Monday 19th of November | २०७५ मङ्सिर ३ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सरकारका ६ महिना : जनतालाई हर्ष न बिस्मात

न्यूजअभियान | प्रकाशित मिति : २०७५ भदौ ५ मंगलबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, ५ भदौ । दुई तिहाई मत भएको खड्गप्रसाद शर्मा ओली नेतृत्वको सरकार गठन भएको ६ महिनामा पनि आम नागरिकको सोच अनुरुपको काम गर्न सकिरहेको छैन ।

गठनका बेला तत्कालिन माओवादी केन्द्रलाई मिलाएर सुविधाजनक बहुमतसहित गठन भएको सरकार उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमलाई पनि सरकारमा ल्याएपछि दुई तिहाई मतको सरकार बनेको छ ।

तत्कालिन एमाले र माओवादी केन्द्र मिलेर नेकपा कम्युनिष्ट पार्टी (नेकपा) बनेको छ । संबैधानिक र कानुनी प्रावधान हेर्दै मुलुकलाई साच्चै विकास र समृद्धिको बाटोमा सरकारले डोहोर्याउन चाहने हो भने जे पनि गर्न सक्छ ।

किनकी कुनै काम गर्नलाई संविधान बाधक बन्यो भनेपनि त्यसलाई संशोधन गरी अनुकुलताको बनाउने जनमत समेत सरकारसंग छ । जनमतका आधारमा हेर्ने हो भने वर्तमान ओली नेतृत्वको सरकार २०४६ सालको जनआन्दोलन सम्पन्न भएपनि बनेका सरकार मध्य सबैभन्दा शक्तिशाली सरकार हो ।

तर, सरकार गठन भएका ६ महिनाका क्रियाकलाप हेर्ने हो भने आम नागरिक सन्तोषजनक हुने अवस्था देखिन्न । संविधान अनुरुप मुलुक र जनतालाई हितमा राजी जे सुकै काम गर्न पनि सहज हुने म्याण्डेट पाएको सरकारले यथार्थमा अपेक्षा गरे अनुसार दह्रो र प्रभावकारी देखिन सकेको छैन ।

आवश्यकता अनुरुप संविधान संशोधन गरी त्यसको आडमा जनहितका लागि एक हैन अनेक साहसिक पाइला चाल्न जनताले दिएको म्याण्डेटलाई पुरा गर्ने बाटोमा सरकार अघि बढिरहेको देखिन्न ।

नयाँ परिवेशमा चुनावी अभ्यास मार्फत हासिल भएको एक हदको स्थिरताको लाभ उठाउँदै जनमुखी केही कार्यक्रम तत्काल कार्यान्वयनमा लैजाने पहल सरकारबाट हुन सकिरहेको छैैन ।

जुन सरकारका मन्त्रीहरुनै स्वीकाछन् । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले सोचे अनुरुप काम गर्न अहिलेसम्म सरकारले नसकिरहेको बताउँछन् । ‘अघिल्लो सरकारले विगारेका काम सच्याउन हामीले ध्यान दियौ, अहिलेसम्म जनताको सोचाई अनुरुपको काम हुन सकिरहेको छैन । अब हामी केहि महिनामै प्रतिफल आउने गरी काममा लाग्छौ’ ज्ञवाली भन्छन् ।

सरकारले अहिलेसम्म नियमित प्रकृतिका नीति तथा कार्यक्रम र तदनुरुपको वार्षिक बजेट व्यवस्थापिका संसदमा प्रस्तुत गरेको छ । त्यो बजेट प्रतिपक्षीको विरोधका बाबजुद संसदबाट पास त भएको छ ।

तर, त्यसमा आशलाग्दा कुनै कार्यक्रम र योजना देखिन्नन् । आम नागरिक सरकार गठन भएपछि बढ्दो असुरक्षा र आकासिँदो महँगीको मार खेपिरहेका छन् ।

यसमा राहत पाउने अवस्था अझै सरकारले सृजना गर्न सकिरहेको छैन । धूलो, धूँवा, हिलो र गुम्सिएको वातावरणले निम्त्याएका रोगव्याधिको चपेटामा जनसाधारण परिरहेका छन् ।

संघीय राजधानी काठमाडौं र अन्य दुई जिल्ला भक्तपुर र ललितपुर रहेको उपत्यकामा बासिन्दाले नियमित पानी नआउने धाराको शुल्क नियमित तिर्न बाध्य छन् । मोफसल र दुर्गमका नागरिकले धाराको पानी पिउने परिकल्पना समेत अहिलेसम्म गर्न पाइरहेका छैनन् ।

प्रधानमन्त्री स्वयं र मन्त्रीहरुले प्रशासन सम्यन्त्रका कारण जनताले अनुभूति गर्ने खालको काम गर्न नसकिरहेको बताउँछन् । प्रशासन संयन्त्रको ढिलासुस्तीका कारण जनतालाई अनुभूति हुने गतिमा काम गर्न नसकेको सार्वजनिक कार्यक्रममा र मिडियाका अन्तर्वार्ताहरुमा दिने गरेका छन् ।

प्रशासकहरूको राजतन्त्रकालीन पुरानो शैली नछोड्ने मानसिकताले सरकारी कार्यक्रम तथा अठोट आवश्यक बेग लिन नसकेकै हो । तर, फितलो जँच्ने यसप्रकारका आधारमा सरकार अकर्मण्य हुन पुगेको दलीलले जनतालाई आश्वस्त हुन सक्दैनन् ।

तत्कालिन एमाले र माओवादी केन्द्रले बनाएको संयुक्त घोषणापत्रले पनि यस्तो परिकल्पना गरेको छैन । प्रशासन हाँक्न चाहिने योग्य र कुशल कर्मचारीको बन्दोबस्त मन्त्रिपरिषदले गर्ने हो ।

थरीथरीको निहुँ र झन्झट तेर्साएर सबै कुराको चाँजो मिलाउन ‘समय लाग्छ’ भन्ने मन्त्रीहरूको बोली मार्फत अल्याङटल्याङ गरेर पाँच वर्ष भुक्तान गर्न खोजेको हो भने त्यसलाई मतदाताले स्वीकार गर्न सक्दैनन् ।

समृद्ध नेपाल, सुखी नेपाली तुल्याउने मूल अभिलाषा नै तुहिने जोखिम आइपर्न सक्छ । त्यसैले अर्को पटक पनि मत ल्याएर जित्नका लागि जनताको मन काम गरेर जित्नै पर्छ ।

यो वा त्यो बाहनामा काम गर्न सकिएन भन्ने हो भने जनताले अर्को पटक जनताले पनि अन्य दललाई छान्छन, त्यसो भएर बेलैमा होस पुर्याएर काम गर्न तर्फ लाग्ने कि ?


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan