Thursday 26th of April | २०७५ बैशाख १३ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

ब्यालेटको शक्ति देखेर कति दङ्ग परे होलान् कमरेड प्रचण्ड !

न्यूजअभियान | प्रकाशित मिति : २०७४ मङ्सिर २८ बिहिबार |
newsabhiyan
newsabhiyan

निर्मल भट्टराई, एमालेको आक्कासिएको लोकप्रियताको पृष्टभूमिमा एमाले—माओवादी गठबन्धन गरेर प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेपालका वामपन्थीहरुले एतिहासिक सफलता हासिल गरेका छन् ।

जनताले देशको राजनीतिक स्थायीत्व, विकास र समृद्धिका लागि बामपन्थी गठबन्धनलाई एक भरोसा योग्य शक्तिको रुपमा स्थापित गरि दिएका छन् । राजनीति र खास गरी कम्युनिष्ट राजनीति अग्रगामी हुने भएकोले अबका चुनौती र प्राथमिकता पहिल्याएर अघि बढ्नु अपरिहार्य छ ।

क) पार्टी एकता
एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्षले चुनाबको कारणले नभ्याएर पार्टी एकता चुनाबपछि पार्टी एकता चुनाबपछि लगत्तै पार्टी एकता हुने बताउदै आएका छन् । मतदानमार्फत् अभिव्यक्त जनताका भावना कायम राख्न यो सबभन्दा महत्वपूर्ण कार्यभार हो ।

पार्टी एकताको प्रक्रिया लामो र व्यवस्थापकी यहि साबले जटिल विषय भएकोले केन्द्रीय तहदेखि तृण मूल तहसम्म पुग्न निक्कै समय लाग्न सक्छ । बैचारिक विषय ऐतिहासिक एकताको महाधिवेशनले छिनोफानो गरे पनि सांगठनिक व्यवस्थापन गरेर महाधिवेशन सम्म पुग्न ठूलो कसरत गर्नु पर्ने हुन्छ ।

सकेसम्म सरकार गठन अगावै पार्टी एकताको प्रक्रिया शुरु होस्भन्ने बाम गठबन्धनका मतदाताले आशा राख्नु अस्वभाविक होइन । पार्टी एकता जति विलम्व भयो त्यसले जटिलता थप्ने र बामपन्थी एकता भाँड्न चाहने देशी विदेशी शक्तिले चलखेल भइरहने अवस्था विद्यमान रहन्छ ।

अन्तर पार्टी पेचिलो निर्वाचनबाट छानिएको स्थानीय एमाले नेतृत्व रसैनिक संरचनाको पृष्टभूमिमा मनोनयनबाट बनेको माओवादी केन्द्रको केन्द्रीय र स्थानीय नेतृत्वबिच कसरी समायोजन होला प्रतिक्षाको विषय छ ।

ख) वैचारिक बहसको थालनी
सर्वविदितै छ—कुनै पनि कम्युनिष्ट पार्टी एकताको प्रमुख आधार सिद्धान्त र विचार हुने गर्दछ । सिद्धान्त निष्ट एकताले नै अब बन्ने एकीकृत पार्टीका अधिकांश समस्याको समाधान गनै सामथ्र्य राख्दछ ।

नेकपा (एमाले) ले माक्र्सवाद, लेनीनवाद र जनताको बहुदलीय जनवादलाई मार्गदर्शक सिद्धान्त र नेकपा (माओवादी केन्द्र) ले आजका मिति सम्म माक्र्सवाद, लेनीनवाद र माओवाद (मालेमावाद) लाई आफ्नो मार्ग दर्शक सिद्धान्तको रुपमा मान्दछ ।

दुई पार्टीविच स्तालिन र माओ लगायतका अन्तर्राष्ट्रिय नेताहरुको विचार र भूमिका प्रतिको बुझाईमा निकै भिन्नता छ । जनताको बहुदलीय जनवादलाई पार्टीको सिद्धान्त अंगिकार गर्नुभन्दा धेरै पहिले माओका विचारहरुको सार्वभौमिक सच्चाईको बारेमा तत्कालीन मालेभित्र ठूलो बहस भएको थियो ।

फलस्वरुप पाचौं महाधिवेशनले जनताको बहुदलीय जनवादलाई नेपाली क्रान्तिको कार्यक्रमको रुपमा अघि सारेको थियो । अर्कातिर माओका विचारलाई वाद मानेर  नौलो जनवादी क्रान्ति नेपालमा सम्पन्न गर्न प्रचण्डको नेतृत्वमा दश बर्षसम्म सशस्त्र विद्रोह सञ्चालन भयो ।

सो विद्रोहलाई हेर्ने सवालमा समेत भिन्नता छन् । “वादे वादे जायते तत्व बोध”को माध्यमद्वारा यस्ता भिन्नता हटाउन अहिलेदेखि नै व्यवस्थित र सौम्य बहसको थालनी गर्नुपर्छ । गन्तव्यको किटान नगरी दीर्घकालीन यात्रा शुरु हुन सक्दैन ।

ग) राष्टवादी अडान र व्यवहार
नेपालका बामपन्थीहरु राष्ट्रवादका प्रखर प्रवक्ता रहदै आएका छन् । उनीहरुले आफ्नो देशलाई थिचोमिचो गरिदा विगतमा ठूल्ठूला आन्दोलन गरेका छन् । विभाजित अवस्थामा पनि राष्ट्रिय हीत, सार्वभौमिकता, राष्ट्रिय अखण्डताको पक्षमा समान धारणा बनाएर लडेका पनि ईतिहास छ ।

एक स्वतन्त्र राष्टको हैसियतले  छिमेकीहरु संग सम्बन्ध विकास गर्न मनमोहन अधिकारी र केपी ओलीले विशेष भूमिका खेलेको कारण एमाले देशको सर्वाधिक लोकप्रिय कम्युनिष्ट पार्टी बनेको तथ्य अब कोही कसैबाट छिपेको छैन । अहिले एमालेको नेतृत्वको बाम गठबन्धनले एमाले अध्यक्ष केपी ओलीलाई भावी प्रधानमन्त्रीको रुपमा अगाडि सारिरहदा बाम गठबन्धनमा यो विषयको राम्रै हेक्का छ भनेर बुझ्न सकिन्छ ।

घ) व्यालेट प्रतिको बुझाई
सत्तामा पुग्ने माध्यम व्यालेट कि बुलेट भन्ने विषयमा नेपालको बाम आन्दोलनमा लामो समयदेखि विवाद चल्दै आएको छ । जननेता मदन भण्डारीले सबभन्दा पहिले प्रष्ट रुपमा सत्तामा पुग्न बुलेट होईन ब्यालेटको प्रयोग गर्नुपर्छ भन्ने धारणा सहितको जनताको बहुदलीय जनवादी सिद्धान्तको प्रतिपादन गरेपछि यो बहसले झन उचाई प्राप्त गर्यो ।

जनताको बहुदलीय जनवादलाई दक्षिणपन्थी संशोधनवादी कार्यक्रम भनेर आलोचना मात्र भएन, सत्ता ब्यालेटबाट प्राप्त गर्ने होईन, बुलेटको माध्यमबाट कब्जा गर्नुपर्छ भन्दै प्रचण्डको नेतृत्वमा दश बर्षसम्म युद्ध भयो ।

अहिले पनि सत्ता प्राप्तिका लागि बुलेट, बम, बारुदको प्रयोग गर्न चाहने साना तिना माओवादी समूह बाँकि नै छन् । ०६२/०६३ को जनक्रान्ति पछि सम्पन्न संविधानसभाको निर्वाचनले २४० बर्षदेखि जरा गाडेर बसेको राजतन्त्रलाई समाप्त गरिदियो । ०७० सालको निर्वाचनले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान दियो ।

०७४ सालको निर्वाचनले पूँजीवादको कट्टर हिमायती नेपाली कांगे्रसको कदहदैसम्म घटाएर बामपन्थीहरुलाई सत्तामा पुगायो । यसबाट प्रष्ट हुन्छ—अबको दुनियाँमा सत्ता प्राप्तिका लागि ब्यालेट नै सबभन्दा राम्रो माध्यम हो । बुलेट, बम बारुदको इस्तेमाल गर्दै दश बर्षसम्म जनयुद्धको कमाण्डर बनेका कमरेड प्रचण्ड ब्यालेटको शक्ति देखेर कति दङ्ग परे होलान् !


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan