Thursday 26th of April | २०७५ बैशाख १३ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

वाम सरकार जुन जोगी आए पनि कानै चिरेको नहोस् !

न्यूजअभियान | प्रकाशित मिति : २०७४ मङ्सिर २८ बिहिबार |
newsabhiyan
newsabhiyan

देवेन्द्र चुडाल, मंसिर १० र २१ गते सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन परिणामले वामगठबन्धनलाई जनताले स्वीकार गरेका छन् । वामगठबन्धन बनेदेखि नै कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले वामगठबन्धनले निर्वाचन जिते रुन र हाँस्नसम्म पाइँदैन भन्दै लोकतान्त्रिक गठबन्धनलाई जिताउन आग्रह गरेका भएपनि जनताले देउवाको आग्रहलाई स्वीकार गरेनन् ।

नेपाली कांग्रेस मुलुककै पुरानो लोकतान्त्रिक पार्टी भएपनि उसले लोतान्त्रिक चरित्र देखाउन नसकेको र पार्टीभित्रै गुट उपगुटसहित एकले अर्कोलाई हराउने उद्देश्यका साथ अघि बढेको हुनाले उसले यसपालिको निर्वाचनमा नराम्रो पराजय भोग्न बाध्य भयो ।

२०४६ सालको राजनीतिक परिवर्तनपछि सबैभन्दा बढी सत्ताको नेतृत्व कांग्रेसले नै गरेको भएपनि जनताको पक्षमा केही गर्न सकेको देखिएन । विदेशी मित्रराष्ट्रहरुले उपहार स्वरुप निर्माण गरिदिएका उद्योग कलकारखानाहरुलाई निजीकरणको नाममा कौडीको दाममा बेचियो ।

भएका उद्योगधन्दाहरु बन्द भएपछि लाखौं युवाहरु विदेशिन बाध्य भए । निजीकरणका नामामा बेचिएका उद्योगहरु अहिले प्रायः सबै बन्द भइसकेका छन् । पछिल्लो समयमा ठूला उद्योगहरु एउटा पनि निर्माण भएका छैनन् ।

लाखौं युवा बेरोजगार भएका छन्, तर राजनीतिक दलहरुले बेरोजगार युवाहरुलाई रोजगारी दिने कुनै योजना चुनावी घोषणापत्रमा उल्लेख नगरेका भएपनि नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफ्नो पार्टीले चुनाव जिते सबै बेरोजगार युवायुवतीलाई रोजगारी दिने र रोजगारी दिन नसकेको खण्डमा बेरोजगार भत्ता दिने उद्घोष गरेका हुनाले रोजगारीको आशमा युवायुवतीहरुले नेकपा एमाले वा वामगठबन्धनलाई मत दिएका थिए ।
यसपालिको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सबैभन्दा बढी फइदा माओवादी केन्द्रलाई भएको छ । एमाले र माओवादी केन्द्रले पार्टी नै एकीकरण गर्ने भन्दै वामगठबन्धन बनाएर चुनावमा गएका हुनाले वामगठबन्धनलाई फाइदा भएको हो ।

नेकपा एमाले, माओवादी केन्द्र र नेपाली कांग्रेस एक्ला एक्लै निर्वाचन लडेका भए धेरै ठाउँमा नेपाली कांग्रेसले निर्वाचन जित्न सक्ने परिणामले देखाएको छ । वामगठबन्धन बनाएर एमाले र माओवादी केन्द्र निर्वाचन लडेपनि कांग्रेसको पपुलर मत घटेको देखिँदैन । कांग्रेसका उम्मेदवारहरु मन नपरेर वामगठबन्धनका उम्मेदवारहरुलाई मत दिएका भएपनि समानुपातिकमा उनीहरुले रुखलाई नै मतदान गरेको पाइएको छ ।

कांग्रेसको गढ मानिएको कतिपय निर्वचन क्षेत्रमा कांग्रेसले निर्वाचन हारेको छ । मोरङलाई कांग्रेसले आफ्नो गढ भन्दै आएकोमा मोरङमा ६ सिट मध्ये एक सिटमा चित्त बुझाउनु परेको छ । लामो समयसम्म सत्तामा रहँदा समेत सत्ताको नेतृत्वकर्ता कांग्रेसले जनताको चाहना पुरा सकेन ।

जनताको इच्छा विपरित कतिपय कामहरु भएका छन् । तत्कालिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीमाथि महाअभियोग प्रस्ताव दर्ता गरिनु त्यसैगरी तत्कालिन प्रधानन्यायाधीश सुशीला कार्कीमाथि महाअभियोग प्रस्ताव दर्ता गरिनु र केही समयपछि त्यसलाई विनाकारण फिर्ता लिनुजस्ता कार्यले कांग्रेसको छविमा दाग लागेको थियो ।

सत्ताको नेतृत्वमा रहँदा समेत सन्तुलित रुपमा सरकार सञ्चालन गर्न नसक्नु र सरुवा बढुवा र नियुक्तिमा समेत आर्थिक चलखेल गुर्नले कांग्रेसको छवी जनतामा बिग्रिएको थियो । कांग्रेसको बिग्रिएको छवीलाई वामगठबन्धनले जनतासामु प्रष्ट रुपमा राखेको हुनाले वामगठबन्धनले सहजरुपमा जित निकालेको हो ।

निर्वाचनको समयमा समेत कांग्रेसले आफ्नो नेतृत्वमा रहदा गरेका राम्रा कामहरुलाई जनतामा लान सकेन, पार्टीका वरिष्ठ भनाउँदा नेताहरु आ–आफ्नै क्षेत्रमा मात्र सीमित भए, उनहिरुले पार्टीले हारे हारोस्, तर आफु जित्नुपर्छ भन्ने मान्यता बोकेर आफनै निर्वाचन क्षेत्रमा सीमित भएका हुनाले जनतामा कांग्रेसप्रति एक प्रकारको वितृष्णा उब्जिएको हुनाले पनि कांग्रेसको हार भएको हो ।

वामगठबन्धनका नेताहरु मध्येका नेकपा एमालेका अध्यक्ष केपी ओली एकै दिन ४÷५ ठाउँमा पुगेर आमसभाहरु गर्न भ्याए, उनले मेचीदेखि महाकालीसम्मका ठूलाठूला सहर र दुर्गम क्षेत्रमा समेत पुगेर आमसभा गर्दै वामगठबन्धनलाई मत दिन आग्रह गरेका थिए ।

ओलीले चुनवाभर झण्डै १०० भन्दा बढी ठाउँमा आमसभा, कोणसभा गरे भने उनी आफ्नो निर्वाचन क्षेत्र झापा ५ मा थोरै समय मात्र रहेर अन्य क्षेत्रमा पुगेका थिए । चुनावको बेला अध्यक्ष ओलीले कांग्रेसमाथि लगाएका आरोपहरुलाई खण्डन गर्दै कांग्रेस सभापति देउवाको समय बितेको थियो ।

मानौं उनी रक्षात्मक अवस्थामा थिए । तिनै सभापति देउवाले डढेलधुरा पुगेर उद्घोष गरे, ज्योतिषले आफूलाई ७ पटक प्रधानमन्त्री हुन्छ भनेको छ भनेर कुर्लिएपछि तत्कालै एमाले अध्यक्ष ओलीले जवाफ दिए, जनताको मत नचाहिने देउवालाई ज्योतिषले नै प्रधानमन्त्री बनाइदिन्छन् भन्दै देउवा नै कांग्रेसका अन्तिम प्रधानमन्त्री हुन भनेर देउवालाई जवाफ दिएका थिए ।

यसरी वामगठबन्धनका नेताहरुले लगाएका आरोपहरुको खण्डन गर्दैमा सभापति देउवाको समय बितेको र कांग्रेसका अन्य नेताहरु आ–आफ्नै निर्वाचन क्षेत्रमा सीमिति रहनुले समेत कांग्रेसको पराजय भएको हो । नेपाली कांग्रेसले आफ्नै नेतृतवमा लोकतान्त्रिक गठबन्धन निर्माण गरेपनि त्यो गठबन्धन कागजमै सीमित रह्यो ।

कांग्रेसले मधेसवादी दलहरु संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीलाई मिलाउन नसकेको हुनाले प्रदेश नंं २ मा समेत नराम्रो हार ब्यहोर्नु परेको छ । पार्टीसभापति देउवालाई पार्टीका नेता एवं प्रदेश नं. २ का विमलेन्द्र निधिको गलत सल्लाहले समेत कांग्रेसलाई डुबाएको छ ।

निधि त्यस्ता व्यक्ति हुन्, जो आफ्नै पार्टी सभापति प्रधानमन्त्री भएका बेला आफूँले भनेको भएन भनेर ३६ दिनसम्म आफूँले सम्हालेको गृहमन्त्रालयमा नगएर घरमा सबै सुविधा लिएर बसेका थिए । राजपा र संघीय समाजवादी फोरमले प्रदेश नं. २ मा रहेका ३२ सिट मध्येका १८ सिट आफूहरुलाई दिन आग्रह गर्दा निधिले त्यसको विरोध गर्दै प्रदेश नं. २ मा कांग्रेसले २० सिट जित्ने भन्दै राजपा र संघीय समाजवादी फोरमसँग नमिल्न देउवालाई दबाब दिएको कांग्रेस सुत्रले नै बताएको छ ।

त्यसैको परिणाम स्वरुप निधिले राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य  रहेका राजेन्द्र महतोसँग निर्वाचन हारेका छन् । महतो सर्लाहीका बासिन्दा भएपनि जनकपुरबाट प्रतिनिधिसभाको उम्मेदवार भएर त्यहीँका निधिलाई पराजित गरिदिएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाका प्रिय पात्र रहेका निधि जनताका प्रियपात्र रहेनछन् भन्ने त्यसैले प्रमाणित हुँदैन र ?

कांग्रेसलाई अहिलेको अवस्थामा पु¥याउने निधि मात्र होइनन्, कृष्ण सिटौला समेत हुन् । कांग्रेसले सिटौलालाई समानुपातिक तर्फको एक नम्बरमा राखेर पहिला निर्वाचन आयोगमा नाम पठाएको थियो, तर सिटौलाले आफूले झापा–३ बाट निर्वाचन जित्ने भन्दै निर्वाचनमा लड्ने उद्घोष गरेपछि कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच भएको सहमति झापामा तोडिएको थियो ।

कांग्रेससँग सहमति तोडिएपछि राप्रपाले झापामा वामगठबन्धनसँग सहमति गरेर क्षेत्र नंं ३ मा राप्रपाका उम्मेदवारलाई सघाउने र राप्रपाले झापाका अन्य सबै निर्वाचन क्षेत्रमा वामगठबन्धनलाई सहयोग गर्ने निर्णय गरेको थियो । त्यही निर्णयका आधारमा राप्रपाले झापा–३ मा सहज रुपमा जितेको छ भने अन्य सबै क्षेत्रमा वाम गठबन्धनका उम्मेदवारहरु विजय भएका थिए ।

यसरी नेपाली कांग्रेसका नेताहरुले जसरी भएपनि आफूँले जित्नुपर्ने, तर पार्टीले हारे हारोस् भन्ने मनसाय बोकेर निर्वाचनमा गएका हुनाले कांग्रेस पराजित भएको हो । कांग्रेसको पराजय हुनुमा वामगठबन्धनको कुनै हात छैन । धेरै वामपन्थी पार्टीहरु हुँदा कांग्र्रेसले त्यसको फाइदा पहिलादेखि नै उठाउँदै आएको थियो ।

अहिले दुई ठूला वामपन्थी पार्टीहरु एक भएर निर्वाचनमा गएका हुनाले मात्र उनीहरुले विजयी हासिल गरेका हुन् । निर्वाचन परिणाम अपेक्षाकृत नै हो । कांग्रेसका नेतारुले वामगठबन्धन भएपनि एकले अर्कोलाई मतदान गर्दैनन् त्यो मत हामीलाई आउँछ भनेर आशा गर्नु नै बेकार थियो । अहिलेको परिणामले त्यसलाई देखाएको छ । वामगठबन्धनमा रहेका दुवै दलले एकले अर्कोलाई मतदान गरेका छन्, केही अपवाद बाहेक । बरु कांग्रेसले नै कांग्रेसलाई नै मत नदिएको थुप्रै उदाहरण भेटिएका छन् ।

वामगठबन्धनको जित भएको छ । अब उसले सरकार निर्माण गर्ने पक्कापक्की छ, तर वामगठबन्धनको सरकारले पनि कांग्रेस नेतृत्वको सरकारले रोजेको बाटोमा गएको खण्डमा वाम एकताको औचित्यसमेत समाप्त हुने छ । निर्वाचनको बेला एकले अर्कोलाई गाली गर्नु स्वभाविक नै भएपनि जितहार भइसकेपछि हार्नेले जित्नेलाई जितको बधाई र सफल कार्यकालका शुभकामना दिनु निश्चय पनि शुभ संकेत हो ।

अब वामनेतृत्वको सरकारले समेत प्रमुख प्रतिपक्षीको सहयोग र समर्थन लिएरै अगाडि बढनु पर्छ । उसले राजनीतिमा भएको अपराधीकरणको अन्त्य गर्ने पर्छ । विपक्षी र समर्थक नभनेर सबैलाई समान व्यवहार गरेर सफल चरित्रको सरकार देखाउन सक्नु नै वाम सरकारको पहिलो कर्तव्य र दायित्व समेत हुनुपर्छ ।

कर्मचारीतन्त्रलाई तेरोमेरो नभनी सफा दिलले सबैलाई समान व्यवहार गर्दै असलीरुपमा कानुनी राज्यको पालना गर्न सक्नुपर्छ । आर्थिक लेनदेखको आधारमा सरुवा, बढुवा र नियुक्ती गरिएको खण्डमा त्यसले जनतामा निराशा आउन सक्छ, त्यसबेला जनता भन्न बाध्य हुनेछन्, जुन जोगी आएपनि कानै चिरेको ।

वामगठबन्धनलाई जनताले ठूलो जिम्मेवारी सुम्पिएका छन् । मुलुक अब संक्रमणकालबाट बाहिर आएको छ, अब मुलुकले आर्थिक विकास गर्नैपर्छ, जनताको जीवनस्तरमाथि उठ्नै पर्छ । त्यसका लागि सरकारले ठोस् नीति र कार्यक्रम ल्याएर जनतको विश्वासलाई काम गरेर जनताको विश्वासमाथि भरोसाा गर्न सक्नुपर्छ । यदि त्यसो नहुने हो भने वाम सरकारको औचित्य समेत समाप्त हुनेछ । जनताले फेरि भन्नै पर्छ, सबै मूला एकै ड्याङका । लेखक : अभियान साप्ताहिकका सम्पादक हुन्/devendrachudal@gmail.com


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan