र नर्मदा नदीको माहात्म्य श्रवण गरिसकेपछि लोमश ऋषिले पाण्डवहरुलाई महर्षि च्यवन र राजा मान्धाताको उपाख्यान अवगत गराएका थिए ।

महर्षि भृगृका पुत्र च्यवन अत्यन्त तेजस्वी थिए । उनले सरोवरका समीपमा तपस्या गर्न प्रारम्भ गरे । तपस्या गर्दागर्दै धमिराले पुरिएर उनी माटाको ढिस्काजस्तै देखिए । एकदिन राजा शर्याति आफ्नी एकमात्र पुत्री सुकन्यासँग विहारका लागि उक्त सरोवरका तटमा आइपुगे ।

सुकन्या आफ्ना साथीहरुबाट घेरिएकी थिइन् र साथीहरुको साथ छाडेर उनी एक्लै भ्रमण गर्न थालिन् । उनका शरीरमा एउटामात्र वस्त्र थियो र उनी विभिन्न गरगहनाले सुसज्जित भएकी थिइन् । च्यवन मुनिले उनी बिजुली चम्केझैं चारैतर्फ विहार गरिरहेको देखे । सुकन्यालाई त्यसरी एकान्तमा देख्ता च्यवन अत्यन्त प्रसन्न भए । उनले सुकन्यालाई बोलाए तर उनको मधुरो आवाज सुकन्याले सुनिनन् ।

चम्किँदै गरेको धमिराको ढिस्को देखेर सुकन्याका मनमा कौतूहल उत्पन्न भयो र उनले काँटीले धमिराको ढिस्कालाई कोपिदिइन् । त्यसरी कोप्ता च्यवन ऋषिका आँखा फुटेछन् । आफ्नो आँखा फुटेपछि अत्यन्त क्रुद्ध भएर च्यवनले शर्यातिका सेनाको मलमूत्र नै बन्द गरिदिए ।

राजा शर्यातिले त्यसको जानकारी पाएर त्यहाँ च्यवन ऋषिले तपस्या गरिरहेका र अनजानमा कसैले उनको अपकार पो ग¥यो कि भनेर राजाले सबैसँग सोधपुछ गरे तर कसैले पनि त्यसको जानकारी दिन सकेनन् । आफ्ना आमाबुबालाई चिन्तामग्न भएको देखेर अन्ततः सुकन्याले आपूmले धमिराको ढिस्कालाई काँटीले कोपेको बताइन् ।

छोरीको कुरा सुन्निेबित्तिकै राजा शर्याति च्यवन ऋषिले तपस्या गरिरहेका ठाउँमा पुगेर सैनिकहरुको कष्ट निवारण गर्न क्षमायाचनापूर्वक आग्रह गरे । च्यवन ऋषिले सुकन्यालाई पत्नीका रुपमा प्राप्त गरेर मात्र छोरीको अपराधलाई क्षमा दिनसक्ने कुरा राजा शर्यातिलाई बताए ।

च्यवन ऋषिको कुरा सुनेर कुनै सोचविचार नै नगरीकन शर्यातिले आफ्नी छोरी सुकन्या च्यवनलाई दिए । राजकन्यालाई पाएर च्यवन ऋषि अत्यन्त प्रसन्न भए भने सुकन्या पनि च्यवनलाई पाएर प्रत्येक दिन प्रेमपूर्वक तपस्या र नियमको पालना गर्दै पतिको सेवामा समर्पित भइन् ।

सुकन्याले एकदिन स्नान गर्दैगर्दा अर्धनग्न अवस्थामा उनलाई दुवै अश्विनीकुमारहरुले देखे र नजिक गएर उनलाई सोधपुछ गरे । साथै बूढा च्यवनलाई छोडेर आपूmहरुमध्ये कुनै एउटालाई पतिका रुपमा वरण गर्न आग्रह गरे तर सुकन्याले च्यवन ऋषिमै आफूले पूर्ण अनुराग राखिसकेको हुँदा त्यसमा शङ्का नगर्न अनुरोध गरिन् ।

त्यसपछि अश्विनीकुमारहरुले वृद्ध च्यवनलाई तन्नेरी र रुपसम्पन्न बनाइदिने अनि तीनजनामध्ये कुनै एकजनालाई पतिका रुपमा छान्न तत्पर हुनुपर्ने सर्त सुकन्या र च्यवनलाई स्वीकार्य भए÷नभएको बारे जानकारी लिन चाहे र त्यो सर्त च्यवन र सुकन्यालाई पनि स्वीकार्य भयो ।

सुकन्याले अश्विनीकुमारहरुसँग आफ्ना पतिलाई तन्नेरी र रुपसम्पन्न बनाइदिन आग्रह गरिन् । त्यसपछि उनीहरुले सुकन्यालाई आफ्ना पति च्यवन जलमा प्रवेश गरुन् भन्ने आज्ञा दिए । च्यवनसँगै दुवै अश्विनीकुमार पनि जलमा प्रवेश गरे । दुई घडी बितेपछि जलबाट निस्कँदा तीनैजना तन्नेरी र रुपसम्पन्न भए । सुकन्यालाई आफ्ना पति च्यवन कुन होलान् ? भनेर चिन्न निकै गाह्रो भयो तापनि अन्तमा उनले च्यवनलाई नै पतिका रुपमा वरण गरिन् ।

महर्षि च्यवनले युवावस्था प्राप्त गरेको खबर सुनेर राजा शर्याति अत्यन्त प्रसन्न भए । च्यवनले शर्यातिलाई सान्त्वना दिँदै राजाबाट आफूले यज्ञ गराउन इच्छुक रहेको बताए । शर्यातिद्वारा आयोजित यज्ञमा च्यवनले प्रत्युपकार स्वरुप दुवै अश्विनीकुमारलाई दिनका लागि सोमरस हातमा लिएका बेला सोमपान गर्ने अधिकार देवतालाई मात्र रहेको भन्दै देवराज इन्द्रले त्यसलाई रोके तर इन्द्रको रोकावटलाई बेवास्ता गरेर च्यवनले दुवैलाई सोमरस अर्पण गरे ।

त्यसको बदलामा इन्द्रले च्यवन ऋषिमाथि वज्र प्रहार गर्न खोज्दा च्यवन ऋषिले इन्द्रका हातलाई नै रोकिदिए र अग्निमा आहुति दिएर इन्द्रलाई नै मार्ने मदासुर उत्पन्न गरे । मदासुर आफूलाई मार्न अग्रसर भएको देखेर इन्द्रले च्यवन ऋषिसँग दुवै अश्विनीकुमारले सोमरस ग्रहण गरुन् र आपूmप्रति हजुर प्रसन्न हुनुहोस् भनेर अनुरोध गरे । फलस्वरुप दुवै अश्विनीकुमारले सोमरस ग्रहण गरेपछि इन्द्र पनि सङ्कटबाट मुक्त भए ।

राजा सुद्युम्नका पुत्र यवनाश्वले पुत्रप्राप्तिका लागि अनेकौँ उपायहरु गरे पनि उनलाई पुत्र प्राप्त भएको थिएन । तपस्यामा संलग्न भइरहेका बेला एकदिन उनी उपवासका कारण तिर्खाएर पानी पिउन रातमा भृगुको आश्रममा पुगेका थिए ।

त्यही रातमा भृगुपुत्र च्यवनले युवनाश्वकै पुत्रप्राप्तिका लागि मन्त्रिएको जल भरेर एउटा ठूलो कलशमा राखेका थिए । त्यो जल रानीले पिएपछि उनले इन्द्रजस्तै शक्तिशाली पुत्र जन्माउन सक्नेछिन् भन्ने अपेक्षा राखिएको थियो । त्यो कलशलाई यज्ञवेदीमा राखेर सबै महर्षिहरु रातमा सुतिरहेका थिए ।

रातभर आश्रममा चिल्लाउँदा पनि युवनाश्वले कतै पानी भेट्न सकेनन् । त्यसै सिलसिलामा उनको दृष्टि जलले भरिएको त्यही कलशमा प¥यो । उनले त्यसको यथेच्छ जल पिएर बाँकी जल त्यहीँ पोखिदिए । जल पिएर उनी अत्यन्त खुसी र सुखी पनि भए ।

निद्राबाट ब्युँझँदा सबै महर्षिहरुले भरिएको जलको कलश रित्तो देखे र कसले यसो ग¥यो होला भनेर सोधखोज गर्दा युवनाश्वले जल पिएको स्वीकार गरे । त्यो सुनेर च्यवनले राजालाई ‘तिमीले राम्रो गरेनौ’ भने । साथै त्यसरी अभिमन्त्रित जल पिएका कारण तिमीले नै गर्भधारण गरी छोरो जन्माउनेछौ र गर्भधारणजनित कष्टको अनुभव पनि तिमीले गर्नुपर्ने छैन भनेर च्यवनले युवनाश्वलाई आश्वस्त पारे ।

ततो वर्षशते पूर्णे तस्य राज्ञो महात्मनः ।
वामं पाश्र्वं विनिर्भिद्य सुतः सूर्य इव स्थितः ।।
निश्चक्राम महातेजा न च तं मृत्युराविशत् ।
युवनाश्वं नरपतिं तदद्भुतमिवाभवत् ।।
(म.भा. ३।१२६।२७—२८)

अर्थात् सयवर्ष बितेपछि राजा युवनाश्वको बायाँ कोख फोरेर सूर्यको समान तेज भएको बालक जन्मियो र बालक जन्मिँदा युवनाश्वको मृत्यु पनि भएन । त्यो एउटा आश्चर्यजनक घटना भयो ।

त्यस बालकलाई भेट्न देवराज इन्द्र आए र बालकलाई काखमा राखेर उनले आफ्नो चोरी औँला बालकको मुखमा राख्तै ‘माम् अयं धाता’ अर्थात् यसले मलाई पिउनेछ भनेकाले सबै देवताहरु मिलेर त्यस बालकको नाम ‘मान्धाता’ राखिदिएका हुन् । तिनै मान्धाता पछि गएर राजा भए । उनले १२ वर्षसम्मको अनावृष्टिमा पनि इन्द्रले हेर्दाहेर्दै खेतीपातीको सिंचाइका लागि वर्षा गराएका थिए ।

वर्तमान वैज्ञानिक युगमा पुरूषले पनि गर्भधारण गर्थे भन्ने कुराको चर्चा गर्नु हावादारी कुराबाहेक केही नहोला तर विज्ञानले भनेका वा पत्ता लगाएका कुराहरुमात्र सत्य हुन् र विज्ञानले पत्ता नलगाएका जति सबै कुराहरु झुटा वा हावादारी हुन् भन्न सकिन्न किनकि विज्ञान निरन्तर परीक्षणका क्रममा रहिरहन्छ ।

हिजोका सत्य आज असत्य प्रमाणित हुनसक्छन् भने आजका सत्यहरु भोलि परीक्षणका क्रममा असत्य ठहरिन सक्छन् । त्यसैगरी हिजोका असत्यहरु आज सत्य र आजका सत्यहरु भोलि असत्य पनि नठहरिएलान् भन्न सकिन्न ।

त्यसैले राजा मान्धाताको जन्म पुरूषकै गर्भबाट भएको हो भन्ने यस ऐतिहासिक उपाख्यानलाई प्रतिनिधिमूलक घटना ठानेर रूढिवादी भनी ओझेलमा पारिएका यस्तै अस्तित्वहरुलाई अध्ययन र पुनर्मूल्याङ्कन गर्दै जानु आवश्यक छ । (सहप्राध्यापक, नेसंवि, कालिका विद्यापीठ, गैंडाकोट, नवलपुर) न्यूज अभियानका लागि चितवन पोष्टबाट/dhakalmatip@gmail.com


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan