Wednesday 19th of September | २०७५ असोज ३ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

पुननिर्माण किन कछुवा गतिमा : दोषी सरकार ?

न्यूजअभियान | प्रकाशित मिति : २०७५ बैशाख ११ मंगलबार |
newsabhiyan
newsabhiyan

राजन कार्की, खण्डहर बनेका संरचना ३ वर्षमा बन्न सकेनन् । राष्ट्रपतिले निर्माण उद्घाटन गरेको रानीपोखरी र प्रधानमन्त्री ओलीले उद्घाटन गरेको बुङ्मती दुबै असरल्ल छन् । यी दुबै संरचना निर्माणबारे पुरातत्व विभाग र महानगर अझै जुवारी खेलिरहेका छन् ।

निर्लज्जताको पराकाष्ठामा उभिएर पनि १ सय १० वर्ष अघि चन्द्रशमशेर राणाले बनाइदिएको सिंहदरवार भत्काउने निर्णयको तैयारीमा सरकार पुगेको खबर आयो ।

संघीय शासन प्रणालीमा जाँदा भाडामा सभाभवन, भाडामा मुख्यमन्त्री, प्रदेश प्रशासन चलाउन थालेको स्थिति छ भने केन्दमा चीनले राजा वीरेन्द्रलाई उपहारमा बनाइदिएको वीरेन्द्र अन्तर्राष्ट्रिय भवनलाई वीरेन्द्र हटाएर संसद चलिरहेको छ ।

इन्जिनियरहरुले रेक्टोफिट गरेर सिंहदरवारको प्राचीनता बचाउन सकिने भन्दाभन्दै कमिशन एजेन्ट र माफियाको लहैलहैमा लागेर सरकारले सिंहदरवार भत्कायो भने २०१५ सालपछिको सर्वशक्तिमान केपी ओली सरकारको अर्जुन दृष्टि सुशासन र समृद्धि हो भनेर नठाने हुन्छ । किनकि यो सरकारले पनि कमिशन र माफिया जालोमा आफूलाई संलग्न बनाएको प्रमाण यही हुनेछ ।

नेपाल राम्रो छ । प्राकृतिक आभूषण, श्रोत र साधनले भरिपूर्ण छ नेपाल । छैन भने यहाँको राजनीतिमा निर्मलीकरण छैन, प्रदूषण छ । इमान छैन, बेइमानी छ । गुलिया त छ तर मह लेपन गरेको स्वादिलो तर विषालु जंगली च्याउजस्ता नेताहरुको आकृति, प्रकृति र नियति छ । यसकारण नेपाल दु:खी छ, पीडित छ, नेतातन्त्रको अन्यायले प्रताडित छ ।

नेपाली कांग्रेसले हिन्दुवाद, राष्ट्रवाद र नेपालीत्वका बारेमा चुँइक्क बोलेन, त्यसैले जनताले ठाने अव कांग्रेसलाई गोर्खे लौरी ठोक्नुपर्छ । यसलाई ठिकठाक पार्नुपर्छ । मौन जनताले चुनावमा नेपाली कांग्रेसलाई सुम्ला बस्नेगरी मतदानको लठ्ठीले सुम्ल्याए ।

भोटजति कम्युनिष्टले कुम्ल्याउन पुगे, नेपाली कांग्रेस कमजोर प्रतिपक्षमा पुग्यो र जनताले कम्युनिष्टको स्वाधीनतावादमा विश्वास गरेर जिताइदिए । यसकारण यतिबेला नेपालको नयाँ संविधान, शासन पद्धतिमा सूर्य उदायो भनिदैछ ।

सूर्य एमालेको चुनाव चिन्ह, हँसिया हथौडावाला माओवादी केन्द्र पनि सूर्यकै पछि लाग्यो र यी दुवैको हातमा देशको कमान पुगेको छ । तर, वैशाख ९ गते लेनिन जयन्तीका दिन यिनले पार्टी एकीकरण गर्ने भनेर जुन डम्फु फुकेका थिए, त्यो यिनकै एकदोस्राको अडानले सम्भव नहुने भएछ ।

हुनसक्छ, यी दुईको छिर्के दाउ र खुट्टा तानातानले राजनीतिक परिदृश्य धमिलिदै र फेरिदै पनि जानसक्छ । कठै नेपाल, कहिल्यै अरुको उपनिवेश बनेन । सबैभन्दा पुरानो अर्थात जेठो मुलुक यो, यो मुलुक चलाउने पार्टीहरुले शीरमा श्रीपेचका रुपमा माक्र्स, माओ, लेनिनको चाँद सिउरिन शरम मानेनन् ।

माटोमाथि पटक पटक गद्धारी गरे, अव माटो निधारमा दल्छु भनेर दलेनन् । राष्ट्रवादका सामु चुनौती बने, कहिल्यै गलेनन् । नेपाल निर्माताप्रति गौरव गर्न जानेनन् । हिन्दुधर्म त मासे मासे, राजनीतिक धर्म, माटोप्रतिको आस्थासमेत प्रकट गर्न सकेनन् । यिनले नेपालको सम्पन्नताको मूल फुटाउने रे ? जसको सिङ छैन उसको नाम तीखे ।

हो, गाउँ, नगरपालिका, प्रदेश, राष्ट्रियसभा र संसदको चुनावले सिंहदरवार राजधानीबाट गाउँसम्म पुगेको छ । तर महालेखा परीक्षकको रिपोर्टले देखाइदियो– गाउँमा पुग्नुपर्ने सिटामोल पुगेन, केन्द्रमै बजेट झ्वाम पारिएछ । गाउँका स्वास्थ्यचौकीहरु बन्द छन्, कारण स्वास्थ्यकर्मीहरु राजधानीमै बसेर तलवभत्ता पचाउने रहेछन् ।

गाउँमा खेताला माष्टर लगाएर असली माष्टर राजनीतिक नेताहरुसँग हिड्दो रहेछ । अर्थ मन्त्रालयमै सबैभन्दा ठूलो नीतिगत भ्रष्टाचार देखियो । भ्रष्टाचारको भाङ खाएर सिंहदरवार लठ्ठिएको रहेछ । विकाससँग सम्बन्धित मन्त्रालयहरुमा बेरुजुको पहाडै पहाड ।

उफ, प्रशासन भनेको मेसिन लगाएर त्रिशूलीबाट बालुवाको खेती गरेजस्तो पो भइसकेछ, बम पड्काएर माछा मार्ने धराप बनेछ । तैपनि प्रधानमन्त्री भन्छन्– भ्रष्टाचारीलाई टिप्दै फाल्छु । अख्तियारको पखेटा काटेर अपाङ्ग बनाएर थन्क्याएपछि सिआइवी अलिअलि सक्रिय छ, भ्रष्टाचार नियन्त्रण गर्ने कसले ?

सिंहदरवार गाउँसम्म पुग्ला, सिंहदरवारले गर्ने भ्रष्टाचार र नैतिकहीनताले गाउँसम्म महामारी फैलिएला, खतरा बढ्यो । भनिन्छ, भय बिना प्रित नही । भय नभएपछि स्वच्छन्दताले बेग हान्छ । नेपालको शासन प्रशासनमा भ्रष्टाचारको महामारी फैलिएको छ, उपचार थालनीसम्म भएको छैन ।

राजधानीमा हिजोका टाट राजनीतिक व्यक्ति र प्रशासनिक कर्मचारीहरु, ठेकेदार, कमिशन एजेन्ट, नेताका आउरेबाउरेहरु निजी स्कूलहरुमा २ लाखसम्म भर्ना शुल्क तिरेर सन्तान भर्ना गराइरहेका छन्, महगोभन्दा महगो शिक्षा दिइरहेछन् । आचार र विचारका निर्धनहरु, धनको तुजुक देखाइरहेछन् ।

सामुदायिक स्कूलहरुलाई यसरी अपहेलित गरिएको छ कि सरकारी माष्टरहरुको काम पार्टीमा लागेर राजनीति गर्नु हो । राष्ट्रको सिंगो बजेटको २५ प्रतिशत शिक्षामा खर्च हुन्छ, झण्डै त्यत्तिकै बजेट स्वास्थ्य र खानेपानीमा खर्च गरिन्छ तर उपलव्धि लगानीअनुसारको देखिदैन । किन ? भनेर राज्यले विश्लेषण कहिल्यै गर्दैन ।

शिक्षा, स्वास्थ्यमा सुधार ल्याउन, विकास गर्न सम्बन्धित निकायहरुको जिम्मेवारी बोकेका मन्त्री, सचिव, अन्य कर्मचारीहरुमा प्रतिवद्धता चाहिन्छ । नियम प्वाल पारीपारी बजेट सक्ने र आफू मोटाउने तौरतरिकाले कसरी सकारात्मक नतिजा आउँछ ।

यो यस्तो देश हो, जहाँ ठेकेदार निर्माण मन्त्री हुन्छ, सर्टिफिकेट काण्डमा परेका व्यक्ति बन मन्त्री हुन्छ, गुण्डा अर्थ मन्त्री र कूटनीतिक ज्ञान नभएको व्यक्ति परराष्ट्र मन्त्री हुने परम्परा छ । दश पास व्यक्ति प्रधानमन्त्री हुन्छ र उसैले विदेशबाट डाक्टरको उपाधि लिएर फर्कन्छ ।

यो उपाधिको मूल्य राष्ट्रले के दिएर चुकाउने हो, जनता जान्न चाहदैनन् । उसले सुशासन र समृद्धि दिन्छु भनेर फुइँकी हाँक्छ र जनताले पत्याउँछन् । यसकारण त चिनीमा मल मिसाएको जनताले पत्तै पाउँदैनन् । प्लास्टिकको चामल खान्छन्, सोयाविन भनेर पाम आयल खाइरहेका छन् ।

फसलमा विष हाल्न सिकाइन्छ । आयुर्वेदी उपचार गर्ने संस्थाहरु एलोप्याथिक एन्टिबायोटिक बेचिरहेका छन् । हिराले हिरा, फलामले फलाम काट्ने सिद्धान्त त ठिकै हो, बिग्रेका नेताले आफू सप्रिन जाने, सम्पन्न हुन जाने, देश र जनतालाई सपार्न र सम्पन्न पार्न कहिल्यै जाँगर चलाएनन् ।

इतिहास पुरुष बन्ने भोक चाहिन्छ, त्यस्तो भोक भएको व्यक्ति ली क्वान यु बन्ने हो, सत्ता र शक्तिको भोक लाग्योहरु हरेक पार्टीमा लस्कर छन्, केही गरौं भन्ने इच्छाशक्ति भएको व्यक्ति कुनै पनि पार्टीको अग्रपंक्तिमा छैन ।

यसैले त तुइनमुक्त हुनसकेको छैन मुलुक । बाटो र पुलको खाँचो छ देशमा । प्रधानमन्त्री चीनबाट काठमाडौं, दिल्लीबाट काठमाडौं रेल आउँछ, हिन्द महासागरमा पानीजहाज चल्छ, खाली नपठाउने तपाईहरुको जिम्मा भनेर कुर्लिन्छन् । ती कस्ता थिङ्क टेंङ्क होलान्, सल्लाहकार होलान्, जसले उद्योग खोल्न, व्यापार बढाउन, विदेशी लगानी भित्र्याउन के के गर्नुपर्छ भनेर सुझाव नै दिदैनन् ?

नेपाल र चीनवीचको समदूरीको नीति र नेपालले दुबै मुलुकबाट जोडिने रेलसेवाबाट कसरी लाभ लिन सकिन्छ भनेर सुझाव दिने ल्याकत राख्दैनन् ? त्यसै चुलोमा ग्यास पाइप जोडिदिन्छु, हावाबाट बिजुली निकाल्छु, विजुली बेचेर पैसा कमाउँछु भनेर मात्र हुन्छ ?

जुन देश पानी बगाएर त्यही पानीको विजुलीले लोडसेडिङ हटाउँछ, जुन देशमा स्पष्ट राष्ट्रिय नीति छैन, संवैधानिक पार्टीहरु संविधानको लक्ष्मण रेखामा बस्दैनन्, उच्छृङ्खल र अराष्ट्रिय, भ्रष्ट, अनैतिक तत्वहरुलाई कानुनले कारवाही गर्न सक्दैन, त्यो देशका प्रधानमन्त्रीको फुरफुर भनेको हुटिट्याउँले आकाश थामेजस्तोमात्र हो । पहिले म नैतिक बन्छु भन ।

नेपालको प्राथमिकता के के हुन् ? यत्ति जान्नका लागि राराको डिलमा पुगेर मन्त्रिमण्डलको बैठक राख्न वा प्रधानमन्त्रीले देशका नाममा संवोधन गरेर तातोपानी पनि लाग्दैन । मात्र ओली सरकारका सबै सदस्यले सार्वजनिक बस चढेर राजधानी घुमुन्, ठूला सहरहरुमा पुगुन्, पहाड, हिमाल र मधेसका गाउँसम्म पुगुन् ।

देश १८औं शताव्दिमै रहेछ भन्ने तिनलाई छर्लङ्ग हुनेछ । तिनले यसरी १५ दिन घुमे भने बुझ्नेछन्, नेपालको निर्माण कहाँबाट सुरु गर्ने ? नेपालको समस्याको जड के हो ? उपचार के हुनसक्छ ?

७७ जिल्लाका मान्छेका आशा बुद्ध हुन्, बुद्ध कहाँ छन् ? हामीसँग विश्व शिखर सगरमाथा छ, सगरमाथा मार्ग नगरपालिकाको कन्टेनर भएको सरकारलाई थाहै छैन । सबै नेपालीको विश्वास दलका घोषणापत्र र लोकाचार हो, घोषणापत्र थन्क्याइयो र लोकाचारमा कोही बसेनन् ।

नागरिकले सम्मान दिए, अगुवाको साख कहाँ छ ? देशलाई राख बनाएर बेच्ने व्यापारी र जनताका अगुवामा जब भिन्नता हुन्न, अनि मेट्रो र मोनोरेलको सपना देखाउनु भनेको जनताको आँखामा भ्रम छर्नु हो । समयले परिवर्तन ल्याउँछ, त्यो रोकेर रोकिन्न, तर केही गर्न नेतृत्वमा इमान र जमान देखिनुपर्छ ।

विश्वासिलो बन्नुपर्छ । भ्रमको राजनीतिले दशकौं खाइसक्यो, अझै भ्रमको राजनीति ? खाली फूलमालाले थिचिएर रमाउनु लाटो देशमा गाँडो तन्नेरी हुनुमात्र हो । आँट र अक्किल छ, साहस र इच्छाशक्ति छ भने सीमावद्ध खाका ल्याउ, जसले यसमा असहयोग गर्छ, उसलाई दण्डित गर ।

छ ताकत ? देशले धेरै गफ, धेरै भाषणबाजी सुन्यो, अव सवल सहारा खोजिरहेको छ । बहुमतको, दुई तिहाईको सवलता होइन, नैतिक सहितको प्रतिवद्धताको सवलता ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan