• FB
  • FB
  • FB
Tuesday 28th of February | २०७३ फाल्गुण १७ मंगलबार

राजनीतिक चिन्तन र चिन्ता

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष २४ आइतबार
newsabhiyan

डा. टीकाराम पोखरेल । राजनीति शास्त्रीय रुपमा राजनीतिक चिन्तक र दार्शनिकहरुको चिन्तनको उपज हो, व्यवहारतः यो जनताको कल्याणको विषय हो । पछिल्लो समय यो कल्याणभन्दा पनि जनताको हक, हित र अधिकारसँग जोडिएको छ ।

समयक्रममा राजनीतिक शैलीहरु परिवर्तन भए पनि सुरूदेखि अहिलेसम्म राजनीतिको केन्द्र भनेको देश र जनता हुन् । राजनीति देश र जनताका लागि चिन्तन गर्ने विषय हो । तर, राजनीतिमा देश र जनताको चिन्तनभन्दा राजनीतिज्ञको आफ्नो चिन्ता बढी भयो भने यो राजनीति नभएर अराजनीति हुन्छ ।

जब राजनीतिमा चिन्तन हुन्छ, तब राजनीति जनताको प्यारो विषय बन्दछ । तर, जब चिन्तनको सट्टा नेतामा राजनीतिमा आफ्नो भविष्यको चिन्ता हुन थाल्छ, तब राजनीति जनताको नजरबाट टाढिन्छ । नेपालमा राजनीति संस्कृति बन्न नसक्नुको कारण पनि राजनीतिक चिन्तनमाथि नेताको आफ्नो भविष्यको चिन्ता हाबी हुनु हो । राजनीति र नेतालाई जनताले नकारात्मक आँखाले हेर्नु र आलोचना गर्नु भनेकै राजनीति संस्कार र संस्कृतिको शून्यता हो ।

मानव सभ्यताको विकाससँगै जब राजनीतिको सुरूवात भयो, तब राजनीति केका लागि भन्ने चिन्तन पनि सँगसँगै सुरू भयो । मेसोपोटियाको सभ्यता, सिन्धुघाँटी सभ्यता, मिश्रको सभ्यता, चिनियाँ सभ्यता, इस्लामिक सभ्यतामा राजनीतिक चिन्तनको ठूलो मह¤व रह्यो ।

पूर्वीय चिन्तन परम्परामा मनु, शुक्राचार्य, गौतमबुद्ध, याज्ञबल्क्य, कौटिल्य र चिनिया परम्परामा कन्फुसियसजस्ता चिन्तकहरुले राजनीतिलाई मानव सभ्यताकै विशिष्ट संस्कृति र मानवजीवनको अभिन्न अंगका रुपमा स्थापित गरे । यस्तै पश्चिममा शुकरात, प्लेटो र अरस्तुहरुले पश्चिमी राजनीतिक चिन्तन परम्परालाई समृद्धशाली बनाए ।

मध्यकालीन इतिहासका मेकियावेली, हब्स, जोन लक, रूसोहरुले यो परम्परालाई अझ बढी मजबुत बनाए । आधुनिक युगमा कार्ल माक्र्स, भ्लादिमिर लेनिन, माओत्सेतुङ, हेगेल, थोमस हिल, जेरेमी बेल्थम, जेएस मिल र माहात्मा गान्धीसम्मले राजनीतिक चिन्तन परम्परामा एकपछि अर्को सम्पत्ति थप गर्दै राजनीतिक चिन्तनको आधुनिक भण्डारको निर्माण गरे ।

यी चिन्तकहरुका विचार एकअर्कामा विपरीत ध्रुवका भए पनि त्यसको केन्द्रमा जनता भएकाले सबै चिन्तनको एकमात्र मिलन–बिन्दु जनता नै थियो । सबैको चिन्तनमा केन्द्रबिन्दु जनता भएकाले राजनीतिक चिन्तन विश्व बौद्धिक परम्परामा ज्ञानको रुपमा विकास भयो । कालान्तरमा राजनीति दार्शनिक सिद्धान्त र व्यावहारिक विज्ञान दुवैको संगमका रुपमा स्थापित भयो ।

व्यवहारविनाको राजनीतिक सिद्धान्त र सिद्धान्तविनाको राजनीतिक व्यवहार दुवै काम लाग्दैनन् । विगतमा राजनीतिक चिन्तकहरुले राजनीतिको दार्शनिक चिन्तन मात्र गरेनन्, बरू राजनीतिक सिद्धान्तलाई आफैँले व्यवहारमा समेत प्रयोग गरेर देखाए ।

पूर्वीय राजनीतिक चिन्तन परम्परामा सर्वाधिक चर्चा गरिने चाणक्य –ई.पू. ३७५–२८३) राजनीतिक चिन्तक मात्र थिएनन्, उनी चन्द्रगुप्त मौर्यका महामन्त्री थिए । महामन्त्री भए पनि उनी दरबार वा महलमा नबसी कुटीमा बस्थे । उनी भन्थे– “जुन देशका मन्त्री कुटीमा बस्छन्, त्यो देशका जनता महलमा बस्छन्, तर जुन देशका मन्त्री महलमा बस्छन्, त्यो देशका जनता झुपडीमा पुग्छन् ।”

राजदरबारमा लगाइएको पर्खालले जनताको दुःखको आवाजलाई दरबार बाहिरै रोक्ने भएकाले दरबारमा बस्नेले कहिल्यै जनताको चीत्कार नसुन्ने उनको धारणा थियो । यस्तै व्यावहारिक र जनताको भलाइका लागि राजनीतिका कारण चाणक्य आजसम्म पनि त्यत्तिकै पूजनीय छन् ।

कन्फुसियस (ई.पू. ५५०–४८०) पनि चिन्तक मात्र थिएनन्, राजनीतिज्ञ थिए । उनी चीनका तत्कालीन झोउ वंशीय सम्राट्का महामन्त्री भएका थिए । कुनै पनि देशमा असल शासन र शान्ति त्यसबेला स्थापित हुन्छ, जब त्यहाँका शासक, मन्त्री तथा जनता प्रत्येक व्यक्ति आफ्नो स्थानमा रहेर कर्तव्य पालन गर्दछन् भन्ने कन्फुसियसको धारणा थियो ।

उनका अनुसार शासक सही अर्थमा शासक हुनुपर्छ, मन्त्री सही अर्थमा मन्त्री हुनुपर्छ । कन्फुसियसले शासक जनतासँग झुकेमात्र शासकले जनताको सम्मान पाउने धारणा राखे । शासकतर्फ इंगित गर्दै उनले भनेका थिए– “जो व्यक्ति मानवसेवा गर्दैन, उसले देवीदेवताको भक्ति गरेँ भन्नु मूर्खतासिवाय अरु केही होइन ।” कन्फुसियसले राजनीतिमा सत्य, प्रेम र न्यायको सन्देश दिए ।

दोषीलाई सजायको बदला चरित्र सुधार्ने प्रयास गरे । भलाइ मानिसको गुण हो, त्यसैले मानिसले आफ्नो गुणअनुसार काम गर्नुपर्छ भन्ने उनको धारणा थियो । शासकले गल्ती गर्न सक्छ तर गल्ती नगर्नु महानता होइन, बरू गल्ती सुधार्नुचाहिँ महानता हो भन्ने कन्फुसियसको मान्यता थियो ।

राजनीतिका पिता मानिने अरस्तु (ई.पू. ३८४–३२२) ले राजनीतिलाई समाजको अनिवार्य सर्त भने । राज्यमा जनता अनिवार्य सर्त हो भने राजनीति पनि अनिवार्य हो । राजनीति जनताको लागि नभै नहुने विषय हो, त्यसैले राजनीति जनताको लागि हुुनुपर्छ ।

राज्यको आवश्यकता मानिसको अस्तित्वलाई जीवित राख्न होइन, बरू मानवजीवनलाई सर्वोत्कृष्ट बनाउन हो । व्यक्ति, परिवार, समुदाय, गाउँ हुँदै राज्य निर्माण हुने भएकाले राज्य जनताका लागि हो भन्ने अरस्तुको धारणा थियो ।

महात्मा गान्धीले सिद्धान्त र नैतिकताविनाको राजनीतिको कुनै अर्थ नहुने धारणा राखे, तर उनको कुनै राजनीतिक वाद थिएन । उनको राजनीतिक सिद्धान्त र वाद भनेकै देश र जनता हो । देश र जनताको मुक्तिकै लागि उनले राजनीतिलाई नै सिद्धान्त बनाए । उनी सिद्धान्तमा अडिग मात्र रहेनन्, व्यवहारमा समेत राजनीतिमा नैतिकताको शक्ति कति हुन्छ भन्ने कुरा अहिंसात्मक हतियारबाट हिंसालाई पराजित गरेर देखाइदिए ।

यी महान् राजनीतिक चिन्तकहरुले राज्य र जनताका लागि चिन्तन गरे, तर आफ्नो लागि कहिल्यै चिन्ता गरेनन् । आधुनिक राजनीतिमा आइपुग्दा राजनीतिबाट चिन्तन हरायो । नेताको भविष्यको चिन्ता मात्र बाँकी रह्यो । त्यसमा पनि गरिब मुलुकमा यो स्थिति चरम अवस्थामा पुग्यो ।

त्यही बिन्दुबाट राजनीति अराजनीतिक बन्न पुग्यो । राजनीति जनताको सम्पत्ति नभएर नेताको पेवा बन्न पुग्यो । राजनीति नेताको पेसा बन्यो । अनि, जनता राजनीतिबाट टाढिँदै गए ।

आज विश्व राजनीति नै चिन्तनभन्दा धेरै पर छ । एक देशले अर्को देशलाई प्रभावमा पार्ने होडबाजीमा आर्थिक उपनिवेशवाद खडा भैरहेको छ । राजनीति सिद्धान्तले होइन, आर्थिक नीतिले चल्न थालेको छ ।

शक्तिशाली मुलुकहरुले विकासोन्मुख मुलुकलाई आर्थिक सहायताको प्रभावमा पारेर चिन्तनविहीन मात्र होइन, राजनीतिक चेतनाविहीन बनाइरहेका छन् र आफ्नो राजनीतिक स्वार्थ लादिरहेका छन् । नेपालजस्तो गरिब मुलुक यस्तो आर्थिक उपनिवेशवादको चंगुलमा बढी पर्दछन् ।

विकासोन्मुख देशका नेताले चिन्तन गर्दैनन्, बरू आफ्नो राजनीतिक भविष्यको चिन्ता गर्दछन् । अहिले हाम्रो देशमा हरेक निर्णय गर्नुअगाडि त्यो निर्णयले आफ्नो भविष्यमा आफूलाई के फाइदा हुन्छ ? भन्ने चिन्ता नेताहरुलाई हुन थालेको छ । हामीबाट राजनीति ममा केन्द्रित भएको छ ।

चाहे संविधान संशोधनमा देखिएका असजिला हुन् वा शासनसत्ताका कुरा, संघीयताका कुरा हुन् वा नागरिकताका विवादित कुरा, यी सबैमा ठूला नेताहरुको व्यक्तिगत भविष्यको चिन्ता जोडिन थालेपछि सानो समस्या पनि दिन प्रतिदिन ठूलो हुँदै गएको छ । निस्वार्थ भावना र चिन्तनले मात्र समस्याको निकास निस्कन्छ । व्यक्तिगत चिन्तामा रूमल्लिँदा समस्या झन् झन् बल्झिन्छ ।

नेपालको पछिल्लो समस्या भनेकै नेताहरु चिन्तनको डुंगा छोडेर चिन्ताको डुंगामा हाम फाल्नु हो । यस्तो व्यक्तिगत चिन्ताको डुंगा त कुनै पनि बेला डुब्न सक्छ । डुंगा डुब्दा यात्री पनि डुब्छ । त्यसैले, देशले भोगिरहेको समस्याबाट मुक्ति पाउन व्यक्तिगत भविष्यको चिन्ता छाडेर देश र जनताका लागि चिन्तन गरौँ ।

समसामयिक राजनीतिमा देखिएका समस्याको समाधान त्यति टाढा छैन । एकपटक पूर्वज राजनीतिक चिन्तकहरुका भनाइलाई सम्झौँ, जसले सिद्धान्तमा मात्र होइन व्यवहारमै राजनीतिलाई आदर्शको महलका रुपमा स्थापित गरे ।

एकपटक छातीमा हात राखेर हाम्रै पुर्खाहरुलाई सम्झौँ, जसले यो देशको लागि बलिदानी गरे । इतिहासको मनन गर्दै देशका शीर्ष नेताहरुले निस्वार्थ भावनाका साथ आफ्नो भविष्यको चिन्ता छोडेर देश र जनताको भविष्यप्रति चिन्तन गर्ने हो भने वर्तमान राजनीतिमा देखिएको समस्याको गाँठो सजिलै फुक्छ ।

न्यूज अभियानका लागि चितवन पोष्टबाट (tikaram.pokharel@gmail.com)

एनभिएम ग्रुपद्वारा संचालित यस् न्यूज अभियान डट कममा तपाईं हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् ।

ताजा भिडियो ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan