Thursday 26th of April | २०७५ बैशाख १३ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

महिला हिंसा अन्त्य गरौँ

न्यूजअभियान | प्रकाशित मिति : २०७४ मङ्सिर २८ बिहिबार |
newsabhiyan
newsabhiyan

रमा घिमिरे, महिला हिंसाविरूद्धको दिवस हरेक वर्ष देशमा मनाइन्छ, जसले सधैँ निरन्तरता नै पाएको देखिन्छ । महिला–पुरूषका बीचमा भएका असमान कानुन हटाउन गरिएको आन्दोलन डोमिनिकन राज्यबाट थालिएको भए पनि अहिले त्यसले विश्वव्यापी रुप लिएको छ ।

यो कार्यक्रमलाई अहिले हाम्रो सरकारले पनि मनाउन थालेको छ । महिला अधिकारका लागि खोलिएका संघसंस्थाहरुको सञ्जाल मिलेर यसलाई १६ दिनसम्म मनाउने गरिन्छ ।

जन्मपूर्व र गर्भावस्थादेखि मृत्यु नहुन्जेलसम्म महिला भएकै कारणले हुने भेदभाव, शारीरिक तथा मानसिक यातना र दुव्र्यवहार नै महिला हिंसा हो । आफ्नो अधिकारप्रति दोस्रो व्यक्तिले खटनपटन जमाउनु नै मानवअधिकारको उल्लंघन हो ।

शारीरिक रुपमा महिलाहरुको अवस्था पुरूषभन्दा फरक छ । त्यसैले, पुरूषलाई भन्दा बढी सहुलियत दिनुपर्ने ठाउँमा त्यो भएको पाइँदैन । सम्पन्न परिवारमा कुशल गृहिणी र विपन्न परिवारमा मेलापात, घाँसदाउरामै जीवन जिउन बाध्य छन् महिलाहरु ।

मध्यमवर्गीय परिवारमा महिलाहरु नोकरी गर्ने, सामाजिक संघसंस्थामा नेतृत्व गर्ने भए पनि सामाजिक संस्कार र रीतिरिवाजले उनीहरु पनि स्वतन्त्र भएर आफ्नो समाज रुपान्तरणमा पूर्ण रुपमा लाग्न सकेका छैनन् ।

हाम्रो समाजमा माइती कमजोर भएका र अशिक्षित महिलाहरु बढी हिंसामा परेको पाइन्छ । आफूमाथि भएको हिंसा व्यक्त गर्दा घरबाट बहिष्कृत हुनुपर्ने र घरपरिवार सबै पुरूषकै पक्षमा बोल्ने हुँदा मनका पीडालाई लुकाएर आँसु पिएर बाँचेका महिला धेरै छन् ।

समयले धेरै कोल्टे फेरिसकेको छ, तैपनि पूर्ण रुपमा सामाजिक रुपान्तरण नहुँदा महिला हिंसा रोकिएको छैन । बहुविवाह, बालविवाह, छोराछोरी नजन्माएको जस्ता हिंसामा पनि महिला परिरहेका छन् । बोक्सीका नाममा, दाइजोका नाममा हिंसा सहन बाध्य छन् । शिक्षा, स्वास्थ्य, रोजगार, राजनीतिक गतिविधि बढ्दै गएता पनि पुरानो सोच र संकुचित व्यवहारमा परिवर्तन आउन समय लाग्ने नै रहेछ ।

राजनीतिक रुपमा हामी गणतन्त्रसम्म आइपुग्यौँ । हामीले २०७२ मा नयाँ संविधान बनायौँ । त्यो संविधानमा पैतृक सम्पत्तिमा छोराछोरीको बराबरी हक र अधिकार भनिएको छ । आमाको नामबाट नागरिकता पाउन सक्ने लेख्दा पनि प्राप्त गर्न गाह्रो भइरहेको छ ।

महिलाको हक प्राप्त भएकै समाज सुधार उन्मुख हुन्छ । महिलाको प्रगति भएकै समस्त समाजको प्रगति हुन्छ । आज हाम्रा चेलीहरु बेचबिखनमा परेका छन् । चेतना, अशिक्षा, परनिर्भरताको कारणले बेचबिखनमा पर्दछन् महिला । महिला हिंसा गर्नुहुँदैन भनी बोल्ने धेरै संघसंस्था छन्, तर कानुनको पालना नगर्ने पनि धेरै छन् । महिलामाथि हिंसा हुँदा परिवार, समाजमा नै असर पर्दछ ।

सानासाना नानीहरु पनि यौन दुव्र्यवहारमा परेका छन् । कतिलाई सामूहिक बलात्कार गर्दै मारेर फालिएका छन् । नारीलाई यातना दिने, दुःख दिने, तुच्छ भनी हेप्ने घर चाँडै नष्ट हुन्छ । हरेक मानिसहरु आफू सम्मानित हुन, सुख पाउन खोज्छन् भने महिलाले पनि त्यही खोज्छिन् भन्ने बुझ्नु नितान्त आवश्यक छ ।

हाम्रो परम्परावादी सोचमा परिवर्तन आउनु आवश्यक छ । महिला–पुरूषलाई हरेक क्रियाकलापमा समान सहभागी गराएर मुलुकको विकास छिटो गर्नुपर्दछ । आर्थिक, सामाजिक, सांस्कृतिक रुपान्तरण र महिला अधिकारका कुरा हाम्रो संविधानमा परिसकेको छ । खाँचो छ अब, इमानदार कार्यान्वयनको ।

महिला हिंसा हिजोका सोच र संस्कारलाई परिवर्तन गरेर रोक्न सकिन्छ । महिलालाई शिक्षा दिन सकेमा समाजमा हुने सबै खाले अन्धविश्वास, कुसंस्कार, कुप्रथा अन्त हुनमा सहयोग मिल्दछ । सबैका लागि शिक्षा, सीप दिएर गरिबी, दुःख हटाई आत्मनिर्भर गराउने प्रयत्न गर्नुपर्दछ ।

महिला हिंसा प्रत्येक घरघरबाट रोकौँ, त्यसले समाजमा शान्ति हुँदै जान्छ । एउटा समाजको देखासिकी नै अरु समाजले गर्दै जान्छन् । महिलाले नै घर सुन्दर र शान्त बनाउँछन् । उनीहरुमाथि हिंसा गर्दा हामीले आफ्ना दिदीबैनीलाई यस्तै गरे कस्तो हुन्छ भनेर सोच्नुपर्दछ ।

हरेक महिलालाई हेर्ने दृष्टिकोणमा महानता ल्याउनु आवश्यक छ । महिलाको शक्ति हामीले बुझ्न सकेनौँ भने समाज दुर्गन्धित भइनै रहन्छ । हामीलाई जब सम्पत्ति चाहिन्छ, लक्ष्मीको पूजा गर्दछौँ । विद्या चाहिन्छ भने सरस्वतीको पूजा गर्दछौँ । शक्तिदेवी भन्दै दुर्गामाताको अर्चना गर्दछौँ ।

हरेक घरघरमा यी सबै प्रकारका देवी छन्, तिनीमाथि हिंसा नगरी राम्रो मुखले बोल्नेमात्र गरे पनि सबैको घर स्वर्ग बन्छ । नारीलाई दुःख दिँदै शोकाकुल बनाउन चाहदा ती घरहरु चाँडै नरक बन्दछन् ।

महिलालाई दुःखको भुमरीमा पारेर रमाउनेहरुको जीवन कहिल्यै सुखी हुँदैन । महिला हिंसा घरघरबाट अन्त्य गरेर सभ्य, सुखी र संस्कारित समाजको निर्माण गरौँ । साराले नेपाली भूमि महिला हिंसारहित भूमि हो भन्दै प्रशंसा गरुन् । न्यूज अभियानका लागि चितवन पोष्टबाट । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan