Saturday 29th of April | २०७४ बैशाख १६ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

'आत्महत्या'

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष १६ शनिबार
newsabhiyan
newsabhiyan

दीपेन्द्र चन्द ठकुरी-

अन्तिम पटक उस्लाई म्यासेज पठाएँ,"आजबाट म कहिल्यै तिमीलाई सताउने छैन । सधैँ खुशी हुनु तिमी । तिमीले जित्यौ अनि मैले हारेँ ।"

आँखाबाट आँशुका धारा बग्दै थिए । मुटु पोलिरहेको थियो । पलङको छेउमा उस्ले चिनो दिएको ढाकाको गलबन्दी थियो । मैले त्यसलाई तानेर धेरैबेरसम्म नियालिरहेँ ।

ओठमा लगेँ अनि चुम्बन गरेँ । मलाई झनै गाह्रो भएर आयो । उस्ले त्यो गलबन्दी उपहार दिँदाखेरिको पल आँखामा नाच्न थाल्यो । मलाई असह्य भएर आयो । म पलङबाट उठेँ अनि छेउमा रहेको प्लास्टिकको कुर्सी तानेर बीचमा ल्याएँ । हातमा गलबन्दी लिएर म कुर्सीमाथि उभिएँ । गलबन्दीको कुनापट्टिबाट एक सर्को घाँटीमा बेरेँ, अनि घाँठो पारेँ ।

गलबन्दीको अर्को कुनो तन्काएर माथि पंखामा बाँध्न खोजेँ । पंखा अलिक माथि भएको कारण मैले सजिलै भेट्न सकिन । खुट्टाका औंलाले मात्र कुर्सीमा टेकेर केही तन्किएपछि बल्ल पंखामा गलबन्दीको फेरो हाल्न पुगेँ । अफ्ठेरो गरी बल्लतल्ल पंखामा गलबन्दी बाँधिसकेपछि सोचें, "अब उस्लाई थाहा हुनेछ, म कति धेरै माया गर्थें उस्लाई भनेर । ऊ पछुताउने छे, मलाई यसरी धोका दिएकोमा ।"

मैले लामो सास फेरेँ अनि खुट्टाले बल गरेर कुर्सीलाई ठेलिदिएँ । कुर्सी भुइँमा लड्यो । म तर्लङ्ग गलबन्दीमा झुन्डिएँ । घाँटीमा जोडले गलबन्दी कसियो । म केहीबेर छटपटाएँ अनि बिस्तारै शान्त भएँ । मेरा आँखा बन्द भए । मेरो अगाडि अन्धकार अनि शून्यता छायो ।

मलाई होस् आयो । आँखा खोलेर हेर्दा म चकित भएँ ।

यस्तो कसरी हुन सक्छ ? म कसरी जीवित छु अँझै ? म डोरीमा तुर्लुङ्ग झुन्डिएको छु । तर पनि म कसरी अँझै मरेको छैन ? अहँ यस्तो हुनै सक्दैन । घाँटीमा पासो लगाएर झुन्डिएको मान्छे कसरी जीवित हुन सक्छ ? मसँग प्रश्न नै प्रश्न थिए तर जवाफ एउटै थिएन । कदापि हुनै नसक्ने कुरा भएको थियो । मैले घाँटीमा कसिएको गलबन्दी फुकाएँ अनि पलङमा गएर बसेँ । म यो आश्चर्य हुनुको जवाफ खोज्दै थिएँ । त्यति नै खेर मेरा नजर पंखा भएतिर पुगे । म झनै चकित भएँ । अर्को ठूलो झट्का लाग्यो मलाई । चक्कर आउला झैँ भएर आयो । पंखामा गलबन्दी झुन्डिएको थियो अनि गलबन्दीमा म पनि तुर्लुङ्ग झुन्डी राखेको थिएँ । म आत्तिदैँ पलङबाट उठेँ अनि झुन्डिएको मेरो आफ्नै शरिरलाई समाउन खोजे । तर अहँ मैले आफ्नो शरिरलाई छुन पनि सकिन । मेरा हातहरू मात्र हावामा सलबलाए । यो के हुंदैछ ? म आफ्नो शरीर झुन्डिएको देख्दैछु तर म त्यसलाई छुन पनि सक्दिन ।

कस्तो अचम्म ? म हार खाएर फेरि पलङमा बसें अनि सोच्न थाले । सुनेको थिएँ, आत्मा र शरीर अलग कुरा हुन् । भौतिक शरीर मर्दैमा आत्मा मर्दैन र मृत शरीरसँग आत्माको मिलन हुन पनि सक्दैन । अब भने मैले केही बुझें झैं लाग्यो । जीवित मात्र मेरो आत्मा थियो । मेरो शरीर त मरिसकेको थियो ।

म आत्मा मात्र थिएँ । सोच्दा सोच्दै बाहिरबाट आवाज आयो । "बाबु ... ए बाबु ... यति बेलासम्म किन उठ्दैनस् आज ?"

आवाज आमाको थियो ।

म आत्तिदैँ कराएँ "आमा ... यहाँ आउनू न ... ।"

केहीबेर आमाको आवाज आएन । फेरि केहीबेर पछि आमाले ढोकै बाहिरबाट कराउनुभयो " हैन किन सुन्दैनस् हँ ? उठ् भनेको छिटो ।"

म उस्तै आत्तिँदैं रुँदै बोलेँ, "आमा हौ ... सुन्नु न ... ।"

आमाले ढोका ठेल्दै कराउनुभयो, "हैन बोल्दा पनि बोल्दैन त ... ।"

ठुलो झट्काले ढोका खोल्ने बित्तिकै आमा आत्तिनुभयो ।

आत्तिएर ठूलो आवाजमा कराउनुभयो "बाबु ... ए बाबु ... ।"

आमा मेरो झुन्डिएको शरिरलाई पकडेर पागल झैँ चिच्याउदै रुन थाल्नुभयो । बाहिरबाट बुबाको आवाज आयो "हैन के भयो हँ.. ?"

आमाले उस्तै रुँदै चिच्याउनुभयो "यहाँ हेर्नू न ... बाबु हौ ...
बाबु ।"

बुबा दगुर्दै कोठामा आउनुभयो । मेरो शरिर पकडेर उभिनु भएकि आमा रुँदै भुइँमा ढल्नुभयो । आमाको आवाज मधुरो भयो । बुबाले आत्तिदै मेरो शरीर पकडेर चिच्याउनुभयो "बाबु ... यो तैले के गरिस् छोरा ... ?"

बाहिरबाट छिमेकीहरू "हैन के भयो" भन्दै कोठामा पस्न थाले । सबै चकित भए । आमा बुबासँगै धेरै जनाको रुवाइ अनि चिच्याहटले कोठा शोकाकुल भयो । म भुइँमा ढलेकी आमा भए ठाउँमा गएर उठाउन खोजेँ, तर अहँ मैले आमालाई छुन सकिन । मैले कराएँ "आमा ... ।" मेरो आवाज कसैले सुनेन । मैले बुझेँ अब म बोल्नु ब्यर्थ छ । मलाई कसैले देख्न अनि सुन्न सक्दैन ।

म त मरिसकेको छु । म हार खाएर फेरि पलङमा नै थ्याच्च बसेँ ।

आमाको फेरि आवाज आयो "ए मेरा छोरा ... किन यस्तो गरिस् बाबु ? हामीले माया गरेनौं तंलाई ? ... मलाई पहिले मारेको भए हुन्थ्यो नि बाबु ।" चिच्याउदा चिच्याउदै आमाको आवाज सुकेर फेरि लड्नुभयो । छिमेकी काकिले छेउको जगको पानी टाउकोमा छेप्दै आमालाई काखमा राख्नुभयो । बुबा पनि रुंदा रुँदै लड्न खोज्नुभयो ।

छिमेकीहरूले बुबालाई सम्हाल्दै पलङमा बसाए । बुबाले रुँदै भन्नुभयो "के दशा लाग्यो यो ... छोरो ज्ञानी छ जस्तो लाग्थ्यो ... कति सपना देखेकों थिएँ ।" बुबा भक्कानो छोडेर रुन थाल्नुभयो । मैले कहिल्यै मेरो बुबा रोएको देखेको थिएन । बुबा सधैँ कडक देखिनु हुन्थ्यो । ठूलो स्वरमा बोल्नु हुन्थ्यो । बुबाले फेरि भक्कानो छोडेर रुँदै भन्नुभयो, "हामीले के गरेको थिएन बाबु तेरो लागि ? हामीलाई केको सजाय दिएको यस्तो ?"

हुन पनि हो, मेरा बा'आमाले मेरा लागि सबथोक गर्नुभएको थियो । आफ्नो हैसियतभन्दा धेरै गर्नुभएको थियो । सहरकै राम्रो कलेजमा पढाउनु भएको थियो ।

कहिले कुनै कुराको अभाव हुन दिनु भएको थिएन । बुबाले आफ्नो सन्चय कोष रित्याएर मेरो लागि मोटरसाइकल किनुदिनु भएको थियो । आमाले आफ्नो गहना बेचेर मेरो लागि ल्यापटप किन्ने पैसा दिनु भएको थियो । मेरा लागि ज्यान दिने मेरा बुबाआमालाई बिर्सिएर मैले केही महिनाको प्रेमको लागि ज्यान दिएको थिए । मलाई आफै देखि धिक्कार लागेर आयो । म भक्कानो छोडेर रुन थालेँ । तर मेरो रुवाइ कसैले सुनेन अनि वास्ता गरेन । घरमा कोलाहल छाएको थियो । मान्छेहरू खचाखच भरिएका थिए ।

कोठामा प्रहरी प्रवेश गरे । मान्छेहरूले बाटो छोडिदिए ।

प्रहरीले सबैलाई कोठा बाहिर निस्किनभने । छिमेकीहरू बाहिर निस्किए । प्रहरीले मेरो शरिरको तस्वीर लिए, कोठाको तस्वीर लिए अनि गलबन्दी काटेर मेरो शरिरलाई भुइँमा झारे । आमाले चिच्याएर रुँदै मलाई अंगालो हाल्न खोज्नुभयो । तर प्रहरीले दिएनन् । आमाले रुँदै भन्नुभयो "मलाई पनि कसैले बीष ल्याइ देउन ... म पनि जान्छु बाबुसँगै ।"

मैले मेरा बुबाआमा रोएको सुन्नै सकिन । म रन्थानिएर बाहिर निस्किएँ । घर बाहिर मान्छेको भीड थियो । कोही आँसु पुछ्दै थिए त कोही खासखुस गर्दै थिए ।

कसैले बिस्तारै भन्यो "कस्तो हुतियारा रहेछ ... झुन्डेर मर्नेको त माया पनि लाग्दैन ।"

अर्कोले बोल्यो "केटीले धोका दिएर मरेको रे ।"

फेरि अर्को बोल्यो "यस्ता सन्तान त नजन्मिनु नि बरु ... हेर बाआमालाई ज्युदै मारेको ... बीचरा ।"

मैले सुन्न सकिन । म बाटो छेउतिर पुगेँ । त्यहाँ मेरा साथीहरू भेला भएर बसेका थिए । कोही रुँदै थिए त कोही बिस्तारै बोल्दै थिए । म नजिक गएँ । साथी रामेले बोल्यो "किन यस्तो गरेको होला यार त्यसले ?" बिक्किले आँसु पुछ्दै भन्यो "अस्ति देखि तनाबमा थियो तर यस्तो गर्छ भनेर त सोचेको पनि थिएन यार ।" सबिनले लामो सास फेरेर बिस्तारै बोल्यो, "कस्तो केटीको लागि ज्यान दियो यार ... जसका लागि ज्यान दियो त्यस्लाई त अलिकति पनि फरक परेको छैन ।"

रामेले उत्सुक हुँदै सोध्यो "संगीतालाई सुनाइस् ?"

सबिनले भन्यो "अगि फोन गरेको थिएँ ।"

बिक्किले सोध्यो "के भनि त ?"

सबिनले सुनायो "के भन्नू यार, मैले उस्लाई मर भनेको हैन, पो भन्छे । उस्को स्वरमा अलिकति पनि दुख थिएन यार ।"

सबिनले फेरि थप्दै भन्यो "मरेको खबरलेसम्म नपगाल्ने केटीको लागि के ज्यान दिएको होला ।"

मलाई रिंगटा लाग्ला जस्तो भयो । मेरो सास रोकिन खोज्यो । मैले जस्को प्रेममा मृत्यु रोजेको थिएँ उस्लाई मेरो मृत्यु खबरले कति पनि फरक परेनछ । मलाई मैले मृत्यु रोजेकोमा पछुतो लागेर आयो । प्रेममा पागल भएर मैले मेरा बुबाआमालाई नै बिर्सिएर यस्तो गलत कदम उठाएको थिएँ, तीनै बुबाआमाको भने सारा खुशी छिनिएको थियो । मैले केही महिनाको प्रेमको लागि वर्षौसम्मको प्रेमको हत्या गरेको थिएँ । जसले मलाई प्रेमको बदलामा प्रेम दिएन उस्को लागि मैले आफूलाइभन्दा बढी प्रेम गर्ने अनि मलाई संसार ठान्ने मेरा बुबाआमाको प्रेमलाई लात हानेको थिए । पासो म लागेको थिएँ तर मरेको मेरो सारा परिवार थियो । म रुँदै कोठा भित्र पसेँ । मेरा बाआमा अनि आफन्तहरू डाको छोडेर रोइ राखेका थिए । रुंदा रुँदै आमाको आवाज बिलिन हुन लागेको थियो । बुबाको पनि श्वर सुकिसकेको थियो ।

बुबाआमा दुवैजना अर्धचेत अवस्थमा हुनुहुन्थ्यो । मलाई असह्य भएर आयो । मलाई आमालाई बोलाउन मन लाग्यो ।

मैले कराएँ "ए आमा ... सुन्नून ... ।"

मेरो आवाज कसैले सुनेन । मैले झनै जोडले रुँदै कराएँ "ए आमा ... सुन्नून हौ ... ।"

म झल्यास्स ब्युझिएँ । सबै सपना रहेछ । मेरो शरीर पसिनाले भिजेको थियो । आँखाबाट आँसु बगेका थिए । सास स्याँ स्याँ भएको थियो । पल्लो कोठाबाट आमा बोल्नुभयो "के भयो बाबु, किन कराको ?"

मलाई रुन आयो । म रोइ दिएँ । आमा ढोका खोलेर मेरो नजिक आउनुभयो अनि सोध्नुभयो "के भयो ... ?"

मैले रुँदै आमालाई अंगालो हालेर बोलें "सपना ... ।"

आमाले मेरो टाउको सुमसुम्याउदै भन्नुभयो "नराम्रो सपना देख्दा रुन्छन् त ... यत्रो मान्छे भएर ?"

मैले केही जवाफ दिइन । आमाको काखमा टाउको राखेर सुतिदिएँ । केहीबेर पछि आमाले मेरो केस सुम्सुम्याउदै भन्नुभयो "कहिलेकाहीँ खराब सपना देखिन्छ ... अर्कैतिर सम्झेर सुत अब ।" यति भनेर आमा आफ्नो कोठातिर जानू भयो ।

मेरो धड्कन लगभग शान्त भइसकेको थियो । मैले मेरो सिरानिमा राखेको मोबाइल निकाले । ग्यालरी खोलेँ ।

मोबाइलको ग्यालरी लगभग उसैका तस्बिरहरूले भरिएको थियो । मैले सबै तस्वीर एकै पटक डिलिट गरिदिएँ ।

आमाबुबाको एउटा तस्वीर छानेर मोबाइको वालपेपर लगाएँ । उस्लाई गरेका सम्पूर्ण म्यासेज अनि उस्को नम्बर पनि डिलिट गरें । अनि मनमनै कसम खाएँ "म कहिल्यै यस्तो खराब कदम चाल्ने छैन । मलाई शंशार ठान्ने मेरा बुबाआमालाई कहिल्यै रुवाउने छैन । मेरा बाआमाले जति माया मलाई कसैले प्रेम गरेको छैन र गर्ने पनि छैन । उहांहरूको प्रेमलाई बिर्सिएर म अरु कसैको प्रेममा आफूलाई मार्ने छैन ।

न्यूज अभियानका लागि मझेरीबाट । 

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

ताजा भिडियो ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan