Saturday 18th of November | २०७४ मङ्सिर २ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

१६ वटा हिमाल देखिने ‘गुफाको डिल’ पर्यटकको पर्खाइमा

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष ८ शुक्रबार
newsabhiyan
newsabhiyan

काठमाण्डौ, ८ पुस । संसारकै सातौँ अग्लो धौलागिरि हिमाललगायत १६ वटा हिमशृङ्खला र ३७ गाविस देखिने पर्यटकीय एवम् रमणीयस्थल ‘गुफाको डिल’ पर्यटकको पर्खाइमा छ ।

म्याग्दीको बेनी नगरपालिका–१२ गाजनेमा अवस्थित ऐतिहासिक महत्वको जगन्नाथ मन्दिरनजिकै पर्ने सो डिल धार्मिक तथा पर्यटकीय आकर्षणका रुपमा रहेको हो ।

जगन्नाथ मन्दिर दर्शन एवम् पूजाआजाका लागि पुग्ने जो कोही पनि एकैछिन भनेर गुफाको डिलमा पुग्ने गरेका छन् ।

बेनीको शिरमा रहेको गुफाको डिलबाट नेपालकै दोस्रो अग्लो हिमशृङ्खला धौलागिरिसहित अन्नपूर्ण, माछापुच्छ«े, निलगिरि, मानापाथी, गुर्जा, गणेश हिमाललगायतका १६ वटा हिमशृङ्खलाको प्रत्यक्ष अवलोकन गर्न पाइन्छ । धौलागिरि हिमालमा मात्रै छवटा चुचुरा छन् । त्यहाँ पुग्दा आफ्नो आँखै अगाडि देखिने सेताम्मे हिमालको आकर्षणले पर्यटक तान्न आतुर रहेको आभास हुने पत्रकार प्रताप बानियाँ बताउनुहुन्छ ।

गुफाको डिलबाट हिमालमात्रै होइन म्याग्दीका ४१ वटा गाविसमध्ये ३७ वटा गाविस हेर्न सकिने स्थानीय यामबहादुर बानियाँको भनाइ छ । यसैगरी पर्वतको उत्तरी भूभाग, बागलुङ जिल्लाको केही भाग र अन्य जिल्लाको डाँडाकाँडासमेत गुफाको डिलबाट देखिन्छ ।
म्याग्दी सदरमुकाम बेनीबाट पैदल हिँडेर तीन घन्टा र गाडीमा डेढ घन्टाको समयमा पुगिने गुफाको डिल समुद्री सतहदेखि दुई हजार एक सय मिटरको उचाइमा अवस्थित छ । सो डिलमा दुईवटा हेलिकप्टर अवतरण गर्न मिल्ने ठाउँ पनि छ । उक्त ठाउँबाट सेताम्मे हिमाल र राताम्मे लालीगुराँसका वनजङ्गल देख्न पाइन्छ ।

जगन्नाथ मन्दिरदेखि पाँच मिनेटको दूरीमा रहेको गुफा डिलको प्रचारप्रसार तथा भौतिक पूर्वाधारको विकास गर्न सकेमा स्वदेशी र विदेशी पर्यटक भित्र्याउन सकिने जगन्नाथ आधारभूत विद्यालयका प्रधानाध्यापक नीलकण्ठ शर्माले बताउनुहुन्छ। प्रसिद्ध गलेश्वर मन्दिर, पौलस्त्य पुलहाश्रम र जगन्नाथ हुँदै पर्यटकीय क्षेत्र टोड्के जोड्ने पदयात्रा निर्माण गर्न सकेमा पनि पयर्टकको ओइरो लाग्ने उहाँको भनाइ छ ।

सन् १५६० मा तत्कालीन राजा दिलीपबम मल्लले भारतको उडिसा राज्यबाट जगन्नाथको मूर्ति ल्याएर मन्दिर स्थापना गरेकाले गाजने गाउँमा मदिरा उत्पादन र कुखुरापालन गर्न निषेध गरिएको किम्बदन्ती छ । मन्दिरको यस्तैखाले विशेषताका कारण पनि जगन्नाथ दर्शन र गाजने गाउँ तथा गुफा डिल हेर्न मानिस पुग्ने गरेका छन् । रासस


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan