Thursday 27th of July | २०७४ श्रावण १२ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

‘मौनता’ ले चिरेको मौनता

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष १६ शनिबार
newsabhiyan
newsabhiyan

 सोमराज पोखरेल,

साहित्य के हो ? साहित्यले के दिन्छ ? सामान्य बुझाइमा साहित्य समाजको ऐना हो । साहित्यले सामाजिक चेतना दिन्छ । अवश्य । मानिस सामाजिक प्राणी भएसँगै उसले सिर्जना गर्ने रचनाले दिने सामाजिक सन्देश नै हो ।

साहित्यकार कम अनि होटल व्यवसायी बढी मानिने एक होनहार सुमन घिमिरेको उपन्यास ‘मौनता’ पढेपछि भने साहित्यले समस्या देखाउनेमात्र होइन समाधानको बाटो देखाउने काम पनि गर्दछ भन्न द्विविधा हुन्न । त्यसो त साहित्य प्रयोगवादमा निर्भर हुन्छ । जसले जति प्रयोग गर्न सक्यो त्यति नै बढी रचना उत्कृष्ट बन्छ । अझ भनौँ त्यतिबढी सामाजिक रङ्ग दिन सकिन्छ ।

हुनत उपन्यास लेखनमा ‘मौनता’ सुमनको ‘भर्जिन’ पुस्तक हो । उनले त्यो भर्जिनिटी लेखनभित्र निकै परिपक्वता देखाएका छन् । उनी सफलतम व्यावसायिक उपन्यासकारको कोटीमा पनि माथिल्लो श्रेणीमा पर्छन् । सबैको नजरमा एउटै समीक्षा हुन्छ भन्ने छैन । त्यो पाठकको रुचि र ‘मुड’ मा पनि भर पर्छ ।

साहित्य कस्तो हुनुपर्छ भन्ने ठ्याक्कै सूत्र छैन । चलचित्र जस्तै तुलना पनि गरिन्छ साहित्यलाई । कहिले कथावस्तु । कहिले हिरो । अर्थात् पात्र । यसैलाई सन्दर्भ बनाउने हो भने ‘मौनता’ अब्बल छ । खुराक राम्रो नहुँदा पनि कहिलेकाहिँ हिरोका कारण चलचित्र चल्न सक्ला । ‘मौनता’ को हकमा उपन्यासमा नयाँ भए पनि कविता लेखनमा सशक्त मानिने सुमन छाएका छन् । विषय नै राम्रो छ ।

के छ त उपन्यासमा ? कम्प्यूटर विज्ञानमा स्नातकोत्तर सुमनले उपन्यासमा आफूले पढेको विषयको भरपूर प्रयोग गरेका छन् । आधुनिक दैनिकीमा मोवाइल र इन्टरनेट बिनाको जिन्दगीको परिकल्पना असम्भव जस्तै भइसकेको छ । त्यही मोवाइल र इन्टरनेटको सदुपयोग र दुरुपयोग निकै कलात्मक ढङ्गले प्रस्तुत गरेका छन् सुमनले ।

सामाजिक उपन्यास लाग्ने ‘मौनता’ मा समाजमा भए गरेका घटना नै उठान गरिएका छन् । जल्दोबल्दो समस्याका रूपमा देखिएको वैदेशिक मोह, त्यसले दिने फाइदा र पु¥याउन सक्ने असरका बारेमा पात्रमार्फत निकै राम्रो मूल्याङ्कन गरेका छन् सुमनले ।

कामका सिलसिलामा श्रीमान् विदेश गएपछि स्वदेशमा रहँदा श्रीमतीका सबल र दुर्बल पक्षलाई उठान गरेर त्यसको समस्या र समाधान निकै मिठासपूर्वक गरिएको छ, उपन्यासमा । ‘विदेशमा सुन फल्छ’ भन्ने भ्रम नपाल्न आग्रह गर्दै उनले उपन्यासमार्फत नेपालमै बसेर पनि आर्थिकोपार्जन गर्न सकिनेमा मौनताले राम्रो शिक्षा दिएको छ ।

परामर्शका लागि मान्छे कहाँ कहाँ धाउँदैन । उपन्यासमा निकै चातुर्यपूर्वक इन्टरनेटबाट समुद्रपारीका समस्यासमेत समाधान गरिदिने मनको साथी बनाएर असम्भव समस्या सहजै समाधान गर्न सकिन्छ भनी देखाइएको छ । त्यतिमात्र होइन, इन्टरनेटमा राखिएका कुरालाई त्यसको कुनै गलत फाइदा नउठाई एक पात्रले गोप्यपूर्वक गरिदिने समाधानले कयौँको घर बनेको छ । कयौँ ठगिनबाट जोगिएका छन् ।

अधिकांश नेपालीको स्वर्गथलो अमेरिका रहँदै आएको छ तर मिहिनेत गर्नेका लागि अमेरिकामा हुने आम्दानी नेपालमै हुन सक्ने प्रमाण पात्रमार्फत दिएर सुमनले आफ्नो व्यवसायी सफल चरित्र पनि व्यवहारमा उतारेका छन् । ‘जुवा खेल्ने लत परेको मानिस आफ्नै सन्तान दाउमा राख्न पछि पर्दैन’ भन्ने उक्तिलाई सुमनले निकै चलाखीपूर्वक परिस्थिति निर्माण गरी उपन्यासमा समेटेका छन् ।

उपन्यासमा पात्र बलियो हुन्छ । पात्र खेल्छ । बोल्छ । पात्रले खुशी दिन्छ । निराश बनाउँछ । सुमनले ‘मौनता’ मा पात्रको भरपूर प्रयोग गरेका छन् । पात्रले खेल्ने सकारात्मक ‘प्रोटागोनिष्ट’ र नकारात्मक ‘एन्टागोनिस्ट’ भूमिकालाई पनि सशक्त पारेका छन् । कुनै पनि पात्रको भूमिकालाई कमजोर बनाएका छैनन् । पात्र आउँछन् जान्छन् तर तिनीहरूको भूमिका उपन्यासको अन्त्यसम्म पनि खोजिन्छ । छोटो भूमिका खेल्ने पनि अर्थपूर्ण लाग्छन् ।

सामाजिक उपन्यास लागे पनि सुमनले ‘मौनता’ को माला प्रेममार्फत गाँसेका छन् । सच्चा प्रेम जस्तोसुकै परिस्थितिमा पनि अजर र अमर हुन्छ देखाएका छन् सुमनले । प्रेममा ताकत देखाएका छन् । अर्पणको समर्पण देखाएका छन् । अनि ‘मौनता’ को बाध्यता समेटेर मरुभूमिलाई प्रेमरूपी जालले हरियाली बनाएका छन् ।

समयले प्रेमका बीचमा देखापर्ने काँडा पन्छाउन सक्ने मनोबल दिने विश्वास प्रेमीपे्रमिकालाई दिएका छन् । सच्चा प्रेमको तागत र झुठो प्रेमको हैसियत प्रस्ट्याएका छन् । तसर्थ प्रेमको दरिलो पक्ष पे्रम हो । प्रेममा हरेक दृष्टिकोणबाट पुरुषलाई पीडित देखाइएको छ । पुरुष जिम्मेवार बढी हुने र महिलामा इच्छा आकाङ्क्षा बढी हुने देखाइएको छ । बढी स्वतन्त्रताले नर्कको द्वारमा लैजान बेर नलाग्ने उदाहरण निकै मार्मिक ढङ्गले देखाइएको छ ।

शिलाको ‘जवानी’ र महेशको ‘ईश्वरीय’ पक्षले उपन्यासलाई सशक्त बनाएको छ । चाहना बढ्दै गएपछि पछिल्लो समय पारपाचुके फस्टाएको घटनालाई सुमनले निकै सभ्य शैलीमा प्रस्तुत गरेका छन् । प्रेमकथामा यौन समेटिनु स्वाभाविकै हो । पात्र नाङ्गिदा पनि लेखकको लेखकीय उदाङ्गिएको छैन । उनले परिस्थिति मिलाएर पात्रलाई नङ्ग्याएका छन् ।

समग्रमा गोरखा पब्लिकेसन्सले प्रकाशन गरेको ‘मौनता’ नेपाली आख्यान विधामा अब्बल छ । उपन्यासमा भएका केही भाषिक त्रुटी पुस्तकको ओजले गौण बनेका छन् । केही पृष्ठमा अनावश्यक यो सम्वाद नराखेको भए पनि हुन्थ्यो कि भन्ने पनि लाग्न सक्छ तर अब के होला भनी पाठकको कौतुहल बढाउनु पुस्तकको सफलता देखिएको छ । हिमालय टाइम्सबाट

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan