Saturday 20th of October | २०७५ कार्तिक ३ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

४ पाइलट ग्राउन्डेड, अवालेलाई उडानमा आजीवन रोक

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असोज २ मंगलबार |
newsabhiyan
newsabhiyan

काठमाडौँ, २ असोज ।  वायुयान र पाइलटहरुको नियमनकारी निकाय नागरिक उड्डयन प्राधिकरणले उडानमा लापरबाही देखिएको कारण जनाउँदै ४ जना नेपाली पाइलटलाई ग्राउन्डेड गरेको छ । यीमध्ये नेपाल वायुसेवा निगमको एयरबसका क्याप्टेन सुवर्ण अवालेलाई आजीवन उडानमा रोक लगाउँदै ग्राउन्डेड गरिएको प्राधिकरण स्रोतले बताएको छ ।

क्याप्टेन अवालेलाई प्रहरीले ०७३ चैत्र २७ गते राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ९३ हजार अमेरिकी डलरसहित पक्राउ गरेको थियो। ‘हवाई उडान जस्तो संवेदनशील काममा सरिक नगराउने गरी रोक लगाइएको छ,’ प्राधिकरणका एक अधिकारीले भने, ‘क्याप्टेन अवालेको घटनामा मन्त्रालयको आदेश अनुसार उनलाई सधैंका लागि ग्राउन्डेड गरिएको हो।’ उनी त्यस रात निगमको एयरबसमा काठमाडौंबाट दुबईको उडान गर्दै थिए। उक्त उडानको कमाण्डर पाइलट अवाले नै थिए।

त्यसैगरी प्राधिकरणले कारबाही स्वरुप ग्राउन्डेड गरेका अन्य तीन पाइलटमा सीता एयरको डोर्नियर विमान उडाउने क्याप्टेन रजनीश मानन्धर, मनाङ एयरका हेलिकप्टर पाइलट हिरा दाहाल र स्रिमिक एयरका हरेराम थापा छन्। यीनलाई भने सदाका लागि ग्राउन्डेड नगरिए पनि उडान सुरक्षामा लापरबाही गरेको अभियोगमा ग्राउन्डेड गरिएको हो।

०७४ मंसिरमा काठमाडौं–लुक्लाको उडानमा कमाण्डर पाइलट रहेका सीता एयरका क्याप्टेन रजनीश मानन्धर ककपिटमा निदाइरहेको भिडियो सार्वजनिक भएपछि उनलाई ग्राउन्डेड गरिएको थियो। उक्त भिडियो यात्रुले खिचेर युट्युबमा अपलोड गरेका थिए।

‘क्याप्टेन मानन्धरको विस्तृत मेडिकल अध्ययन गर्दै छौं,’ अनुसन्धानमा संलग्न प्राधिकरणका अधिकारीले भने, ‘भविष्यमा सेफ उडान गर्न सक्छन् कि सक्दैनन् भन्ने विषयमा छानविन गरिरहेका छौं।’ यी क्याप्टेनबारे प्राधिकरणका दुईवटा फरक छानविन समितिले अध्ययन गरिसकेका छन्। दुवै समितिले प्रतिवेदन बबरमहलस्थित प्राधिकरणको मुख्यालमा बुझाइसकेका छन्।

त्यसैगरी साउन २९ गते मानसरोबरको तीर्थयात्रामा रहेका भारतीय तीर्थयात्री नगेन्द्र कुमारको मनाङ एयरको हेलिकप्टरको टेल–रोटरमा ठोक्किएर मृत्यु भएको घटनामा प्राधिकरणले उक्त उडानमा रहेका क्याप्टेन हिरा दाहाललाई अझै ग्राउन्डेड गरेको छ।

‘दाहाल पाइलट इन कमाण्ड थिए, उनले अपरेशन सुरक्षामा ध्यान नपुर्‍याएको देखिएकाले ग्राउन्डेड गरेका हौं,’ प्राधिकरणका एक उप-महानिर्देशकले भने, ‘आफ्नै यात्रुको सुरक्षा गर्न नसक्नु चरम लापरबाही हो।’ यो घटनामा मनाङ एयरलाई पनि ग्राउन्डेड गरिएको थियो।

घटना भएको १४ दिनपछि मनाङ एयरलाई भदौं ११ गते यस कम्पनीको उडान रोक्का फुकुवा गरिएको थियो। ‘क्याप्टेन दाहालले यो घटनापछि तालिमहरु लिएको प्रमाणसहित आफूलाई पनि फुकुवा गर्न माग गरेका छन् तर हामी अध्ययन गरिरहेका छौं,’ छानविनमा संलग्न अधिकारीले भने।

यसैबीच असार १६ गते धापासीस्थित ग्रान्डी अस्पतालमा भएको सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा संलग्न क्याप्टेन हरेराम थापालाई पनि प्राधिकरणले कारबाही स्वरुप ग्राउन्डेड गरेको छ। ‘बसिसकेको जहाजमा सावधानी नअपनाएको देखियो,’ प्राधिकरणका उप-महानिर्देशकले भने, ‘हामीले यो घटनाबारे पनि छानविन गरिरहेका छौं।’

त्यसदिन सिम्रिकको हेलिकप्टर ग्रान्डीबाट चिकित्सकको टोली बोकेर बिरामी लिन भरतपुर जाने तयारीमा थियो। अस्पतालको छतमा रहेको हेलिप्याडमा अवतरण गर्नेक्रममा यो दुर्घटनामा परेको थियो। यस घटनामा कुनै पनि मानवीय क्षति भने भएको थिएन।

यसैबीच प्राधिकरणले एक वर्षअघि स्थापना भएको अल्टिच्युड एयरलाई पनि ग्राउन्डेड गरेको छ। भदौं २३ गते नुवाकोटमा यस कम्पनीको हेलिकप्टर दुर्घटनामा परेपछि प्राधिकरणले अर्को निर्णय नहुन्जेलका लागि यस कम्पनीलाई ग्राउन्डेड गरेको जनाएको छ। उक्त घटनामा पाइलटसहित ७ जनामध्ये ६ जनाको मृत्यु भएको थियो भने गोरखा ल्होकी आनी डोल्मा डिकी मात्रै बाँच्न सफल भएकी थिइन।

पछिल्लो समय नेपाली हेलिकप्टर कम्पनीहरुले उडान सुरक्षामा लापरबाही गरेका घटना बढेपछि प्राधिकरणले सबै वायुयान कम्पनीको उडान सुरक्षा प्रणालीमै अडिट गर्न थालेको जनाएको छ। ‘सेफ्टी म्यानेजमेन्ट प्रणाली फितलो भेटिए एओसी (इजाजतपत्र) नै स्थगन गर्ने छौं,' प्राधिकरणको उड्डयन सुरक्षा निर्देशनालयका उप-महानिर्देशक राजन पोखरेलले भने। कान्तिपुर दैनिकबाट 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan