Saturday 18th of November | २०७४ मङ्सिर २ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

साहित्यले समाज रुपान्तरण गर्न सक्नुपर्दछ – देवेन्द्र पौडेल

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष १३ बुधबार
newsabhiyan
newsabhiyan

आफ्नो सिङगो जीवनलाई राजनीतिमा सर्मपित गर्नुभएको व्यक्तित्व हुनुहुन्छ देवेन्द्र पौडेल । विभिन्न आरोह, अवरोह, काल र घुम्तिहरुको मोडबाट राजनीतिक जीवनको शुभारम्भ गर्नुभएको उहाँ बाग्लुङमा जन्मिनु भएको हो ।

स्कुले जीवनदेखि नै राजनीतिमा सक्रिय रुपले लाग्नु भएको उहाँ माओवादी कालमा भुमिगत भएर लाग्नु भएको थियो भने तत्कालिन माओवादीको नेतृत्वदायि भुमिकामा रहनुभएको थियो ।

हाल पुरानो राजनीतिक सिद्धान्त, विचारले समाज रुपान्तरण हुन नसक्ने निष्कर्षका साथ नयाँ शक्ति पार्टी खोलेर सक्रिय रुपमा लाग्नु भएको उहाँ हाल नयाँ शक्ति पार्टी नेपालको संगठन विभाग प्रमुख हुनुहुन्छ ।

उहाँले नेपाली साहित्यको क्षेत्रमा पनि कलम चलाउनु भएको छ । ‘उन्यू फुलेन कार्की नेटामा’ र ‘लालिगुराँसका गीतहरु’ लगायत चर्चित कविता संग्रह लगायत केही पुस्तक पनि प्रकाशित गरिसक्नु भएको उहाँले विभिन्न समयमा विभिन्न पत्रपत्रिका तथा अनलाईनहरुमा साहित्यिक लेख, रचना तथा राजनीतिक लेखहरु लेखिरहनु हुन्छ । उहाँसँग उहाँको साहित्य तथा लेखनीको सन्दर्भमा पत्रकार तथा कलाकर्मी विक्रम रत्नले गरेको कुराकानी यहाँहरु समक्ष राखेका छौं :

लेखन यात्रा कस्तो हुदैँछ ?
मैले १०÷१२ वटा जति किताब लेखें हालसम्म । अहिले समय अलि कमै भएकाले कहिले काहीँ आर्टिकलहरु लेख्दैछु । पार्टी भित्रको विधान प्रतिवेदन बनाउने क्रममा बढी व्यस्त भए बिचमा । तर सोचिरहेको छु कि केहि साहित्यिक र राजनीतिक लेखलाई नि समय दिएर अगाडी बढ्ने विचार गरिरहेको छु ।

साहित्य के हो ?
साहित्य भनेको जिवनको रस, रङग, उमंग र आनन्दानुभूति हो । खासगरी मान्छेको जीवनमा व्यक्त हुने कलात्मक विम्ब, व्यङगात्मक शैली वा फरक प्रकारले प्रकट गरिने जीवनको विम्ब हो जस्तो लाग्छ ।

कुन–कुन विषयमा कलम चलाउनु भयो ?
मैले खासगरी त राजनीतिक विषय वस्तुलाई नै समेटेर कलम चलाएको छु । त्यसको साथ साथै राजनीति भित्र पनि दर्शनको विषय मेरो रुचीको विषय हो । त्योसँग सम्बन्धित रहेर स्कुलिङ गर्ने, आर्टिकलहरु लेख्ने गर्थे । विगतमा आन्दोलनको चापका कारण कतिपय लेखोटलाई चाहेर पनि संरक्षण गर्न र प्रकाशन गर्न सकिएन । तर जे जति प्राप्त थिए तिनलाई पछिल्लो स्थितिमा प्रकाशन गरेको धेरै जसो राजनीति र दर्शनकै विषय लेखनमा व्यक्त भएका छन् ।

राजनीति र साहित्य बिचको फरक ?
राजनीतिक नितान्त सिष्टममा नगईसकेको हुनाले एउटा अव्यवस्थाको विम्बको रुपमा यो जीवनमा व्यक्त भएको रुपमा बुझेको छु । तपाईहरु जस्तो युवाहरुले समयलाई ठिक ढंगले व्यवस्थापन गरेर अगाडी बढ्न सक्नुभएन भने अरु चिजले पर्खेर बस्ला तर समयले पर्खेर बस्दैन । समय घर्की सकेपछि फेरी त्यहि समय रिपिट हुँदैन ।

हामीले हिजोको जीवनको सबै समिक्षा गर्दा खेरी समयको व्यवस्थापन मिलाउन नसक्नु विशेषतः राजनीतिक, सामाजिक, सांगठनिक कामको सक्रियता र लेखनको निरन्तरता सँगै लैजान सकिएन भने एउटा कडी टुटेछ । तर ति दुवैलाई सँगै लैजानु पर्छ ।

यद्यपि कुन समयमा कुन प्रधान भन्नेकुरा त होला तर दुवैलाई सँगै लैजान सकियो भने एउटा सौन्दर्य चेत सहितको राजनीति अथवा साहित्य सहितको राजनीति अथवा राजनीति सहितको साहित्य यी दुवै कुरालाई सँगै लैजान सकियो भने जीवनको सार्थकता हुन्छ जस्तो लाग्छ ।

राजनीति गर्ने व्यक्तिले लेख्ने साहित्यमा राजनीतिक चेतना झल्किनै पर्छ भन्ने छ र ?
यसमा खासगरी दुईवटा प्रवृतिहरु देखा पर्दछन् । एउटा साहित्यमा त्यसलाई स्वच्छन्दतावाद पनि भनिन्छ । यसको समालोचनाको शब्दावली प्रयोग गर्दा खेरी । कुनै प्रकृतिको कुनै सुन्दरताको जस्तो छ त्यस्तै वर्णन गर्ने । कलात्मक रुपमा साहित्यिक शब्दावलीहरु प्रयोग गरेर वर्णन गर्ने एउटा विधि हुन्छ । 

जस्तो कुनै डाँडो र कुनै ताल छ, कुनै नदी छ भनिदेखि त्यसको व्याख्या गर्ने त्यो पनि साहित्य हुन्छ । तर त्यसले मानविय जीवनमा हामीले भन्न, गर्न र दिन खोजेको चेतनाको पक्ष त्यसले व्यक्त गरेन खालि साहित्य र साहित्यको कलाको रुपमा मात्र त्यसले व्यक्त गर्छ ।

त्यसकारणले वर्तमानको यथार्थता, भविष्यको मुल्यांकन सहितको एउटा दिशाबोध भएन भने मानिसलाई त्यो सिर्जना भएको कृतिले के चिजको दिशाबोध गर्यो त भन्नेकुरा त्यत्तिकै हराएर जान्छ । त्यसो भएको हुँदा दुवै कुराको तादाम्यता मिलाउन सक्नुपर्छ ।

त्यहाँ साहित्यमा कला पनि हुनुपर्यो त्यसमा साहित्यिक विम्ब पनि हुनु पर्यो । त्यसका साथै सहि रुपको दिशा बोध पनि हुनुपर्यो । त्यसरी संयोजन गर्न सकियो भने राम्रो हुन्छ । तर अब राजनीति गर्नेहरुले धेरैजसो निश्चित उद्देश्य, निश्चित दर्शन, लक्ष्य रहेको हुन्छ । त्यसपट्टी चाहिँ प्रशिक्षित भएर आफ्नो कुराहरु लेख्ने भन्ने अभिव्यक्त गर्ने गर्छन् ।

राजनीतिक पृष्ठभूमिका लेखकहरुले लेखेको किताबले ठुला पुरस्कार पाएका छैनन् । उहाँहरुले साहित्यिक मनले मागेको कुरा दिन नसक्नु भएको हो ? आफ्नो लेखनलाई साहित्यकै रुपमा स्थापित गराउन नसक्नुभएको हो ?
नेपालको सन्दर्भमा अलिकति पहिले बरु यो  सामाजिक सञ्जाल, सञ्चारका साधनको विकास हुनुभन्दा पहिला साहित्य, कला, सिर्जनामा राजनीतिक व्यक्तित्वहरु बढी नै सक्रिय भएको पाईन्थ्यो । उदाहरणका लागि वि.पि.कोईराला ।

सायद आजभोलि वि.पि.कोईराला हुनुभएको भए उहाँको दुवै कुरा (राजनीति र साहित्य) अभिव्यक्ति हुने थिएन होला । आजको सुचना र सञ्चारको विकासको प्रभावले त्यतिधेरै कृतिलेख्न सक्नुहुने थिएन । त्यतिबेला मान्छेलाई भेट्नको लागि कुनै समय निकाले टाढा जानुपर्ने भएकाले अलिकति बचेको समयमा साहित्यमा हातहाल्ने प्रचलन थियो त्यतिबेला ।

पछिल्लो स्थितिमा, सूचना सञ्चारको विकास छ र हरेक मान्छेसँग जोडिई रहने, सम्पर्क भईरहने, राजनीतिमा धेरै छलफल बैठकले गर्दा समय निकाल्न नसक्नु र कुनै कृति निकाल्न नसक्नको लागि समयावधिको अभावको कारण अध्ययन, अनुसन्धान र लेखन गर्न नसक्नु, मेहनत, व्यवस्थापन गर्न नसक्नुले आशातित रुपमा राजनीतिक वृतका व्यक्तित्वहरुले प्रभावकारी साहित्यको सिर्जन ागर्न नसकेको कुरा साचोँ हो । आजको देशको परिस्थितिले राजनीतिक व्यक्तित्वलाई निकै व्यस्त बनाईराखेको छ ।

साहित्यमा जीवन, जगत माया, प्रेम नलेखिए किन लेख्ने त साहित्य ? राजनीति गर्नेहरुले प्रेम बारे लेखे विवादास्पद भईन्छ अथवा नेता हुनुको गरिमा घट्छ भनेर हो ?
किन लेख्ने भन्ने प्रश्न नै होईन । समालोचक वा समाजले कस्तो लेख्यो भनेर टिप्पणी गर्छ कि भनेर कसैले सोँच्ने हो भने कुनैपनि कृति वा आलेख बन्दै बन्दैन । किनभने त्यो लेख्नेले लेखिरहने हो समालोचना गर्नेले समालोचना गरिरहने हो । त्यसको सकारात्मक÷नकारात्मक दुवैकुराहरु हुन्छन ।

तर लेख्नेकुराहरुलाई प्रेरित र प्रोत्साहन गरिरहनुपर्छ । खासगरि साहित्यको क्षेत्रमा लागेको मान्छेहरुको चाहीँ अपेक्षित सम्मान नभएको, एकाध व्यक्ति विशेष जसले राम्रो कृति लेखेर चर्चा परिचर्चा भयो भने तिनको नाम चल्ने कहिँ न कहिँ उपस्थिति हुने तर निरन्तर लेखिरहने जसले निकै चर्चा परिचर्चा बटुल्न सकेन भने  उनिहरुको महत्व नै नगर्ने ।

स्थापित हुन सकेन भने यसले यता लागेर के पायो र भनेर खिसीट्यूरी गर्ने । यसले के पायो र भनेर भन्नेहरु नि छन् । जुनखालको उपभोक्तावादी समाज छ यहाँ जीवनमा स्वार्थ अथवा लोभको लागि, पद, पैसा प्राप्तिको निम्ति मात्र पछि लाग्नेहरु पनि हाम्रो समाजमा छन् ।

लेखन कार्यमा अर्थोपार्जन भएन भनेर यो क्षेत्रै छाडेर अन्तै लाग्नेहरु पनि छन् । तर राजनीति गर्नेहरुले प्रेम बारे लेखे विवादित होईन्छ भन्ने होईन । लेख्छन नि । मेरो भनाई समाजलाई सकारात्मक दिशा दिनुपर्दछ भन्ने हो, जसरी जुन बिट समातेर लेखे पनि । साहित्य भनेको माया प्रेम मात्र पनि होईन । र यसबारे राजनीति गर्नेहरुले लेखे भने गरिमा घट्ला कि भनेर डराउने पनि होईन । साहित्य खुला हुनुपर्छ नै तर समाजलाई सकारात्मक बाटोमा हिडाउने खालको खुला ।

तपाईलाई सबैभन्दा मन पर्ने विधा ?
मलाई सबैभन्दा बढी मनपर्ने विधा उपन्यास हो । मैले निकै उपन्यास नि पढेको छु । उपन्यासहरु खासगरी समाजका चित्रण गरेका, भविष्यमा के गर्नुपर्छ भनेर साहित्यिक बोध भएका कृतिहरु मलाई बढी मनपर्छ । जस्तो उदाहरणका लागि मैले चार पटक पढेँ म्याक्सिम गोर्कीको आमा उपन्यास ।

जतिबेला संकट पर्छ । जीवनमा अप्ठ्यारो भएको महसुस हुन्छ । राजनीतिक जीवनमा हिड्दाखेरी त्यतिबेलाचाहिँ समय मिलाएर विहान बेलुकि मैले त्यसप्रकारको उपन्यासहरु पढ्ने गर्छु ।

साहित्य-लेखनीमा चाहिँ कसको प्रेरणाले ?
कसको प्रेरणाले भन्दापनि खासगरी विभिन्न कृतिहरु पढेर अध्ययन गरेर लागेको हुँ । म विद्यार्थी हुदाँ तत्कालिन समयमा स्नातक गरेकाहरुलाई रुस, चिन, भियतनाम, कोरिया आदि दुताबासबाटै किताबहरु दिने प्रचलन थियो । घरमा दाईहरुले किताब ठूलो संख्यामा जम्मा गर्नु भएको थियो ।

ती किताबहरु हेर्दै जादाँ साहित्य, कला, सिर्जनामा रुची बढ्दै गएको हो । र पछि खगेन्द्र संग्रौलाहरु सित संगत भयो । उहाँ बढी उल्था गर्ने र अलि टर्रो ठर्रो नेपाली भाषाको प्रयोग गर्ने हुदाँखेरी उहाँको आर्टिकलहरुले भाषाको विकासको लागि अलिकति प्रेरणा दियो । र पछि पछि थुप्रै साहित्यकारहरु पनि आएँ । सबै अध्ययन गर्न त मैले पाएको छैन तर बढीजसो मलाई मनपर्ने सेक्सपियर, मेक्सिम गोर्कीहरु नै हुन ।

कसरी प्रवेश भयो साहित्यमा तापाईको ?
मुनामदन पढिसकेपछि मैले स्कुले जिवनमै ९ कक्षामा पढ्दा त्यस्तै प्रकारको उत्पीडन सँग सम्बन्धित भएर एउटा कृति बनाएको थिँए । यद्यपि त्यो प्रकाशित गर्न मैले पाईन । विभिन्न साहित्यिक कार्यक्रमहरुमा प्रथम भएर जिल्लामा छनौट पनि भएको थिँए । खासगरी कविताबाट शुरु गरेर उपन्यासहरु पनि लेखे तर त्यसलाई प्रकाशित गर्न सकिएन । त्यतिखेर हामी छुट्टै प्रकारको राजनीतिक आन्दोलनमा पनि थियौ ।

अहिले नेपालमा लेखनको ट्रेन्ड कस्तो देख्नुहुन्छ ?
पछिल्लो समयमा चर्चा परिचर्चा बटुल्न सफल केही कृतिहरु त छन । तर जसरी बिसौँ शाताब्दीको पूर्वाध तिर विकास भएको कृतिहरु चाहेँ पूर्विय हुन चाहेँ पश्चिमा हुन तिनिहरुको अध्ययन गरिसकेपछि त्यसले एउटा दिशाबोध गर्छ ।

पछिल्लो ट्रेन्ड हेर्ने हो भने त्यहाँ कलाको व्यक्तता छ नै तर त्यसले समाजलाई दिशाबोध कम गरेको पाईन्छ । कलाको प्रस्तुति त छ,तर त्यसले कता लैजाने त समाजलाई ? भन्नेकुरा भित्रि रुपले अथवा सारले व्यक्त गर्न नखोजेको पाईन्छ । त्यसलाई सुधार्नुपर्छ र सामाजिक चेतना बोक्नेखालको लेख्नुपर्छ साहित्य ।

अबको योजना ?
अस्ति मेट्रो एफ.एम.ले एउटा साहित्यिक कार्यक्रममा बोलाएर मलाई एउटा ठुलो झस्का दियो । यो यात्रामा अझै सक्रियता दिन कम भएको महशुस भएको छ । बेला बेला त्यस्ता साथि भेट्दा पनि अझै समय छुट्याएरै सक्रियता दिनुपर्छ भन्ने महशुस हुन्छ । समयले साथ दियो र समयको व्यवस्थापन गर्न सकेँ भने छिट्टै नै एकदुई ओटा कृति तयार गर्ने सोँच त बनाएको छु ।

राजनीति र साहित्यमा बरोबरी सक्रिय युवाले आजको समयमा कुन सन्दभए समात्यो भने सफल र उत्कृष्ट होला ?
युवाहरु आशावादी हुनुपर्यो । आफ्नो देशप्रति आफ्नो कर्म प्रति आफुले जिवनभरी गर्ने साधनाको सार्थकता प्रति । निष्पट्ट अध्यारोमा हिँडेको जस्तो गर्नुभएन । आजका युवा कुनै पनि काममा बढी लगावका साथ मेहनत नगर्ने ट्रेन्ड बढेर गएको पाईन्छ ।

विभिन्न सूचना प्रविधिको सहि सदुपयोग गर्दै अध्ययन, अनुसन्धान, चिन्तन, खोज गर्दै अगाडी बढ्नु पर्यो । देश प्रतिको माया र वर्तमानको यथार्थताको विम्ब जस्ताको त्यस्तै पारेर लेख्नुपर्यो । र भविष्यको बारेमा पनि देश कस्तो बनाउने ? समाजलाई कतातिर डोर्याउने भन्नेकुरा स्पष्ट लेख्नुपर्छ कलात्मकताको प्रयोग त साहित्यमा भई नै हाल्छ ।  यसरी अगाडी बढ्ने हो भने पक्कै पनि साहित्य र राजनीतिमा बराबरी भुमिका पाउँन सक्छ ।

 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan