साहित्यकार कमलमणि दीक्षितको निधन

काठमाडौं ,१४ पुस । साहित्यकार कमलमणि दीक्षितको निधन भएको छ । ८६ वर्षको उमेरमा बिहीबार बिहान आफ्नै निवास ललितपुरको पाटनढोकामा उनको निधन भएको हो ।
श्वासप्रश्वासको समस्याबाट पीडित उनको ललितपुरको बीएन्डबी अस्पतालमा उपचार भइरहेकोमा उपचारकै क्रममा बिहान दुई बजेर ४५ मिनेटमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
तीन महिनायता फोक्सोको क्यान्सरबाट पीडित उनलाई गाह्रो भएपछि गत सोमबार अस्पताल लगिएको थियो । उनको आज बिहान ७ बजे पशुपति आर्यघाटमा दाहसंस्कार गरिने जनाएको छ ।
१९८६ भदौ कुशे औंशीमा काठमाडौंको गैरीधारामा जन्मिएका उनी ललितपुरको पाटनढोकास्थित निवासमा बस्दै आएका थिए । दीक्षितका आफ्ना सिर्जना र सम्पादित पुस्तक गरी ७५ भन्दा बढी कृति प्रकाशित छन् ।
विशेष गरेर साहित्यिक अनुसन्धानमा चाख राख्ने उनका ‘यस्तो पनि’, ‘कालो अक्षर’, ‘कागतीको सिरप’, ‘चार कन्था’, ‘शाखा सन्तान’ लगायत कृति उल्लेख्य छन् ।
छोराहरु कुन्द दीक्षित र कनकमणि दीक्षित तथा छोरी रूपा जोशी पत्रकारितामा क्रियाशील छन् ।