Saturday 15th of December | २०७५ मङ्सिर २९ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

किन रोजे आईजीपी खनालले यी बदनाम ?, डीएसपीको आफन्त नचिन्दा सास्ती

न्यूजअभियान | प्रकाशित मिति : २०७५ बैशाख ५ बुधबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, ५ बैशाख । नेपाल प्रहरीका आईजीपी सर्वेन्द्र खनालले दज्र्यानी चिह्न लगाएकै भोलिपल्ट प्रहरीका आकर्षक शाखा प्रबन्ध र निवासमा सरुवा गरेका छन् ।

प्रहरी संगठनमा राम्रो छवि कायम राखेका र आईजी हुँदा पनि सामाजिक सञ्जालदेखि आमपंक्तिमा प्रशंसा बटुलेका खनालले ती ठाउँमा सरुवा गर्दा भने चुकेको चर्चा प्रहरी संगठनभित्रै व्याप्त छ ।

‘यति स्वच्छ, शालीन र व्यावसायिक छवि बनाउनुभएका सर्वेन्द्र सापले प्रबन्ध र निवास सहयोगीमा किन दुर्नाम पात्र रोजिबक्स्यो ?’ अहिले प्रहरी संगठनभित्र धेरैको प्रश्न र खुल्दुली यही हुने गरेको छ ।

उनले नचाहँदा नचाहँदै कतै कुनै शक्तिको दबाबमा यस्तो निर्णय लिइएको त होइन भन्ने प्रश्न पनि संगठनभित्र जन्मिएको छ ।

उनले शुक्रबारै आर्थिक कारोबार हुने प्रबन्ध शाखामा आफू काठमाडौंको प्रहरी प्रमुख हुँदाका लेखापाल केशव गौतमलाई सरुवा गरेका छन् । खनाल काठमाडौंको प्रमुख हुँदा गौतम लेखापाल थिए । त्यसपछि इन्स्पेक्टर बढुवा भएका गौतम अहिले प्रबन्धमा सरुवा भएका हुन् ।

प्रनि गौतम एमटी (सवारी) शाखामा थिए । प्रबन्धका प्रहरी निरीक्षक बलराम खत्रीलाई एमटीमा लगिएको छ । आईजीपी खनालले शुक्रबारदेखि नै निवासमा सहयोगका लागि प्रहरी निरीक्षक गोविन्द कार्कीलाई ल्याएका छन् ।

प्रबन्धमा लगिएका गौतम र सिमरा इप्रका हुँदै ट्राफिक प्रहरी कार्यालयमा कार्यरत कार्की दुवै प्रहरी निरीक्षकको छवि त्यति राम्रो छैन । लेखा र प्रबन्धमा कार्यरत प्रहरीहरू सामान्यतया असार मसान्तमा मात्र परिवर्तन गर्ने प्रचलन छ ।

आफ्नो कार्यकालको खरिद बिक्रीको असार मसान्तसम्मको लेखापरीक्षण गराएर मात्र उनीहरूको सरुवा हुने गरेको थियो । तर, आईजीपी खनालले फुली लगाएकै भोलिपल्ट परिवर्तन गरेकोमा प्रहरीभित्र आश्चर्य मानिएको छ ।

गौतम आन्तरिक लेखापरीक्षण शाखामा दरबन्दी भई एमटीमा काजमा कार्यरत थिए । गौतम विमानस्थलमा लेखापाल हुँदा वैदेशिक रोजगारमा अवैध रूपमा पठाउनेहरूको एजेन्ट बनेर अति बदनाम भएका थिए । उनीमाथि करोडौं सम्पत्ति आर्जन गरेको आरोप छ ।

एयरपोर्टपछि हनुमानढोकाको लेखापालमा सरुवा भएका थिए । काठमाडौं परिसर नेपालको सबभन्दा बजेट भएको जिल्ला हो । इन्धन, गाडी मर्मत र थुनुवाको सिदामा काठमाडौंका लेखापालले कुस्त आम्दानी गर्न पाउने भएकाले त्यहाँको लेखापाल हुन गृहमन्त्रीदेखि प्रधानमन्त्रीकै सोर्स चल्ने गर्दछ ।

अहिले पनि त्यहाँ पूर्वगृहमन्त्री जनार्दन शर्माका आफन्त हुन् । त्यसपछि एमटीको लेखापालमा सरुवा भएका गौतम दुई वर्ष गाडीको पार्टपुर्जाको खरिददेखि प्रहरी प्रधान कार्यालय र भ्यालीभित्रका सबै गाडीका सामान र मर्मतका कार्य सबैमा कमिसन खाएको आरोप छ ।

दुई वर्ष एमटीमा लेखापाल भएर अथाह कमाएपछि त्यसपछि कुकुर शाखामा सरुवा भएका थिए लेखापालकै रूपमा । इन्स्पेक्टर बढुवा भएपछि १ नम्बर गणमा दरबन्दी राखी पुनः कुकुर शाखामा बसेका थिए ।

तत्कालीन प्रशासन विभागका एआईजी रमेशशेखर बज्राचार्यले मानवस्रोत विभागका वीरेन्द्रबाबु श्रेष्ठलाई भनसुन गरी गौतमको सरुवा १ नम्बर गणबाट आलेपमा गरिदिएका थिए ।

उनी आलेपमा दरबन्दी राखी एमटीमा कार्यरत रहेकै बेला खनाल आईजीपी भएपछि प्रबन्ध शाखामा सरुवा भएका छन् । गौतम नेपाल प्रहरीका चर्चित र धनाढ्य लेखासमूहका प्रहरीमा उनी ७ नम्बरभित्र पर्दछन् ।


प्रनि गौतमले मैतीदेवीको एक एकल महिलालाई ७० लाख मिटर ब्याजमा दिएका थिए । ७० लाखभन्दा बढी ब्याज असुलीसकेपछि ती महिलाविरुद्ध हनुमानढोका प्रहरी कार्यालयमा उजुरी दिएर थुनाउन खोजेका थिए ।

पहिला त्यहीँको लेखापाल भएकाले प्रहरीले ती महिलालाई पक्राउ गर्न लागेपछि तत्कालीन काठमाडौंका प्रहरी प्रमुख रमेश खरेलले जानकारी लिए । खरेलले ‘गौतमलाई तैंले यत्रो पैसा कहाँबाट ल्याइस् ।

ब्याज नै त्यति धेरै असुलेर उल्टै थुनाउन खोज्ने ? यो रकमको स्रोत खोजी हुन्छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा पठाइदिन्छु भनेपछि उनी उजुरीको निवेदन फिर्ता लिन बाध्य भएका थिए । यो एउटा उदाहरण हो, उनले यस्ता धेरै भ्रष्टाचारको रकम मिटर ब्याजमा लगाएका छन् ।

प्रनि गोविन्द कार्की बनेपा ट्राफिकको प्रमुख हुँदा चोरीको गाडी प्रयोग गरेकोमा विवादमा परेका थिए । जुन गाडी त्यतिबेला अपराध महाशाखाका एसपी प्रकाशजंग कार्कीले बरामद गरेका थिए । कार्की ट्राफिक मात्र होइन, सिमरा इप्रकादेखि जहाँ बस्दा पनि घुस्याहा भनेर चिनिएका इन्स्पेक्टर हुन् ।

डीएसपीको आफन्त नचिन्दा सास्ती
प्रहरी कार्यालय मच्छेगाउँमा कार्यरत एक जवान अनाहकमा नसिहतमा परेका छन् । उनलाई महानगरीय प्रहरी वृत्तका डीएसपी राजन चापागाईंले नसिहत गरेका हुन् ।

सडकमा लाइसेन्स चेक गरिरहेका उनलाई डीएसपीको आफन्तलाई चिट काटेको आरोपमा डीएसपी चापागाईंले कारबाहीको प्रक्रिया अघि बढाएको बताइएको छ ।

चिट पाएका व्यक्तिले तुरुन्तै डीएसपी चापागाईं आफ्नो आफन्त भएको भन्दै फोन गरेर प्रहरी जवान कुमार कार्कीको जागिर खाइदिने धम्की दिएका थिए ।

लगत्तै डीएसपी चापागाईंको फोन जवान कार्कीलाई आएको थियो । तर, त्यतिन्जेल चिट पाएको व्यक्ति सो स्थानबाट हिँडिसकेका थिए ।

पछि डीएसपीले नराम्ररी हप्काएर मान्छे नचिनी चिट काट्ने भनेर प्रश्न गर्दा जवान कार्कीले उक्त व्यक्तिले गलत गरेको र नियम मिचेकाले आफूले चिट काटेको भन्दै स्पष्ट पारेका थिए ।

सो कुरा अप्रिय लागेपछि डीएसपी चापागाईंले मुख छाडेर अनुशासनहीन काम गरेको भन्दै कारबाहीमा तान्ने धम्की दिएका थिए ।

अन्ततः अनुशासन उल्लंघन गरेको भन्दै कारबाहीका लागि महानगरीय प्रहरी परिसर टेकुका प्रमुख एसएसपी विश्वराज पोखरेलसमक्ष लेखिपठाएका छन्, बुधबारमा उल्लेख छ ।

जवान कार्कीले आफूमाथि अन्याय भएको भन्दै पुनरावेदनका लागि प्रहरी परिसर टेकुमा निवेदन दिएका छन् । अब एक निर्दोष जवानलाई न्याय दिने कामको जिम्मेवारी एसएसपी पोखरेलको हातमा आइपुगेको छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan