Saturday 18th of August | २०७५ भदौ २ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

अन्ततः टाट पल्टिए ! जहाज चढेका ठकुरीलाई रिक्साले छाडेन

न्यूजअभियान | प्रकाशित मिति : २०७५ जेठ ६ आइतबार |
newsabhiyan
newsabhiyan

केशव भट्टराई,रत्ननगर । रत्ननगर–१ ज्योतिहल रोडका ७७ वर्षीय मानबहादुर शाही ठकुरीको पहिचान रिक्सा चालक हो । उनले रिक्सा चलाउन थालेको पनि चार दशकभन्दा बढी समय भएको छ ।

उनको दैनिकी रिक्सा चलाएरै बित्छ । चार दशकअघिदेखि रिक्सा चलाए पनि उनीसँग सम्पत्तिको नाममा एउटा थोत्रो रिक्सा र आफन्तका नाममा छोराछोरीमात्र बाँकी छन् ।
मानबहादुरलाई नियतिले रिक्सा चालक बनाएको हो । खासमा उनी राज खलकका हुन् । दाजुसँग छुट्टिएर काभ्रेको तीनपिप्लेबाट आफ्नो सबै सम्पत्ति लिएर चितवन आएका उनी अशिक्षाले गर्दा मात्रै सुकुमबासी भएका हुन् ।

उनी विसं २०२७ सालमा प्लेन चढेर भरतपुर झरेका थिए । भन्छन्, ‘त्यतिबेला जग्गाजमिन बेचेर ९५ रुपैयाँ प्लेन भाडा तिरेर चितवन आएको हुँ । त्यसबेला २ लाख ६५ हजार रुपैयाँ नगद बोकर आएको थिएँ । आफ्नै बुद्धिले धोका दिँदा दुःख पाएँ ।’
‘त्यतिबेला मसँग भएको रकमले भनेजस्तो ठाउँमा आठ बिघा जग्गा आउँथ्यो’, उनी भन्छन्, ‘भरतपुर र टाँडीमा जग्गा देखाएका पनि थिए । मैले व्यापारतिर हात हालेर कंगाल भएँ ।’

उनले भरतपुरस्थित जिल्ला प्रशासन कार्यालयअगाडि किराना पसल सञ्चालन गरेको बताउँछन् । उनले व्यापार त गरे । त्यो पनि उधारो । त्यसमा पनि ग्राहक स्वयंलाई लेख्न लगाउने । एक वर्षमा चामल गोदाम पनि खाली भयो । पसल रित्तिँदै गयो । अन्ततः टाट पल्टिए ।
उधारो पैसा उठाउनेक्रममा उनलाई थाहा भयो, खातामा त कसैले फिल्मी गीत, कसैले कान्छी साली त कसैले उखान टुक्का लेखेर छाडेछन् । खातामा आर्थिक कारोबारको साटो गीत लेखेर गएपछि लगानी डुबेको उनी बताउँछन् ।
व्यापारका नाममा सम्पत्ति डुबाएपछि उनी साहुबाट एकैचोटी मजदुरमा झरे । एक वर्ष पल्लाको काम र इँटा लोड गरेर बिताए । नियतिले कंगाल बनाएपछि उनले केही समय गाडीमा खलासी गरे । जहाँ जतिसुकै काम गरे पनि उनकोे आर्थिक उपार्जन हुन सकेन ।
काभ्रेको सम्पन्न परिवारका ठकुरीले लाजले गर्दा गाउँ फर्किन सकेनन् । भन्छन्, ‘कसरी र कुन मुख लिएर दाजु भेट्न जाऊँ ?’ उनी ४६ वर्षदेखि रत्ननगरमा बस्दै आएका छन् ।
उनी एक वर्ष रत्ननगर नगरपालिकाका मेयर नारायण वनको घरमा काम गर्न बसेका थिए । भन्छन्, ‘म २०२८ सालमा मेयर सा’बको घरमा वर्षको ३०० रुपैयाँमा घाँस काटेर बसेँ । घरको काममा सघाउने, घाँस काट्ने गरेर एक वर्ष कटाएँ ।’

त्यसपछि उनी रत्ननगरका विभिन्न स्थानमा भाडामै बस्दै आएका छन् । ‘अहिले ज्योतिहल रोडमा १५ वर्षदेखि एउटै घरमा भाडामा बस्दै आएको छु ।’ उनले भने ।
उनका चार छोरा र तीन छोरी छन् । सबैले आफ्नै सुरले बिहे गरे । अब दुई छोराको बिहे गर्न बाँकी छ । श्रीमती १६ वर्षअघि पानी परेका बेला सडकमा लडेर बितेको उनी बताउँछन् ।

गरिबीका कारण उनले छोराछोरीलाई पनि राम्रो शिक्षा दिन सकेनन् । आठ कक्षाभन्दा माथि कुनै सन्तानले पढेनन् । छोराहरु घरमा रंग लगाउने काम गर्छन् । ठूलो परिवार भएकाले उनीहरुलाई बिहानबेलुकीको गर्जो टार्दैमा ठिक्क हुन्छ ।
उनको देब्रे हात चल्दैन । उनी भन्छन्, ‘१७ वर्ष भैसक्यो । एउटा हातै चल्दैन । उसबेला डाक्टरले काटेर नक्कली हात राख्नुपर्छ भनेका थिए । नक्कली नै राख्नु परेपछि नचले पनि सक्कली नै ठीक छ भनेर त्यत्तिकै बसेँ ।’

उनी अपाङ्ग भए पनि अझै रिक्सामा सिमेन्ट, जस्तापाता बोक्ने काम गर्छन् । २० वर्षअघिदेखि रत्ननगर १ स्थित सौराहाचोकको कर्माचार्य एण्ड सन्स, हार्डवेयरमा रिक्सा चलाउँछन् । बिहानबेलुकी रिक्सामै गाउँघरमा अरुबाट किनेर दाउरा बिक्री गर्छन् ।
हार्डवेयर सञ्चालक सुरेन्द्र कर्माचार्य भन्छन्, ‘धेरै वर्ष मेरै हार्डवेयरमा काम गर्नुभयो । सकेको सजिलो काम गर्नुहुन्छ । दुःख–बिमार परेको बेला सहयोग पनि गर्दै आएको छु ।’

उनले अपाङ्ग भत्ताका लागि वडा कार्यालयमा निवेदन गरेका थिए । तर, काम गरेर खान सक्नेलाई केको अपाङ्ग भत्ता भनेर सचिवले हप्काएर पठाएको उनले गुनासो गरे । कहीँ कतैबाट सहयोग नपाएका उनले शुक्रबार कार्यक्रममा सहयोगस्वरुप ३०० रुपैयाँ पाएका थिए । ‘अहिलेसम्म सहयोग पाएको यही ३०० रुपैयाँ हो’, आफूले पाएको खाम च्यात्दै उनले भने ।

जति संघर्ष गरे पनि उनले बचत गर्न सकेका छैनन् । ‘रिक्साको कमाइको ठेगान हुँदैन । कमाइ जति खानामै ठीक हुन्छ । अलिअलि गरेर जोगाउँछु, त्यो पनि हराएरै सकिन्छ’ उनले भने ।

उनलाई रिक्सा चलाउने बाध्यता टरेको छैन । रिक्सा धकेल्न सकुञ्जेल यही काम गर्ने उनी बताउँछन् । ‘दुई छोराको अझै नागरिकता बनेको छैन’ उनी भन्छन्, मेयर सा’बको सिफारिसले पनि काम गरेन । छोराहरुलाई बंशजको नागरिकता दिलाउन पाए केही चाहिएको छैन ।’ चितवन पोष्टका साथमा ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan