Monday 23rd of October | २०७४ कार्तिक ६ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बुबा प्रधानमन्त्री प्रचण्डको वकालत छोरा प्रकाशले यसरी गरे, 'दबाब र प्रभावमा हुनुहुन्न'

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष २० बुधबार
newsabhiyan
newsabhiyan

प्रकाश दाहाल, प्रचण्डपुत्र

पुष्पकमल दाहाल प्रचण्डले दोस्रो पटक प्रधानमन्त्री पद सम्हालिरहँदा छोरा प्रकाश दाहाल अघिल्लो पटकको तुलनामा बढी चर्चामा छन् । कारण हो, उनी बुबाको स्वकीय सचिव पनि आफैं । सशस्त्र दौरान औपचारिक शिक्षा हासिल गर्न समस्या भएपछि बुबासँगै मोर्चामा डटेका उनी बाल्यकालदेखि नै माओवादी पार्टीमा काम गरेका व्यक्ति हुन् । तर अक्सर त्यसरी उनीबारे चर्चा गरिँदैन । मदिरा र महिलाः प्रकाश बढी चालोचित हुने विषय हुन् यी । उनलाई यिनै सन्दर्भमा प्रश्न गरिरहँदा उनीभने सचेतताका साथ पेश भए ।

पार्टी अध्यक्ष प्रधानमन्त्री हुँदा पिए बन्ने मान्छे नपाएर हो वा के कारणले हो, बुबा प्रधानमन्त्री, छोरा स्वकीय सचिव हुने अवस्था भएको ? यो त गिरिजाले चलाएको नातावाद भन्दा पनि बढ्ता भएन र ?
रुपमा हेर्दा कतिपयलाई त्यस्तो लाग्न सक्छ । तर म २०५४ सालदेखि निरन्तर माओवादी आन्दोलनमा छु । बाल्यकालदेखि सबै लगानी यही पार्टी र आन्दोलनमा छ । व्यक्तिगत सोचिएन, देश र जनतको सेवा गर्ने र क्रान्तिमै जीवन देख्ने अभियानमा लामबुद्ध भएँ ।

यसरी हेर्दा मेरो व्यक्तिगत भूमिकालाई बुबाको सम्बन्धसँग जोडेर हेर्न हुन्थेन । माओवादी पार्टी र आन्दोलनमा मेरो जत्तिकै भूमिका निर्वाह गरेका साथीहरु मभन्दा महत्वपूर्ण भूमिकामा हुनुहुन्छ भन्ने यथार्थ पनि बिर्सन मिल्दैन । हिजो सम्पूर्ण कुरा छोडेर भूमिगत हुँदा योग्यता र सम्बन्धमा प्रश्न नउठ्ने, अहिले खुला राजनीतिमा आएपछि पारिवारिक सम्बन्धसँग जोड्ने कुरा सच्चा नियतको तर्क हो जस्तो लाग्दैन ।

१७ वर्षदेखि पार्टी अध्यक्षको सचिवालयमा छु । म जतिबेला बालुवाटारमा स्वकीय सचिवको रुपमा आएँ, त्यसभन्दा पहिला पार्टी अध्यक्षको सचिवालयमै थिएँ । बुबा प्रधानमन्त्री भएपछि अध्यक्षको सचिवालयमा काम गरिरहेका साथीहरु प्रधानमन्त्रीको सचिवालयमा आउनु भयो, यसै सन्दर्भमा म पनि आए ।

अध्यक्षको सचिवालयमा जुन भूमिकामा थिएँ, प्रधानमन्त्रीको सचिवालयमा रहँदा पनि उपयोगी ठानेर नै पार्टी निर्णय बमोजिम स्वीकय सचिवमा आएको हुँ । यसलाई बाबु–छोराको पारिवारिक सम्बन्ध आधारमा मात्रै हेर्नु न्यायोचित हुँदैन ।

व्यक्तिगत सन्दर्भ निकालेर तपाईको आलोचना गर्नेहरु पार्टीभित्रै र बाहिर पनि धेरै छन् । यो कुरा बुबाको व्यक्तित्व र नेतृत्वसँग पनि जोडिने गर्छ । तपाईँकै कारण बुबा पनि आलोचित हुने स्थितिमा पिए बस्ने जस्तो कुराबाट पन्छिन मन लाग्दैन ?
व्यक्तिगत रुपमा गरिने टीका टिप्पणीतिर जान चाहन्नँ । सबै व्यक्तिमा गुण र दोष अवश्य नै हुन्छन्, त्यसबाट म पनि बिमूख छैन । तर व्यक्तिको जीवन घटनाक्रमलाई सधैं सुनियोजित सोंचका साथ हेरिनु हुँदैन ।

जसरी माओवादी आन्दोलन, पार्टी र नेतृत्वलाई हेर्ने सन्दर्भमा नेपाली समाजमा दुई फरक दृष्टिकोण र धारणा छन्, त्यसको प्रभाव ममाथिको टिप्पणीमा पनि पर्ने गरेको छ । म स्वकीय सचिवालयमा रहरले होइन, बुबा प्रधानमन्त्री भएपछि यसपटक उहाँको कार्यकाल सफल र नमूनायोग्य बनाउनु पर्छ भन्ने सोचसहित आएको हुँ । व्यक्तिगत रुपमा गरिने टिप्पणीको पछि लागेर राष्ट्र र जनताको जिम्मेवारी भूल्दिनँ र भूल्नु पनि हुँदैन ।

प्रधानमन्त्रीको स्वकीय सचिवालयमा रहेर अरु व्यक्तिहरु भूमिकाहीन भए, सबै काममा तपाईको चासो र हस्तक्षेप बढी भयो भन्ने कुरा जिम्मेवार व्यक्तिबाटै हुने गरेको छ नि !

मलाई  त्यस्तो लाग्दैन । प्रधानमन्त्रीको सचिवालयमा सबैको स्पष्ट कार्यविभाजन छ । सबैले आफ्नो काम गरी रहनुभएको छ । व्यक्तिगत दक्षता र सीमा पनि होलान्, अनि कतिपय सन्दर्भमा जनताबाट आउने अपेक्षालाई उपेक्षा गर्न पनि मिल्दैन । कहिले काहीँ  जनताका समस्या तुरुन्तै समाधान गर्ने पहल लिँदा सबै कुरा नापतौल पनि नहोला । तर हाम्रो सचिवालयमा कसैको अवमूल्यन, कसैको भूमिकामाथि हस्तक्षेप वा कोही भूमिकाहीन बन्नुपर्ने परिस्थिति छैन ।

संविधान संशोधन विधेयक अगाडि नबढाई स्थानीय निकायको निर्वाचन नगर्ने प्रधानमन्त्रीको अडान छ । तर प्रतिपक्षी दल संशोधन विधेयक फिर्ता वा थाती नराखेसम्म सदन चल्न नदिनेमै छन् । प्रधानमन्त्रीचाहिँ संशोधन विधेयक असफल नै भए पनि टेबुल गर्नसम्म पाउनुपर्ने अडानमा हुनुहुन्छ । यस्तो अप्ठेरो अडान लिन प्रधानमन्त्रीलाई कहाँबाट दबाब वा कसको प्रभाव छ ?
राजनीतिक परिस्थिति अहिले पनि चुनौतीपूर्ण छ । प्रधानमन्त्रीको निरन्तर प्रयत्न संविधानको स्वीकार्यता बढाएर निर्वाचनको माध्यमबाट संविधान कार्यान्वयन गर्नेमै छ । मधेशी मोर्चा र प्रतिपक्षी दलका परस्परविरोधी अडानको बीचबाट समाधान खोज्ने कुरा चुनौतीपूर्ण र कलात्मक दुबै छ ।

प्रधानमन्त्री साझा सहमतिको बिन्दुका आधारमा संविधान कार्यान्वयनमा प्रयत्नशील हुनुहुन्छ । उहाँ कसैको दबाब वा प्रभावमा हुनुहुन्न । तर राष्ट्रिय सहमति र एकताका लागि सबैको भावनाको सम्बोधन गर्दै अघि बढ्न लचिलो हुनुहुन्छ । यो नै अहिलेको सन्दर्भमा राष्ट्रपतिको सही कदम पनि हो ।

हालै सार्वजनिक प्रधानमन्त्रीको सम्पत्ति विवरण अपत्यारिलो भयो भनिँदैछ । किन त्यस्तो विवरण पेश भएको होला ? तपाईँकै नाममा पनि पोखरामा प्रकाश टावर, हजुरबुबाको नाममा नयाँ बानेश्वरको मुक्ति टावर बनेको चर्चा गरिन्छ । वास्तविकता के हो ?
यथार्थ त्यही हो । पत्याउने वा नपत्याउने व्यक्तिगत अधिकारको कुरा हो, यसमाथि कुनै टिप्पणी गर्नु छैन । तर चिन्ताका साथ प्रधानमन्त्रीको सम्पत्ति विवरणमाथि आशंका गर्नेहरुले प्रचण्डको समग्र जीवन, त्याग बलिदानीको इतिहास र इतिहासका कालखण्डमा उहाँले गरेका निर्णय पढ्ने र विश्लेषण गर्ने हिम्मत गर्नैपर्छ ।

बुबा माओवादी पार्टीको महामन्त्री र जनयुद्धको कमाण्डर हुनुहुन्थ्यो, पार्टीले नेताहरुको सम्पत्ति पार्टीकरण गर्ने सोच पहिल्यैदेखि राखेको थियो । ०३५ सालसम्म हाम्रो ३ बिघा जमिन थियो । तर युद्धको आर्थिक समस्या समाधान गर्न र पार्टी निर्णय कार्यान्वयन गर्न बुबाले सम्पत्ति बेच्नुभयो ।

०५४ सालसम्म पुग्दा हाम्रो शिवनगरमा ६ कठ्ठा र भरतपुरमा १ कठ्ठा जमिन थियो । बुबाले २०५४ सालमै शिवनगरको जमिन छोरा छोरीको नाममा र भरतपुरको जमिन आमाको नाममा अंशबण्डा गर्दिनुभएको हो । अहिले बुबाले पेश गरेको १ कठ्ठाको विवरण आमाको नाममा रहेको जमिन हो । यसबाहेक गरिएका तर्क, आशंका र प्रचारहरु माओवादी पार्टी, बुबा र हाम्रो परिवारले चरित्र हत्या गर्न र पोलिटिकल ब्ल्याकमेलिङ गर्न अघि सारिएका नियोजित प्रचार हुन् ।

आजकल दुई चार पेग पिउने क्रम बन्द छ कि जारी छ ?
नियमित पिउने बानी कहिल्यै थिएन । एकपटक निदाएको बेलाको फोटो सार्वजनिक गरेर त्यसबाट मेरो चरित्रहत्या गर्ने कोशिस गरियो । म रक्सी पिउँदिन, त्यसबाट बिल्कुल अलग छु, शंकाले लंका जलाउनेहरुका लागि त के जवाफ हुन सक्ला र ?

सिर्जना त्रिपाठीसँग विवाह गरेर, छोरा जन्मिएपछि बीना मगरसँग सम्बन्ध राख्नुभयो, त्यो पनि लुकीछिपी । अहिले पत्नीकै रुपमा भित्र्याउनु भएको छ । यस्तो किनभयो ? सिर्जनालाई कानुनी रुपमा पत्नी स्वीकार्न र छोराको जन्मदर्ता गराइदिन कहाँ समस्या आयो ?
विगतमा मेरो तर्फबाट प्राविधिक कमजोरी भएको हो, जुनकुरा सार्वजनिक रुपमै स्वीकार गरिसकेको छु । मेरो प्रष्ट मत छ, कोही पनि अन्यायमा पर्नु हुँदैन । पारिवारिक मामिलामा जे गरेर दुवै पक्षलाई सहज र न्याय हुन्छ, त्यसका लागि सधैं तयार छु । समस्या आइसकेपछि त्यसको दीर्घकालीन समाधान खोजेर अघि बढ्नु नै उत्तम हुन्छ, यसलाई दाउपेज वा राजनीतिक लाभ हानीको विषय नबनाएर उपयुक्त निकासमा पुग्नुपर्छ भन्ने लाग्छ ।

रेखा थापालाई तपाईले ह्यारेस गरेर पार्टी छोड्ने स्थितिमा पुर्याएको चर्चा भयो । वास्तविकता के हो ?
जनयुद्धको राप र तापले रेखा थापाजस्ता लाखौं नेपालीहरु माओवादी आन्दोलनमा आउनुभयो । राजनीतिमा उतारचढाव आयो, उहाँहरुले सोचेजस्तो सबै कुरा सम्भव पनि भएन होला । राजनीति बक्ररेखामै अघि बढ्छ । जहाँसम्म रेखा थापाको बहिर्गमनसँग मलाई जोडेर प्रचार गरिएको छ, यो विल्कुलै भ्रामक र कपोलकल्पित छ ।

जसरी केही सञ्चार माध्यम र सामाजिक सञ्जालमा ममाथि आरोपित गरियो, यो पत्रकारिता नभएर पत्रकारिताका नाममा गरिएको जघन्य अपराध हो । सत्य, तथ्य र प्रमाणबिना मान्छेको चरित्र हत्या गर्नेहरु कानुनको दायरामा आउनुपर्छ ।

प्रचण्ड रहँदासम्म पार्टीमा रहनुहोला, त्यसपछि तपाईका विरोधीले बसिखान दिँदैन भन्छन्, आलोचकहरु । के लाग्छ ?
प्रचण्ड भएका कारणले मात्र होइन, मेरो आफ्नै रगत, पसिना र संघर्षक बलमा माओवादी पार्टीमा छु, जसरी प्रचण्डसँग व्यक्तिगत नाता वा सम्बन्ध नभएका हजारौं योद्धहरु छन् । जहाँसम्म मेरो भविष्यको कुरा छ, म मेरो संघर्ष र लक्ष्यमा बाँच्छु ।

माओवादी पार्टीमा दर्जनौं नेता हुनुहुन्छ, लाखौं कार्यकर्ता र शुभचिन्तकहरु हुनुहुन्छ । उहाँहरुसँगको सहकार्यकै आधारमा मेरो राजनीतिक जीवन अघि बढ्छ । मेरो कसैसँग नराम्रो सम्बन्ध हुनुपर्ने र हुने कारण छैन ।

प्रकाशले भित्रभित्रै सम्पत्ति थुपारेको छ भन्छन् । खासमा कति पैसा कमाउन भएको छ ?
भित्रभित्रै सम्पत्ति थुपारेको थाहा पाउने साथीहरुले कहाँ, कति सम्पत्ति छ, प्रमाणसहित सार्वजनिक गरी दिनुभए आभारी हुन्छु । भ्रमको खेती गर्नेहरुको कुनै औषधि हुँदैन । तर आफ्नो भ्रमको धन्दा कति टिक्ला भन्ने चिन्ता गर्दा उहाँहरुकै हित होला कि ?

माओवादीहरु राजनीतिभन्दा बढी कमाउने, आफू बन्ने कुरामा केन्द्रित भएर बिग्रिए भन्ने टिप्पणीबारे के भन्नुहुन्छ ?
माओवादी आन्दोलनमा समस्या छँदै छैन म भन्दिनँ । तर माओवादी नेताहरुले समाजवाद र साम्यवादको आदर्श भुले, सबै कमाउ धन्दामै छन् भन्ने प्रचार सत्य होइन । जनता, वर्ग र लक्ष्यप्रति निष्ठा जीवित नभएको भए चौतर्फी हमला हुँदा पनि माओवादी आन्दोलन यो रुपमा रहन सम्भव थिएन । रुखको एउटा हाँगो सुक्दैमा सिंगो रुख नै सुक्यो भनेर अर्थ लगाउनु न्यायोचित हुँदैन । तिललाई पहाड र पहाडलाई तिल बनाएर गरिएको प्रचार धेरै टिक्छ जस्तो लाग्दैन । जनआस्थाबाट


 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan