Sunday 24th of September | २०७४ असोज ८ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

पूर्व प्रधानमन्त्री झलनाथले मधेशी मोर्चाका नेताहरुलाई भने,‘तपाईहरु किन ईण्डियन एम्बेसीमा गएर तन्त्रमन्त्र लिनुहुन्छ ?’

न्यूजअभियान | प्रकाशित मिति : २०७३ मङ्सिर २३ बिहिबार
newsabhiyan
newsabhiyan

पूर्व प्रधानमन्त्री एबं नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनालले आफ्नो पार्टीले सरकारले ल्याएको संविधान संशोधन प्रस्ताव कुनै हालतमा पारित गर्न नदिने चेतावनी दिएका छन् ।

उनले अहिले गलत ढंगले आएको प्रस्तावलाई जबरजस्ती पारित गर्ने जोरजमात गरिरहेको र त्यसलाई अर्थात यो प्रयत्नलाई पनि विदेशबाट हावा दिने कामहरु भैरहेका आरोप लगाएका छन् र तर उनले यो कुरासँग आफूहरुको आपत्ति रहेको बताए । उनले देशको स्वतन्त्र, स्वाभिमानमा आँच आउने कुरामा एमालेले सहयोग नगर्ने पनि स्पष्ट पारे । यीनै विषयमा केन्द्रित रहेर पत्रकार ऋषि धमलाले गरेको कुराकानीको सम्पादित अंश :

संविधान संशोधन प्रस्तावलाई एमालेले किन अनुमोदन गर्न चाहेन ?

यो संशोधन प्रस्ताव कुबेलाको सनाईजस्तै छ । अहिले संविधानलाई कार्यान्वयन गर्ने समय हो । संविधान कार्यान्वयन गर्न छोडेर किन काँग्रेस र माओवादी केन्द्र संशोधन गर्न किन लागिपरिरहनुभएको छ, हामी आश्चर्यमा परेका छौं । उहाँहरु यो निश्कर्षमा किन पुग्नुभयो ? हामी आश्चर्यमा छौं । उहाँहरुले अघि सार्नुभएको प्रस्ताव असंवैधानिक पनि छ, अनि राष्ट्रिय एकताको विपक्षमा पनि छ । र, हामीले पहिला गरेको सहमतिको विपरितपनि छ ।

तर संशोधन गर्न हामी तयार छौं भनेर तपाईहरुले बोल्नुभएको होईन र ?

संविधान अहिलेपनि गतिशिल दस्तावेज हो । तर संविधान सम्झौताको दस्तावेजपनि हो । संविधान बहुमतले पारित हुन्छ । संसारमा संविधान सबैको पूर्ण सहमतिमा बनेको छैन । संविधानलाई गतिशिलताको नाममा संशोधन गरेर कमजोर बनाउने काम कुनै हालतमा स्विकार्य छैन ।

हिजो तपाईको पार्टीको अध्यक्ष प्रधानमन्त्री हुँदा, संविधान संशोधनको लागि भारतसँग गुहारेको होईन ? आज आएर किन तपाईहरु अवरोध गरिरहनुभएको छ वा विरोध ?

तपाईले भनेको कुरालाई त्यतिवेलाका परराष्ट्रमन्त्री कमल थापाले स्वयम खण्डन गरिसक्नुभएको छ । यसकारणले त्यतातिर जानुपर्ने कुनै औचित्य छैन । खासगरी विदेशमन्त्रीकावीचमा छलफल भए होलान् तर यही कुरालाई ठूलो विषय बनाउनुहुँदैन् । संविधान संशोधनको औचित्य हुनुपर्छ । देशलाई आवश्यक पर्यो भने सिँगो देशलाई एक बनाउँछ भने संशोधन गर्नुपर्छ । तर अहिले के को लागि ? ५ नम्बर प्रदेशका लाखौं जनताहरु अहिले सडकमा छन् । आन्दोलनमा छन् । खोई शान्ति ? खोई एकता ?

तर तपाईको अध्यक्षले नवलपरासीदेखि बर्दियासम्म प्रदेश बनाउनुपर्छ भनेर प्रस्तावमा हस्ताक्षर त गर्नुभएको थियो नि ?

त्यो कुनै औपचारिक प्रस्ताव होईन । त्यो नेकपा एमालेले निर्माण गरेको प्रस्ताव पनि होईन । नेकपा एमालेको कुनै कमिटिले छलफल गरेर ल्याएको प्रस्ताव होईन । त्यस्ता अवधारणा कति बने ? बने ? माओवादीले त १४ प्रदेश पनि भन्यो, कहिले ७५ प्रदेशपनि भन्यो ।

उसो भए एमालेले विगतमा गरेको समझदारीलाई किन तोड्यो ?

नेकपा एमाले केन्द्रिय कमिटिले गरेको सहमति, सम्झौताहरुबाट पछाडि हट्दैन । तर तपाईले भनेजस्तो हाम्रो पार्टीले आधिकारिक धारणा बनाएको छैन । हरेक दिनका बहसहरु हुने सिलसिलामा भएका बहसरु व्यक्तिका धारणाहरु औपचारिक हुँदैनन् । हामीले हात्तिवनमापनि सहमति गरेका थियौं । तर बेलुकी एउटा सहमति भयो, तर विहान प्रचण्डले उल्टाईदिनुभयो ।

उसो भए ५ नम्बर प्रदेश तलमाथि गर्ने त्यतिवेला पार्टी अध्यक्षले अघि सारेको प्रस्ताव होईन ?

५ नम्बर प्रदेश अहिले जसरी टुटाउन र फुटाउन कोशिस गरिँदैछ त्यो भनेको समग्र मधेश एक प्रदेश बनाउने एउटा खुड्किलो हो । त्यसलाई हामी समर्थन कुनै हालतमा गर्दैनौं ।

समग्र मधेश एक प्रदेश वा स्वायत्त मधेश एक प्रदेश भनेर तपाईहरुले विगतमा भन्नुभएको होईन ?

विल्कुलै होईन । हाम्रो पार्टीले कतै भनेको छैन । मधेश प्रदेश बनाउने कुरा बनाउने हो भने हाम्रो पार्टीको सहमति छैन ।

उसो भए झापादेखि कञ्चनपुरसम्म मधेशमा दुई प्रदेश हुन सक्दैन ?

हाम्रो देश सबै प्रकारका विविधताहरुले बनेको छ । हिमाल, पहाड र तराईमा पनि विविधता छन् । म त भन्नुहुन्छ भने हिजो कायम रहेको ५ विकास क्षेत्रलाई प्रदेश बनाउनुपर्छ भन्ने पक्षको मान्छे हुँ । अहिले जे भएपनि सहमतिमा ७ प्रदेश बनिसकेको छ । यसलाई अब प्रयोग गर्नुपर्छ । तर यहाँ त जुत्ता किनेर नलगाईकन यो जुत्ता मलाई हुँदैन भनेर परिवर्तन गर्नुपर्छ भन्नु कुनै हालतमा राष्ट्रिय हिमतमा छैन् ।

भनेपछि अहिलेकै अवस्थामा प्रदेशको सिमा तलमाथि हुन सक्दैन ?

अहिले प्रदेशको सिमा तलमाथि हुनै सक्दैन । किनभने अहिलेको संविधानले पनि यो अनुमति दिँदैन् । त्यसको लागि प्रदेश सभा गठन गर्नुपर्छ । त्यसैले अहिले प्रदेश नम्बर ५ टुक्र्याउने कुरा भैरहेको छ, यो त राष्ट्रिय एकता र संविधानको प्रावधान विपरित छ ।

हिजोका दिनमा तपाईहरुले कानून र संविधान उल्लंघन गरेर धेरै कामहरु गरेको उदाहरणहरु छन्, तर अहिले आएर तपाईहरुले किन संविधानको कुरा गर्नुभयो ?

तीन वटा दलहरु मिल्दाखेरि हामीले संविधान नै बनाईयो नि । विगतको अन्तरिम संविधानलाई विस्थापित गर्नेगरि हामीले नयाँ संविधान नै निर्माण गरिसकेका छौं नि । तीन दल मिलेपछि एउटा भयानक शक्ति बन्छ । यही तीन शक्तिहरु मिल्दा हिजो ०६२/६३ को जनक्रान्ति सफल भयो । तीन शक्ति मिल्दा संविधान सभाको दुई वटा निर्वाचन भयो । संविधान घोषणा भयो । अब तीन शक्तिहरु मिल्दा संविधान कार्यान्वयन हुन्छ । तीन शक्ति मिलेनन भने संविधान कार्यान्व्यन हुँदैन ।

तपाईहरु अहिले संसद अवरुद्ध गरिरहनुभएको छ, अब कसरी निर्वाचनको वातावरण बनाउने ?

सरकारले सहमति बनाउनुपर्यो नि । उसले हामी यसरी निर्वाचनमा एकतावद्ध भएर जानुपर्छ भन्नुपर्यो । अहिले गलत ढंगले आएको प्रस्तावलाई जबरजस्ती पारित गर्ने जोरजमात गरिरहेको छ, त्यसलाई अर्थात यो प्रयत्नलाई पनि विदेशबाट पनि हावा दिने कामहरु जो भैरहेका छन्, यो कुरासँग हाम्रो आपत्ति छ । यो चाहीँ हामी कुनै हालतमा हुन दिन्नौं । तर संविधान कार्यान्वयनको निम्ति हातमा हात मिलाएर सहयोग गर्ने कुरामा एमाले हरदम तयार छ । देशको स्वतन्त्र, स्वाभिमानमा आँच आउने कुरामा एमालेले सहयोग गर्दैन् ।

एमालेले अब कहिलेसम्म संसद अवरुद्ध गरिरहन्छ ?

सरकारले संशोधन प्रस्ताव फिर्ता नगरेसम्म हामी संसद चल्न दिँदैनौं ।
तर प्रधानमन्त्रीले दुई तिहाईको अंकगणित मसँग छ, प्रस्ताव पारित हुन्छ भन्नुभएको छ नि ?
हामीले देखिसक्यौं । उहाँका खुट्टी हेर्दै पत्याईसक्यौं । उहाँसँग दुई तिहाई छ कि छैन भन्ने कुरा हामीले देखिसक्यौं । त्यसैले उहाँले दुई तिहाईको धम्की नदेखाए हुन्छ । हामी यो प्रस्तावलाई संसदबाट पारित गर्नै दिँदैनौं । प्रस्ताव फिर्ता लानुपर्छ । यो पारित हुनै सक्दैन् ।

तर मधेशको समस्या समाधान गर्नको लागि पनि सशोधन आवश्यक छ नि ?

ठिक छ । हामी सम्वादको लागि तयार छौं । बसेर छलफल गर्न हरदम तयार नै छौं नि । तपाईहरुको कुरा हामी सून्छौं भनेर मधेशी मोर्चाका नेताहरुलाई भनिरहेका छौं । तर तपाईहरु किन ईण्डियन एम्बेसीमा गएर तन्त्रमन्त्र लिने काम गर्नुहुन्छ ? त्यसको आधारमा नचल्नुहोस् । आफ्नै देशका नेताहरुसँग बसेर छलफल गर्नुहोस् न । अब यो प्रवृत्ति छोडौं ।

अब एमालेले संघीयतालाई थाती राखेर संविधान कार्यान्वयनको लागि अगाडि बढ्न सक्छ कि सक्दैन ?

यो प्रश्न एकदमै विचारनीय छ । तर एमाले अहिले नै संघीयता थाँती राखेर बढ्ने पक्षमा छैन । तर संघीयताको विषयले शंका पैदा गरेको छ ।

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan