Monday 17th of December | २०७५ पौष २ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

प्रचण्डको चीन भ्रमण खल्लो !

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असोज ३ बुधबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, ३ असोज । भारत भ्रमणबाट फर्किएको एक साता नबित्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चीन भ्रमणमा व्यस्त छन् ।

तर, भारतीय स्वागत, सत्कार र नयाँ दिल्लीमा देखिएको उनको व्यस्तताको तुलनामा चीन भ्रमण भने नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्रीको हैसियतमा होइन, नितान्त व्यक्तिगतजस्तो फिक्का साबित भएको छ ।

नेकपाका अध्यक्षको हैसियतमा चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणमा उनको भ्रमण भएको भनिए पनि चिनियाँ सरकारले प्राथमिकतामा नराखी खासै महत्व नदिनुलाई आश्चर्यका रूपमा हेरिएको छ ।

जति भारतीय र नेपाली मिडियाले महत्व दिएका थिए, चिनियाँ मिडिया र नेपाली मिडियाले उनलाई कुनै महत्व दिएका छैनन् ।

धर्मपत्नी सीता, पुत्री गंगासहित सहभागी प्रचण्डको चीन भ्रमण केवल निजी–पारिवारिक भ्रमणजस्तो मात्र देखिएको छ । प्रचार गरिएजस्तो चिनियाँ राष्ट्रपति सी चिन फिङ, प्रधानमन्त्री बेन जियाबाओ मात्र होइन, अहिलेसम्म उनले चिनियाँ कम्युनिस्ट पार्टीका एक जना स्थायी समिति सदस्यको समेत भेट पाएका छैनन् ।

कूटनीतिक वृत्तमा प्रचण्डको पछिल्लो भारत भ्रमणपछि उनीसँग चीन धेरै नै सशंकित र सतर्क बनेको अर्थ लगाउन थालिएको छ ।

गत भदौ ३० गते त्यसतर्फ प्रस्थान गरेका प्रचण्डले पहिलो दिन ग्वान्जाओमा रात बिताए । त्यसयता उनले नानजिङ सहरको अवलोकन भ्रमण, येनान नगरका कम्युनिस्ट पार्टीका नगर सेक्रेटरी तहका नेतासँग छलफल गर्नसम्म भ्याएका छन् ।

त्यसक्रममा प्रचण्डले येनानमा माओले निर्माण गरेको आधार इलाकाको भ्रमण गरेका छन् भने माओलाई सम्झिएर उनी भावुक बनेको तस्बिर पनि सार्वजनिक भएको छ ।

विमानस्थलमा विदेश मन्त्रालयका एक जना अधिकारीले टिसर्ट लगाएको सामान्य पोसाकमा स्वागत गरिनुलाई नै उनको भ्रमणलाई चीनले कुनै महत्व नदिएको हो कि भन्ने अर्थमा हेरिएको थियो ।

जबकि, भारत भ्रमणका क्रममा प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, परराष्ट्रमन्त्री सुष्मा स्वराज, गृहमन्त्री राजनाथ सिंह, विपक्षी दलका नेता र वरिष्ठ नेताहरूसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।

भारतीय सरकारको डिजाइनअनुसार त्यहाँको थिंक ट्यांकले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथिका रूपमा नेपाल–भारत सम्बन्ध र नेपालको समसामयिक राजनीतिक परिस्थितिबारे प्रवचनसमेत दिएका थिए ।

त्यसो त उनले भारतीय मिडियाहरूलाई अन्तर्वार्ता दिएर आफू दुई वर्षपछि प्रधानमन्त्री बन्न लागिरहेको खुलासा गर्दै त्यसका निम्ति भारतीय सहयोगको अपेक्षा कूटनीतिक रूपमा प्रकट गरेका थिए ।

त्यस्तो अभिव्यक्तिपछि नेपालमा दक्षिण एसियाकै शक्तिशाली कम्युनिस्ट पार्टी निर्माण भएका बेला भारतीय संस्थापनको एकलाई दुईमा विभाजन गर्ने र नेपालमा अस्थिरता मच्चाएर सधैं फाइदा लुट्ने रणनीतिको कतै प्रचण्ड गोटी त बन्न लागेका छैनन् भन्ने एकाथरीले आशंकासमेत व्यक्त गर्न थालेका छन् ।

ठीक यहीबेला चीन भ्रमणमा उनलाई देखाइएको व्यवहारले त्यस्तो आशंकालाई मलजल गर्न खोजेको हो कि जस्तो अवस्था उत्पन्न भएको छ ।

पाँच दिने भ्रमण पूरा गरी प्रचण्ड ३ असोजको राति स्वदेश फर्किंदै छन् । त्यसो त प्रचण्ड जानुभन्दा अघिल्लो दिन नेकपाकै तर्फबाट सचिवालय सदस्य तथा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठको नेतृत्वमा १५ सदस्यीय टोली पनि चीन भ्रमणमै व्यस्त छ । प्रचण्ड र श्रेष्ठको टोली भिन्नाभिन्नै भेटवार्तामा छ ।

श्रेष्ठको टोलीचाहिँ नेकपाले पठाएको उच्चस्तरीय आधिकारिक टोलीजस्तो देखिएको छ भने प्रचण्ड भने नितान्त निजी पारिवारिक भ्रमणमा व्यस्तजस्तो देखिएका छन्, बुधबारमा उल्लेख छ ।

यी दुई टोलीको भ्रमणलाई नेकपाको सचिवालय र स्थायी समिति बैठकले कसरी समीक्षा गर्ला ? गम्भीर चासोको विषय बनेको छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan