Saturday 18th of August | २०७५ भदौ २ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

प्रधानमन्त्रीले भ्रष्टाचारी भन्दै भेट नदिँदा वीपी प्रतिष्ठानका उपकुलपतिलाई तनाब

न्यूजअभियान | प्रकाशित मिति : २०७५ जेठ २८ सोमबार | Sagar Shrestha
newsabhiyan
newsabhiyan

विराटनगर, जेठ २८ । शनिवार प्रधानमन्त्री केपी शर्मा ओलीले १ नं. प्रदेशसभाको बैठकमा आफू भ्रष्टाचार नगर्ने र भ्रष्टाचारीलाई पनि नछोड्ने बताउँदै गर्दा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका एक पदाधिकारी भने, ‘जोगाइदिनु पर्‍यो’ भन्दै प्रधानमन्त्री कहाँ लम्पसार पर्न गएका छन् ।


१ नं. प्रदेश सभाको बैठकलाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्न विराटनगर आएको चाल पाएर नेपाल कम्युनिस्ट पार्टीका एक नेताको ‘फेर’ समाउँदै विराटनगर पुगेका व्यक्ति हुन्, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. राजकुमार रौनियार ।

तत्कालीन प्रधानमन्त्री प्रचण्डको आशिर्वाद पाएर प्रतिष्ठानको उपकुलपति हुन सफल डा. रौनियारले प्रतिष्ठानलाई डुबाउन करोडौं भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्दै आएको छ भने, पूर्व स्वास्थ्यमन्त्री दीपक बोहराले समेत तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई कारबाही गर्न सिफारिस गरिसकेको अवस्था छ ।


प्रतिष्ठानले खरिद गर्न लागेको एमआरआई १.५ टेस्ला उपकरण, अंकोलोजी र कार्डियोलोजी सेन्टर लागत स्टिमेटमा सप्लायर्स र ठेकेदारसँग मिलेमतो गरी करोडौं कमिसन कुम्ल्याउने दाउ गरेका डा. रौनियारको योजनालाई आयोगले तुषारापात गरिदिएपछि सम्भावित कारबाहीबाट बच्न उनी प्रधानमन्त्रीको शरणमा पुगेका हुन् ।

विराटनगर स्रोतका अनुसार डा. रौनियारलाई नेकपाका सांसद भीम आचार्यले प्रधानमन्त्रीसँग भेट गराउने कसरत गरेका थिए । विराटनगर स्थित होटेल ह्यारिसन डा. रौनियारले प्रधानमन्त्रीका केही विस्वासपात्र व्यक्तिलाई हातमा लिन खोजेपनि असफल भए । करिब अढाई घण्टा विराटनगरमा बिताएका डा. रौनियार अन्तमा निराश भएर धरान फर्किएको प्रतिष्ठानकै एक पदाधिकारीले बताए ।

प्रधानमन्त्री आउने सुनेर बिहानै विराटनगर पुगेका डा. रौनियारलाई सांसद भीम आचार्यले ओलीसँग सात्क्षात्कार गराउने चाँजोपाँजो मिलाएका भए पनि सफल हुन सकेनन् । ‘वीपीका उपकूलपति आउनु भएको थियो, तर समय पाउनु भएन ।’ होटेल स्रोत भन्दछ ।

भ्रष्टाचारको आरोप लागेका डा. रौनियारलाई प्रमसँग भेटाउन धरानका एक नामुद मेडिकल सप्लायर्स पनि ज्यान फालेर लागेका छन् । प्रतिष्ठान भित्र डेण्टल सामग्री सप्लाइ गर्दै आएका एक मेडिकल माफियाले डा। रौनियारलाई प्रमसँग भेट्टाउने जिम्मा लिएको स्रोतको दाबी छ ।

भने, प्रतिष्ठानमै कार्यरत एक कांग्रेसी प्राध्यापक समेत बाहिरबाहिर उपकूलपतिको विरोध गर्दै, भित्रभित्र उसैलार्इ संरक्षण गर्न लागि परेका छन् । यिनले उपकूलपतिको विषयमा समाचार प्रकाशित भएपछि ठाडै केहि सञ्चारकर्मीलार्इ समेत समाचार नलेख्न भन्दै दवाव दिने गरेका छन् ।

भ्रष्टाचारीको मुख पनि हेर्दिनः प्रम

प्रदेशसभाको बैठकमा सम्बोधन गर्न अगावै डा. रौनियार आफूलाई भेट्न आएको भेउ पाएका थिए । त्यसैले प्रदेशसभाको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, ‘म भ्रष्टाचार गर्दिन र, भ्रष्टाचार गर्नेको अनुहार पनि हेर्दिन ।’

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार प्रतिष्ठानका उपकुलपतिलाई प्रमको चीन भ्रमणपछि बर्खास्त गर्ने तयारी भएको छ । प्रतिष्ठानमा उपकूलपति भएर आएदेखि नै उपकरण खरिद र भवन निर्माणको विषयमा विवादमा मुछिएका डा। रौनियारको कर्तुतबाट दिक्क भएका प्रमले चीनबाट आएपछि कारबाही थाल्ने सङ्केत दिएको स्रोतको दाबी छ ।

‘पूर्वस्वास्थ्य मन्त्री दीपक बोहराले समेत निलम्बन गरी कारबाही गर्नु भनेर सिफारिस गर्नुभएको रहेछ, अख्तियारले पनि धमाधम अनुसन्धान अघि बढाएकोले उहाँको चीन भ्रमण पछि कारबाहीको प्रक्रिया अघि बढ्छ ।’ स्रोत भन्दछ ।

स्वास्थ्यमन्त्रीले फर्काइदिए

एक साता अघिसम्म राजधानीमा बसेर नवनियुक्त स्वास्थ्यमन्त्रीलाई सिनेट ढाक्न आग्रह गरेका डा. रौनियार त्यहाँपनि असफल भए । सङ्घीय समाजवादी फोरमबाट स्वास्थ्यमन्त्रीको जिम्मेवारी लिएका उपेन्द्र यादवले वीपी प्रतिष्ठानका विषयमा गहन अध्ययन र परामर्श लिएर मात्र निर्णय लिने भन्दै उपकुलपतिलाई फर्काइदिएका थिए ।

डा. रौनियारका एक विस्वासपात्रले मन्त्री यादवको चेम्बरमा गएर प्रतिष्ठानलाई विश्वविद्यालयको मान्यता दिन आग्रह गरेका थिए तर, मन्त्री यादवले प्रतिष्ठानलाई विश्वविद्यालयको रूपमा लैजान धेरै चुनौती रहेको र यस्तो निर्णय क्याबिनेटले मात्र गर्ने भन्दै तत्काल केही नगर्ने जवाफ दिएको स्रोतको दाबी छ ।

वि एण्ड सीको चलखेल


प्रतिष्ठानलाई विश्वविद्यालयको मान्यता दिलाउन डा. रौनियारलाई बोक्ने अर्का मेडिकल माफिया हुँन्, झापा बिर्तामोड स्थित विएण्डसी हस्पिटलका मालिक दुर्गा प्रसाई । लामो समयदेखि मेडिकल कलेजको सम्बन्धन पाउन अनेक दाउपेच गर्दै आएका प्रसाईले काठमाडौँ विश्वविद्यालयबाट सम्बन्धन नपाउने छाँटकाँट देखेपछि वीपी प्रतिष्ठानलाई विश्वविद्यालयको मान्यता दिलाएर त्यहाँबाट वि एण्ड सी हस्पिटललाई मेडिकल कलेजको सम्बन्धन दिलाउने प्रपञ्च रचेका हुन् ।

स्रोतका अनुसार प्रसाईले रौनियारसँग प्रतिष्ठानलाई विश्वविद्यालयको मान्यता दिलाउन आफू जतिपनि खर्च गर्न तयार रहेको तर, विश्वविद्यालय भएपछि आफूलाई सबैभन्दा पहिले सम्बन्धन दिनुपर्ने सर्त राखेका छन् । यसका साथै उनले अख्तियारको छानबिनबाट समेत जोगाउन सहयोग गर्ने बचन दिएका छन् ।

यस विषयमा वि एण्ड सिका सञ्चालक सँग कुरा गर्न उनलाई सम्पर्क गर्दा सम्पर्क हुन सकेन । डा. रौनियारलाई संरक्षण गर्ने अर्का व्यक्ति हुन् सौर्य एयरलाइन्सका मालिक दीपक पोखरेल । डा. रौनियारको नियुक्तिमा राम्रै अर्थ खर्च गरेका पोखरेलले अहिले अख्तियारलाई मिलाउन लागि परेको स्रोतको दाबी छ ।

अख्तियार मिलाउने विशाल पण्डित

डा. रौनियारलाई काँध थाप्ने अर्का नामुद मेडिकल माफिया हुन्, हस्पिटेक इन्टरप्राइजेजका मालिक विशाल पण्डित । मेडिकल क्षेत्रमा ‘डन’ नै भनेर चिनिने पण्डितले प्रतिष्ठानमा एमआरआई १.५ टेस्ला उपकरणको टेन्डर पारेका थिए । १२ करोड पर्ने एमआरआईलाई करिब १८ करोडमा प्रतिष्ठानलाई बिक्री गर्न प्रक्रिया पुर्‍याएका पण्डित प्रतिष्ठानले एमआरआई टेन्डर रद्द गरेपछि सर्वोच्च अदालतमा गएका थिए ।

एमआरआई उपकरण टेन्डरमा विवाद भएपछि, प्रतिष्ठानले टेन्डर रद्द गर्नु र हस्पिटेक इन्टरप्राइजेजले अदालत गएर स्टे अर्डर ल्याउनु डा. रौनियारकै ग्राइण्ड डिजाइनमा भएको बुझिएको छ । पण्डितले अख्तियारका केही आयुक्तलाई समेत हात लिएर प्रतिष्ठानका फायल तामेलीमा राख्न लगाएका छन् ।

यसका अलावा उपकूलपति डा. रौनियारलाई संरक्षण गर्न धरानका नामुद मेडिकल सप्लायर्स वेणु कोइराला, ठेकेदार सुशील झा समेत कम्मर कसेर लागेका छन् ।

प्रतिष्ठानमा एक्स–रे प्लेट अभाव

प्रतिष्ठानमा एक्स–रे प्लेट अभावका कारण बिरामीलाई सास्ती भइरहँदा एक्स–रे प्लेट गरिद गर्न प्रतिष्ठानले कुनै प्रक्रिया अघि बढाएको छैन । अहिले प्रतिष्ठानमा आउने अधिकांश बिरामी एक्स–रे, भिडियो एक्स–रे लगायतको परीक्षण गर्न प्रतिष्ठान बाहिरका ल्याब सेन्टरमा जाने गरेका छन् ।

प्रतिष्ठान स्रोतका अनुसार उपकुलपति डा. रौनियारकै मिलेमतोमा प्रतिष्ठानका ल्याब परीक्षण र एक्स–रे प्रतिष्ठान बाहिर पठाउने गरिएको छ । स्मरण रहोस् यस अघि डा. रौनियार प्रतिष्ठानको रेडियोलोजी विभागका प्रमुख थिए । उनले त्यत्तिबेलै प्रतिष्ठानको रेडियोलोजी विभागलाई तहसनहस बनाएका थिए ।

अल्ट्रा साउण्ड सेवामा कृत्रिम अभाव

प्रतिष्ठानको अल्ट्रासाउण्ड सेवामा समेत कृत्रिम अभाव सृजना गरी प्रतिष्ठानलाई ध्वस्त बनाउने काम भइरहेको छ । अहिले प्रतिष्ठानले निश्चित कोटामात्र अल्ट्रासाउण्ड गर्ने गरेको छ, जसले गर्दा बिरामी बाहिर निजी सेन्टरमा महँगो पैसा तिरेर अल्ट्रासाउण्ड गर्न बाध्य छन् ।

कमजोर र गुणस्तरहीन ल्याब सेन्टर

प्रतिष्ठानको ल्याब सेन्टरमा प्रयोग गरिएका किट्स गुणस्तरहीन भएको भन्दै ल्याबमा कार्यरत चिकित्सकले प्रशासनलाई बारम्बार जानकारी गराउँदा पनि गुणस्तरीय किट्स खरिद गर्न सकेको छैन । उपकूलपतिले प्रतिष्ठान बाहिर खुलेका ल्याब सेन्टरसँग कमिसन लिएर प्रतिष्ठानको ल्याब इन्भेष्टिकेसन बन्द गरेका छन् ।

फार्मेसीको आम्दानीः अहिलेसम्म १० लाख

सरकारले सरकारी अस्पताल र स्वास्थ्य प्रतिष्ठानले आफैँले फार्मेसी सञ्चालन गर्ने मापदण्ड ल्यायो । फार्मेसी निर्माणका लागि आवश्यक बजेट पनि दियो । तर, प्रतिष्ठानले सरकारको आँखा छल्न आफैँ फार्मेसी सञ्चालन गरेको नाटक मात्र गर्‍यो । प्रतिष्ठानले सञ्चालन गरेको फार्मेसीमा सामान्य रुघाखोकी ज्वरोको औषधी बाहेक केही छैन । दुई महिना अघि तामझामका साथ उद्घाटन गरिएको फार्मेसीले अहिलेसम्म १० लाखको मात्र बिक्री गरेको छ । जबकि त्यही अवधिमा प्रतिष्ठानले भाडामा दिएको फार्मेसीले मासिक साँढे १२ देखी १३ लाखसम्म भाडा तिर्दथ्यो ।
यस अवधिमा प्रतिष्ठानले डेढ करोड बढीको औषधी खरिद गरेको छ तर, बिक्री भने दैनिक ३ देखि ५ हजारको मात्र छ । खरिद गरिएका औषधी उपकरण समेत गुणस्तरहीन र चिकित्सकले प्रयोगमा ल्याउनै नसक्ने भएपछि एक किलोमिटर बाहिरका औषधी पसल जानुपर्ने बाध्यता छ ।

नागरिक समाज दिक्क

प्रतिष्ठान सुधार्न भनेर तत्कालीन स्वास्थ्यमन्त्रीलाई विस्तृत कार्य योजना समेत बुझाएर उपकुलपति भएका डा. रौनियारले प्रतिष्ठानको स्वास्थ्य सेवालाई झन् कमजोर बनाउँदै भ्रष्टाचारमा लिप्त भएपछि धरानका नागरिक समाज समेत दिक्क भएका छन् ।

नियुक्ति लिएर आएको १ वर्षमै प्रतिष्ठानबाट करोडौं लुट्ने प्रपञ्च गरेका डा। रौनियारलाई तत्काल बर्खास्त गरी प्रतिष्ठानलाई चलायमान गराउनुपर्ने उनीहरूको धारणा छ । ‘भ्रष्टाचार भयो भनेर अख्तियारले पनि अनुसन्धान गरिरहेको छ, पूर्वस्वास्थ्य मन्त्रीले पनि कारबाही गर्नुभनेर सिफारिस गरेको अवस्था छ यो, अन्यौलतालाई चिर्न सरकारले आवश्यक कदम चाल्न आवश्यक छ ।’ एक नागरिक अगुवाले बताए ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan