Monday 19th of November | २०७५ मङ्सिर ३ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

धार्मिक पर्यटकीयस्थल ढोरपाटनले विकासमा फड्को मार्न सकेन

न्यूजअभियान | प्रकाशित मिति : २०७४ चैत २१ बुधबार | वासुदेव पौडेल (रासस)
newsabhiyan

ढोरपाटन, बागलुङ, २१ चैत ।  नेपालकै पहिलो एवं एकमात्र शिकार आरक्षका रुपमा रहेर पनि ढोरपाटन विकासका दृष्टिले ओझेलमा परिरहेको ढोरपाटनमा आयोजित एक अन्तरक्रियामा जोड दिइएको छ ।

नेपाल एशोसिएसन अफ टुर्स एण्ड ट्राभल्स एजेन्टस् (नाट्टा) पश्चिमाञ्चल क्षेत्रीय संघको आयोजना एवं नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा आइतबारदेखि जारी ढोरपाटन अवलोकन भ्रमण कार्यक्रमअन्तर्गत आरक्षण क्षेत्र परिसरस्थित सामुदायिक होटलमा आयोजित अन्तरक्रियामा लामो समयदेखि स्वदेशी एवं विदेशी पर्यटक आउन थाले पनि यो क्षेत्र अझै ओझेलमा परेकामा वक्ताहरूले जोड दिए ।

ढोरपाटन नेपालको एकमात्र शिकार आरक्ष भएर पनि अपेक्षित विकास नहुँदा यहाँका सर्वसाधारणको जनस्तर पनि अघि बढ्न नसकेको प्रतिनिधिसभा सदस्य डा सूर्य पाठकले बताउनुभयो ।

“यहाँको विकाससँगै जनजीविकासँग जोडिएका विषयलाई पनि प्राथमिकताका साथ अघि बढाउनु आवश्यक छ”, उहाँले भन्नुभयो, “अधिकार सम्पन्न ढोरपाटन विकास समितिका माध्यमबाट दीर्घकालीन सोचका साथ गुरुयोजना बनाएर अघि बढ्नुपर्छ ।”

नाट्टा पश्चिमाञ्चल क्षेत्रीय संघका अध्यक्ष सन्तोष पोखरेलले दुई हजार ८०० मिटर उचाइको ढोरपाटनबाट पाँच हजार मिटरभन्दा उचाइका उच्च हिमाली दृश्य एकसाथ अवलोकन गर्न सकिने भएकाले यहाँ पर्यटनका अथाह सम्भावना रहेको बताउनुभयो ।

ढोरपाटनको समग्र विकासका लागि सरोकारवाला सबैको साथ र सहयोग आवश्यक भएको उल्लेख गर्दै उहाँले होटललगायतका पूर्वाधार विकासका लागि लगानीमैत्री वातावरण आवश्यक भएकामा जोड दिनुभयो ।

प्रदेशसभा सदस्य चन्द्रबहादुर बुढाले शिकार आरक्ष कार्यालय र स्थानीयवासीबीच हुने गरेका अन्तरविरोध समाधान गर्दै स्थानीयवासीको जीवनस्तर उचो गराउनेखालका कार्यक्रम अघि बढाउनुपर्ने बताउनुभयो ।

आसपासका सडकको स्तरोन्नतिका साथै निर्माणाधीन सालझण्डी–ढोरपाटन सडकलाई चाँडो सम्पन्न गर्नुपर्नेमा उहाँको जोड छ ।

प्रदेशसभा सदस्य टेकबहादुर घर्ती मगरले ढोरपाटनको समृद्धि र विकासमा आरक्ष कार्यालय र स्थानीयवासीबीच पनि समन्वयको आवश्यकता भएको बताउँदै यहाँको विकाससँगै स्थानीयवासीको रहनसहन पनि त्यही रुपमा विकास हुनु आवश्यक भएको बताउनुभयो ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष केदारनाथ शर्माले सन् १९८७ देखि सञ्चालनमा आएको ढोरपाटन शिकार आरक्ष र आसपासको क्षेत्र अझै पनि पर्यटकीय रुपमा अपेक्षित विकास हुन नसकेको अवस्थामा सरोकारवाला सबैको ध्यान पुग्नु जरुरी भएको बताउनुभयो ।

हिमाल, पहाड र तराई सबैको एकै ठाउँमा अनुभूति गर्न सकिने ढोरपाटन विकासका प्रचुर सम्भावना बोकेको स्थल भएको उहाँको भनाइ छ ।

ढोरपाटन नगरपालिका–९ अध्यक्ष हरिबहादुर घर्ती मगरले आदिमकालदेखि दलित, जनजाति र नौथर रहेको यस क्षेत्रमा लामो समयदेखि स्थानीयवासी विभिन्न समस्या झेल्दै आएको बताउनुभयो ।

यहाँका स्थानीयवासीको जीवनस्तर अझै पनि कमजोर रहेको बताउँदै उहाँले यहाँका उत्तरगंगा, ढोरबराहजस्ता धार्मिकस्थलको प्रचारप्रसार गर्दै पर्यटकीय विकासका माध्यमबाट सर्वसाधारणलाई समृद्धितर्फ उन्मुख बनाउनुपर्ने बताउनुभयो ।

आवश्यक पूर्वाधार विकासका साथै प्रचारप्रसार भएमा ढोरपाटनले विकासमा फड्को मार्नेमा उहाँको जोड थियो ।

नाट्टा पश्चिमाञ्चल क्षेत्रीय संघका पूर्व अध्यक्ष पोमनारायण श्रेष्ठ, उपाध्यक्ष झवीलाल अधिकारी, महासचिव हरिराम अधिकारीलगायतले अवलोकन भ्रमणले यहाँका सम्भावना पहिचान गराएको बताउँदै त्यसको उजागर गर्न पहल गरिने धारणा राख्नुभयो ।

कार्यक्रम संयोजक कुलचन्द्र शर्माका अनुसार बागलुङ तथा पर्वतका अन्य केही पर्यटकीयस्थल अवलोकन गर्दै भ्रमणटोली आज साँझसम्म पोखरा फर्किने छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan