Tuesday 23rd of May | २०७४ जेठ ९ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

गर्भावस्थामा उल्टी आउने कारण

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष १६ शनिबार
newsabhiyan
newsabhiyan

  
डा. सुमनराज ताम्राकार

गर्भावस्थाको पहिलो त्रैमासिक (सुरुको १२ हप्तासम्म) मा गर्भवती महिला अस्पताल भर्ना हुनैपर्नेे कारणमध्ये अत्यधिक उल्टी आउनु पनि एक हो । योनीद्वारबाट रगत बग्नु, तल्लो पेट दुुख्नु, गर्भ तुहिनु, सेतो वा खैरो पानी बग्नु आदि चाहिँ अन्य कारण हुन् । धेरै वाकवाकी लागेको र उल्टी भएको महिलाको पिसाबमा ‘किटोन’ जाँचिन्छ । यदि पिसाबमा किटोन पोजिटिभ पाइए मुखबाट केही पनि खान नदिई भर्ना राखेर सलाइन चढाउनुपर्छ । बिरामी र कुरुवालाई अपर्झट भर्ना बस्नुपर्छ भन्दा उनीहरू असमञ्जसमा पर्छन् । राम्रोसँग परामर्श दिएपछि मात्र भर्ना बस्न राजी हुन्छन् । प्रसूति रोग विशेषज्ञहरूले बारम्बार यस्ता समस्या हेर्नुपर्छ । उल्टी आउने समस्यालाई कहिल्यै पनि हल्का रूपमा लिनुहुँदैन ।
उल्टी आउने समस्या कुनै रोगको लक्षणमात्र हो । यो गर्भावस्थासँग सम्बन्धित वा कुनै पनि मेडिकल, सर्जिकल एवं गाइनेकोलोजिकल समस्याका एउटा लक्षणको रूपमा गर्भवती महिलामा देखिन सक्छ ।
उल्टी आउनुका कारण
१. गर्भावस्थासँग सम्बन्धित
गर्भ रहनुको एउटा संकेतका रूपमा आउने उल्टी (साधारण उल्टी) वा निकै बढी आउने उल्टी (कडा खालको उल्टी)
२. गर्भावस्थासँग असम्बन्धित तर गर्भवती बेलामा हुनसक्ने उल्टीका कारण
मेडिकल कारण – जुकाको संक्रमण, विभिन्न खाले पिसाब नलीको संक्रमण, हेपाटाइटिस, मधुमेहको कारण उत्पन्न हुने जटिलता, शरीरमा अधिक युरियाको मात्रा
सर्जिकल कारण – एपेन्डिक्स सुन्निनु, आमाशयको अल्सर, पूर्ण वा आंशिक रूपमा आन्द्रा थुनिनु, पित्तथैली सुन्निनु
गाइनेकोलोजिकल कारण –
डिम्बाशयको ट्युमर बटारिँदा, पाठेघरमा मासु पलाएको बिग्रँदा, कुहिँदा
गर्भावस्थाको अन्त्यतिर देखापर्ने उल्टी
१. गर्भावस्थामा हुने उल्टीकै निरन्तरता वा फेरि देखापर्नु
२. गर्भावस्थामा देखापर्ने उच्च रक्तचापको जटिलता

उल्टी कति धेरै भएको छ र यसले पु¥याएको नकारात्मक असरको आधारमा गर्भावस्थामा हुने उल्टीलाई साधारण वा गम्भीर खालको मानिन्छ ।
साधारण उल्टी
गर्भवती महिलालाई बिहानीपख वाकवाकी लाग्ने, उल्टी आउने हुन्छ । त्यसैकारण पनि गाउँघरतिर सासु वा अग्रज महिलाले आफ्नी बुहारी गर्भवती भएको शंका गर्छन् । धेरैजसो महिलाले गर्भावस्थाको सुरु (पहिलो त्रैमासिक) तिर उल्टीको अनुभव सँगालेकै हुन्छन् । उल्टीमा पानी वा पित्त मिसिएको एवं थोरै मात्रामा हुन्छ । यसले गर्भवती महिलाको दैनिक क्रियाकलापमा अर्थात् उनको स्वास्थ्यमा खासै नराम्रो असर पु¥याएको हुँदैन ।
बिना कुनै उपचार गर्भावस्थाको १२ देखि १४ हप्तामा उल्टी आउने समस्या हराएर जान्छ । गर्भावस्थामा अधिक मात्रामा उत्पादन हुने एचसिजी (ह्युमन कोरिओनिक गोनाडोट्रोफिन), इस्ट्रोजेनलगायत हर्मोनका कारण यस्तो उल्टी आउँछ ।
गर्भवती महिलालाई ढाडस दिने, सुख्खा खानेकुरा खाने, चिल्लो पिरो कम खाने गरेमा यो समस्या कम हुँदै जान्छ । आवश्यक परेमा उल्टी नआउने औषधि खान सकिन्छ । प्रशस्त मात्रामा झोलिलो खानेकुरा (एकदिनमा दुई लिटर) एवं फलपूmलको रस पिउनुपर्छ ।

कडा खालको उल्टी
गर्भावस्थामा बढी मात्रामा उल्टी आई गर्भवती महिलाको स्वास्थ्य एवं उनको दैनिक क्रियाकलापमै नकारात्मक असर पुग्न गयो भने त्यसलाई कडा खालको मान्नुपर्छ ।

परिवार नियोजनका साधनको उपयोग, गर्भावस्थाको सुरुतिरै गर्भ जाँच गराउन जाने चलन एवं राम्रो खालको उल्टी रोक्ने औषधिको विकासका कारण विगत केही समयदेखि गर्भावस्थामा देखापर्ने उल्टीको समस्या घट्दो क्रममा छ । तर, पहिलो पटकको गर्भ, जुम्ल्याहा गर्भ, मोलार गर्भ (सग्लो भ्रुणको ठाउँमा अंगुरको दाना जस्तो हुने बिग्रेको गर्भ), अनिच्छित गर्भ, नयाँ पार्टनरबाट रहेको गर्भ तथा पहिल्यै माइतीतिर कसैलाई गर्भावस्थामा उल्टी आउने समस्या थियो भने पनि उल्टी आउने समस्या हुन्छ ।

गर्भावस्थामा अधिक मात्रामा उत्पादन हुने एचसिजी (ह्युमन कोरिओनिक गोनाडोट्रोफिन), प्रोजेस्टेरोनका कारण खाद्यनली अन्तर्गतको आमाशयको माथिल्लो द्वार खुकुलो हुन गई तथा खाद्यनलीको चालमा गडबडी उत्पन्न भई उल्टी आउँछ ।

कतिपयलाई भने मानसिक समस्याले पनि उल्टी आउँछ । यस्तो परिस्थितिमा घरायसी वातावरणबाट टाढा राख्दा पनि उल्टीको समस्या कम भएर जान्छ । खानेकुरामा कार्बोहाइड्रेटको कम संचितिले पनि उल्टी आउन सक्छ । जुनसुकै कारणले उल्टी सुुरु भएको भए पनि उल्टीका कारण जलवियोजन एवं शरीरमा कार्बोहाइड्रेटको कमी भयो भने यसैले फेरि उल्टी गराउँछ ।

उल्टीका कारण लामो समयसम्म खानाको अभाव एवं कुपोषणले गर्दा कलेजो, मृगौला, नशा, मुटु, गिदीमा प्रतिकूल असर पर्छ । यसका साथै आमाशयमा अल्सर हुने, खकारमा रगत देखापर्ने, जन्डिस देखापर्ने हुनसक्छ ।

सुरुतिर कुनै असर नदेखिए पनि लामो समयसम्मको उल्टीले गर्दा जलवियोजन र कार्बोहाइड्रेटको अभाव देखिन्छ । पिसाब, रगत र इसिजीको जाँचबाट यी कुरा पत्ता लाग्छन् । मुखबाट राम्ररी खान नसकेका कारण ग्लुकोजको अभावमा शरीरको बोसो पग्लिने क्रममा निक्लिने विकार तŒव (किटोन) पिसाबमा भेटिन सक्छ ।

उपचारका क्रममा उल्टी रोक्ने, जलवियोजन ठीक पार्ने, उल्टीको कारण उत्पन्न हुने जटिलताको रोकथाम गर्ने गर्नुपर्छ । मुखबाट कति पनि खानै सकिएन र यसैकारण शरीरमा परेको प्रतिकूल असर रगत एवं पिसाब परीक्षणमा पनि देखिन थाल्यो भने बिरामीलाई अस्पतालमा भर्ना राखी उपचार गर्नुपर्ने हुन्छ ।

यसका साथै भिटामिन बी कम्प्लेक्स र सी, बिरामीलाई ढाडस, बिरामीको श्रीमान् तथा परिवारजनलाई परामर्श दिनुपर्छ । उल्टी रोकिनु, बिरामीलाई भोक लागेको अनुभव हुनु, अनुहारमा चमक आउनु, पिसाबमा एसिटोन (अत्यधिक उल्टीका कारण देखिने खराब तŒव) हराउँदै जानु, बिरामीको नाडी, रक्तचाप, पिसाबको मात्रा सामान्य हुनु बिरामी सुधार हँुदै जानुको प्रमाण हो । उल्टी रोकिएपछि सुरुमा बिस्कुट, टोस्टलगायत सुख्खा चिज खान दिनुपर्छ ।

बिस्तारै सामान्य खानेकुरा ख्वाउन थाल्नुपर्छ । यस क्रममा थोरथोरै तर धेरै पटक ख्वाउनुपर्छ । यसको अलावा गर्भावस्थासँग असम्बन्धित तर गर्भवती बेलामा हुनसक्ने उल्टी तथा गर्भावस्थाको अन्त्यतिर देखापर्ने उल्टीका लागि कारक तŒवअनुसार नै उपचार गराउनुपर्छ । शुक्रबारबाट ।

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

ताजा भिडियो ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan