Tuesday 21st of November | २०७४ मङ्सिर ५ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

कथा : वेश्या माया

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष २३ शनिबार
newsabhiyan
newsabhiyan

-राजेश बुढाथोकी 

त्यो रात म उसैसँग सुते । बिहान उठेर उसले भन्यो, “मसित हिँड तिमीलाई यहाँको भन्दा डब्बल दिन्छु ।” म तत्क्षण जान तयार भएँ ।

म वेश्या हुँ, यसो भनिरहँदा मलाई कुनै हिच्चकिचाहट हुँदैन । जब म एकान्तिक हुन्छु तब विगतका अभिव्यञ्जनाहरुले घाँटी निमोठ्न थाल्दछन् । आफ्नै विगतप्रति प्रश्रव वेदनाकी स्त्रीझैँ छटपटाउँछु ।

आफ्नै नियतिप्रति आजित भएका श्रीमान्ले भने, “माया, कत्ति दुःख गर्नु यसरी ? अब दुई÷तीन वर्ष विदेश पो भासिनुपर्छ क्यार ! तिमी घरव्यवहार सम्हाल है । उताबाट फर्किए’सी छोराछोरी पढाउनुपर्छ । सानोतिनो व्यवसाय गर्नुपर्छ ।”

उनी यौटा दूधालु बालकजसरी टाँसिएका थिए त्यो रात । गाउँमा साहूबाट सयकडा पाँच रुपैयाँका दरले असी हजार ऋण खोजेर उनलाई विदेश उडाएँ ।

केही महिना फेरि उही एकान्तिकपन । उनको अनुपस्थितिमा धाराप्रवाह समय कटान हुन्थेन । विछोडको त्यो प्रश्रवक्षण एकदमै क्लिष्ट भयो । म अग्नीदहमा जलिरहैँ । दिनमा छोराछोरीको हेरचाह, घरायसी काममा व्यस्त हुन्थे तर रातमा नितान्त एक्ली हुन्थेँ । ओछ्यानको चौघेरामा कुनैपनि पुरुषलाई स–शरीर पाउन्नथेँ । म छट्पटाउन थाल्थेँ । श्रीमान्को याद अचाक्ली आउँथ्यो ।

–०–०–०–

ऊ ‘मधेसतीर ट्रक चलाउँछु’ भन्थ्यो । ऊ जहिल्यै चौतारीमा बसेर मलाई यन्त्रवत् हेरिरहन्थ्यो । उसितको अकल्पनीय भेटमा हाम्रो कुनै औपचारिक संवाद भएन तर त्यसपछिका दिनहरुमा हामी गाढा रंगझैँ नजिकियौँ । ऊ हाम्रो घरदेखि दूई÷चारघर पछाडि बस्थ्यो । म लुकिछिपी उसलाई भेट्न जान्थेँ । हामी प्रशस्तै ठट्टा गर्दथ्यौँ । कहिलेकाँही हामीबीच गम्भीरप्रकृतिका गफ पनि हुने गर्दथे ।

उसले मलाई ठट्टा गर्दै जिस्कायो, “माया, कतिञ्जेल यो बुढा नभएको घरमा एक्लै बसिरहन्छ्यौ ? न्यास्रो लागेको छैन ? मसँग जान्छ्यौ ?”

मेरो उत्तर के हुनुपर्ने ? के उसको यो दृष्टताप्रति म प्रतिकार गरुँ ? अहँ, म त्यसरी प्रस्तुत हुन सकिनँ । उसको सहवास असीम लाग्न थालिसकेको थियो । मैले हठात् भनेँ, “मलाई कहाँ लान्छ्यौ ?”

ऊ छिलिएर भन्यो, “तिमी जहाँ भन्छ्यौ त्यहीँ लान सक्छु । जहाँ लगेर नि तिम्लाई पाल्न सक्छु ।”

“त्यसो भएँ गइदिम्ला नि !” मेरो जिब्रो चिप्लियो । तत्क्षण मलाई पश्चताप भयो । श्रीमान्सँगको त्यत्रो वाचा–कसम कसरी यत्ति छिटो बिर्सिएँ ? म यो के गर्न खोज्दैछु ?

“अनि तिम्रा छोराछोरी नि ?” हतप्रभ उसले यक्षप्रश्न राख्यो ।

मैले ठट्टा गर्दै भनेँ, “ति कहाँ मेरा छोराछोरी हुन् र ? उनीहरुका बाबूका पो हुन् त । हामी फेरि पाम्ला नि !” अब मलाई कुनै संकोच भएन । ऊसँगको ख्यालठट्टा र भाग्ने तिकडमले मलाई नूतन अनुभूति मिलेको थियो जसलाई गुमाउनु भनेको विरासतलाई अँगाल्नु सम्झिएँ सायद ।

जङ्गलको भित्री भाग अँध्यारो भइसकेको थियो । उसले मलाई सुस्तरी आफ्नो बाहुपासमा खिच्यो । खेलौनाजसरी म उसको काखमा बसेँ । त्यसपछि के–के भयो मलाई थाहा छैन । उसले प्रथम चरणको मेरो तिर्खा मेटाइदियो ।

अब म उसलाई छोड्नै नसक्ने भएँ । हामी एकाविहानै त्यो गाउँबाट भाग्यौँ ।

ऊसँग भागेर विर्तामोड आए पनि मलाई घरको सम्झनाले साह्रै पिरोल्न थाल्यो । फुल्दै गरेको कोपिलालाई जो म निमोठेर आएकी थिएँ । छोराछोरीको सम्झनाले अत्याधिक डस्न थाल्यो । म गएपछि श्रीमान्ले छोराछोरीको हेरचाह गर्ने व्यवस्था मिलाएछन् ।

जसरी मौसम बद्लिन्छ हुन्छ त्यसरी नै ड्राइभर पनि बद्लियो । अब पहिलेजस्तो रसिक रहेन । ऊ दिनानुदिन रक्सी खाएर मसित झगडा गर्न थाल्यो । मलाई हप्काउने, तर्साउने र कुट्ने क्रियाकलाप उसका लागि किम्ती भए ।

म भन्थेँ, “म तिम्रा लागि सबै खुसी त्यागेर आएँ । मलाई यस्तो अन्याय गर्न मिल्छ ?”

ऊ भन्थ्यो, “त झिँगे मैले भन्नेबित्तिकै आउनुपर्छ ? भन, अब कोसित भाग्छेस् ?”

म चुपचाप रहन्थे ।

एकदिन, सानोतिनो निहुँमा ऊ रिसाएर, “जेसुकै गर है । म हिँडे ।” भनेर घरबाट निस्कियो । हप्ता बित्यो, महिना बित्यो तर ऊ फर्किएन । यता, घरबेटीले कोठाको भाडा मागेर किचकिच गर्नथाल्यो । मसित भाडा तिर्ने पैसा थिएन ।

यौटा होटलमा भाँडा माझ्ने काम पाएँ । भाडा माझेर महिनाको ८ सय हुन्थ्यो । करिब महिनादिन कामगरेपछि मेरो हातखुट्टा पानीले खायो । दिनभरी पानीमा भिज्नाले बिरामी हुँदै गएँ ।

होटल मालिकले काउण्टरमा बोलायो ।

“तिमीलाई भाडा माझ्न गाह्रो भएजस्तो छ । के तिमी वेटरको काम गर्छ्यौ ?” उसले भन्यो, “तिमी राम्री पनि छ्यौ । अझ मेहनत ग¥यौ भने राम्रो पैसा कमाउछ्यौ ।”

–०–०–०–

वेटर भएको केहीक्षणमै एउटा मोटो, मातेको, घीनलाग्दो मान्छे आयो । मसित एक प्याक रम माग्यो । मैले काउण्टरबाट तुरुन्त लगिदिएँ । उसले मलाई रम खान कर ग¥यो । मैले मानिनँ, कहिल्यै खाएकी थिइनँ । यत्तिकैमा उसले मलाई जबरजस्ती गर्न थाल्यो । त्यसपछि मेरो हातमा एक हजार राखिदिएर गयो ।

म महिनाको आठ सयमा भाडा माझ्न बसेकी थिएँ । दिनमै पाँच सय कमाएपछि हर्षित भएँ । भाडा माझ्नुजस्तो गाह्रो काम पनि थिएन ।

मेरो आसन्न भेट यौटा अनौठो ग्राहकसँग भयो । ऊ राजनीतिक नेताजस्तो देखिन्थ्यो । जहिल्यै आफ्ना साथीहरुसँग रक्सी खान आउँथ्यो । उनीहरुबीच राजनीतिक चर्काचर्की परिरहन्थ्यो ।

उसले मलाई यौटा क्याबिनमा बोलायो । ऊ भन्थ्यो, “तिमीहरुको हितमा अब नियम/कानुन बन्नुपर्छ बुझ्यौ ? तिमीहरु यो पेशामा लाग्नु कुनै रहर हैन, बाध्यता हो । अब रेडलाइट एरिया तोकिनुपर्छ जसबाट तिमीहरुले निर्धक्क आफ्नो व्यवसाय चलाउन सक्छौ ।” यस्ता कुरामा मलाई कुनै दिलचस्पी थिएन । म केही प्रतिउत्तर दिदैनथिएँ ।

नेताले मलाई यौटा गेष्ट हाउसमा राख्यो । बजार लगेर उसले मलाई थरिथरिका फेसनदार कपडाहरु खरिद गरिदियो । ऊ भन्थ्यो, “मेरी श्रीमती विदेशमा छे । दुई छोराछोरी काठमाण्डूमा क्याम्पस पढ्छन् । म पार्टीको कामले विभिन्न ठाउँमा गइराख्नुपर्छ । तिमी पनि मसितै हिँड । म तिम्लाई सोचेको भन्दा धेरै पैसा दिन्छु ।” मैले सहमति जनाएँ ।

उसले मलाई आफ्नी स्वास्नीझैँ बनाएर राखेको थियो । मैले चाहेका, खोजेका तमाम कुराहरु मेरो अगाडि राखिदिन्थ्यो । मलाई मोटरसाइकलमा राखेर विभिन्न सहर तथा पार्कहरु घुमाउँथ्यो ।

एकदिन म उठ्दा ऊ कोठामा थिएन । उसका सरसामानहरु पनि थिएनन् । मैले सारा वृतान्त म्यानेजरलाई सुनाएँ, उसले मलाई दया देखाएर त्यही बस्न आग्रह गर्यो ।

त्यहाँ ठूल्ठूला भुँडी भएका मान्छेहरु आउने गर्दथे । गेष्टहाउसमा यस्ता थुप्रै गोप्य कोठाहरु थिए, जहाँ खुल्लमखुल्ला यौनजन्य कारोबार हुन्थ्यो । दिनमा मेरो भागमा ३/४ जना पुरुष पर्ने गर्दथे । म मूर्तीवत् सुतिदिन्थे । उनीहरु मेरो शरीरमा ताण्डव नृत्य गर्थे । यसरी नै मेरो दिनचर्या व्यतीत हुनथाल्यो ।

यहाँ मजस्तै थुप्रै दुःखित बेसाहारा महिलाहरु छन् । उनीहरुका आ–आफ्नै कथाहरु छन् । कोही आफ्नै बाबु र दाजुबाट बलात्कृत भएर घर छोडेर हिँड्नेहरु छन्, कोही आफ्ना छोराछोरीको पालनपोषण/पढाईखर्च जुटाउने आमाहरु छन्, कोही धनी बाउका बिग्रेका छोरीहरु छन् ।

हामीलाई सेना र पुलिसले अचाक्ली सताउँछन् । हाम्रो जीउधनको सुरुक्षा गर्नुपर्ने दायित्व बोकेकाहरु हामीलाई नै लुट्न पछि पर्दैनन् । उनीहरु हामीसँग सुतेर पैसा नतिरी गाली गरेर हिँड्छन् । कतिले हाम्रा थुनचोलीमा राखेका पैसाहरु जबरजस्ती खोस्छन् ।

अब त शरीरका सम्पूर्ण अवयवहरु खोक्रो भइसकेँ । पुरुषहरु खै के पाउँछन् यो शरीरबाट ? पहिले–पहिले म यो पेशाबाट मातिएकी थिएँ तर कालान्तरमा आफैँलाई घृणा लागेर आएको छ तर विकल्प केही छैनन् मसित ।

जीवनमा मैले कहिल्यै प्रेमको पूर्ण प्रत्याभूति पाउन सकिनँ । केही न केही कमि रहिरह्यो । थुप्रै पुरुषहरु मेरो शरीरमा उफ्रिए, आफ्नो विषाक्त वीर्य फ्याके तर ती केवल यौनतृप्तीका लागि मात्र थिए—प्रेमका लागि कदाचित् थिएनन् ।

अहिले छोराछोरीको खुब याद आउँछ । आमा होइन म । आमा हुदीँ हो त उनीहरुको पालनपोषण गरेर बस्थेँ । संकटमा साहारा दिन्थेँ । यौनरापमा परेर आमाको सबै दायित्वलाई मेटाइदिएँ । सुन्दछु—श्रीमान्ले अर्की विवाह गरेका छैनन् रे । घर फर्किएर जादाँ उनले स्वीकार गर्ने सवाल नै उठ्दैन । फेरि कुन मुखले घर फर्किनूँ ?

एउटी वेश्याले सबैलाई सन्तुष्ट पार्छे तर ऊ कदापि सन्तुष्ट हुन सक्दिन । ऊ भित्रभित्रै सीसाझैँ टुक्रिन्छे । सबैको आर्दश नजरबाट गिर्छे । नम्नकोटीको वस्तु बन्छे ।

न्यूज अभियानका लागि साहित्य सङ्ग्रहबाट ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan