Thursday 13th of December | २०७५ मङ्सिर २७ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

भगवती माविको नयाँ भवन प्रयोगविहीन

न्यूजअभियान | प्रकाशित मिति : २०७४ फाल्गुण ११ शुक्रबार | (रासस)
newsabhiyan

इनरुवा, ११ फागुन । कतै भवनको अभावमा विद्यार्थी खुल्ला ठाउँमा अध्ययन गर्न बाध्य छन् भने कतै भवन भएर पनि जीर्ण हुनाले बालबालिका जोखिम मोलेर पढ्न बाध्य भएका छन् ।

यस्तो अवस्था सुनसरी सदरमुकाम इनरुवा–१ मा रहेको भगवती माविमा देखिएको छ । भ्याटबाहेक रु तीन करोडको लागतमा झण्डै १८ कोठाको तीनतले भवन निर्माण भएको तीन वर्ष बित्दासमेत भवनमा कक्षा सञ्चालन नगरी बालबालिकालाई पुरानो टिनको चुहिने छानोभित्र पठनपाठन गराइरहेको बालबालिकाले गुनासो गरेका छन् ।

वर्षाको बेला पानी चुहिने र गर्मीमा अत्यधिक गर्मी हुने तथा जाडोका बेला शीत चुहिने भएकाले आफूहरु जाडो, घाम र पानी सबै सहेर जोखिममा अध्ययन गर्न बाध्य रहेको विद्यार्थीले गुनासो गरिरहेको बेला २०७२ सालमै निर्माण सम्पन्न भएको १८ कोठे तीन तले विद्यालयको भवन भने प्रयोगविहीन भएको छ ।

विद्यालयको भवन नेपाल–भारत मैत्री भवन भएकाले हस्तान्तरण नभएको बहानामा कक्षा कोठा नसार्दा बालबालिकालाई असर परेको स्थानीय श्यामदेव मेहताले बताउनुभयो ।

विद्यालय जुन प्रयोजनका लागि निर्माण भएको हो सोही प्रयोजनका लागि प्रयोग गर्नुपर्ने मेहताको तर्क छ । बालबालिका समस्यामा रहेको भएपनि नेपाल–भारत मैत्रीभवनको हस्तान्तरण नहुँदा विद्यालयको कक्षा नयाँँ भवनमा सार्न नसकिएको भगवती माविका पूर्व विद्यार्थी गणेश पोखरेलको भनाइ छ ।

पोखरेलले सुनसरीका अन्य ठाउँका मैत्रीभवन हस्तान्तरण भए पनि भारतीय राजदूतको परिवर्तनले दुई वर्षअघिदेखि नै भगवती माविको नयाँ भवन हस्तान्तरण कार्य ओझेलमा परेको बताउनुभयो । उहाँले विद्यालयको भवन हस्तान्तरणका लागि सबै सरोकारवालाले पहल गर्नुपर्नेमा जोडसमेत दिनुभयो ।

यता प्रधानाध्यापक पुरुषोत्तम घिमिरेले समेत भवन करिब तीन वर्षदेखि प्रयोगविहीन भएको स्वीकार गर्नुहुँदै भवन हस्तान्तरणको पहल भइरहेको र नभए पनि नयाँ भवनमा छिट्टै कक्षा सञ्चालनमा ल्याउने बताउनुभयो । घिमिरेले भवन भएर पनि प्रयोगविहीन राख्नु आफूहरुको रहर नभई बाध्यता भएको दाबी गर्नुभएको छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan