Sunday 24th of September | २०७४ असोज ८ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

पृथ्वीनारायण शाह, हिलिहाङ र बीपी

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष २५ सोमबार
newsabhiyan
newsabhiyan

विमन लिम्बू । हरेक वर्ष पुस २७ गते नजिकिँदै गर्दा पृथ्वीनारायण शाहलाई राष्ट्रनिर्माताको हैसियत दिन हुने कि नहुने भन्ने विषयमा बहस हुने गरेको छ । विश्वका सबैभन्दा पुराना १० वटा राज्यको नाम लिनुपर्दा नेपालको नाम आउने गर्दछ । नेपालको भूगोल कहिले निकै ठूलो र कहिले निकै सानो रहेको इतिहासले देखाउँछ । हाल कायम रहेको भूगोल पृथ्वीनारायण शाहको नेतृत्वमा भएको पछिल्लो एकीकरणको प्रतिफल हो ।

हामीले अहिले जुन भूगोललाई नेपाल मानेका छौं, त्यसको   पुनर्निर्माण पृथ्वीनारायण शाहको नेतृत्वमा भएको हो भन्ने कुरामा दुईमत छैन । त्यसैले पृथ्वीनारायण शाहलाई राष्ट्रनिर्माताको हैसियत दिन कुनै कन्जुस्याइँ गर्नु जरुरी छैन । देश भनेको भूगोल, जनता र भाषाको समष्टि रूप हो ।

आधुनिक नेपालको भूगोल पृथ्वीनाराण शाहको नेतृत्वमा एकीकरण भयो, भाषाको माध्यमबाट एक सूत्रमा ल्याउने काम भानुभक्त आचार्यले गरे र जनतालाई अधिकार सम्पन्न बनाएर एक सूत्रमा ल्याउने कामको नेतृत्व बीपी कोइरालाले गरे ।

यी तीनजना नेपालका राष्ट्रिय विभूति हुन् । यी तीन विभूतिमध्ये एकजनालाई ठूलो अर्कोलाई सानो भन्न थालियो भने सबैको उचाइ घट्छ । अहिले भएको त्यही हो । पृथ्वीनारायण शाहलाई महान भन्न बीपीको योगदानलाई हिलो छ्याप्नु जरुरी छैन, बीपीलाई महान देखाउन पृथ्वीनारायण शाहको योगदानलाई हिलो छ्याप्नु जरुरी छैन, तर पञ्चायती व्यवस्थाको लामो कालखण्ड बीपी कोइरालालाई हिलो छ्याप्दैमा बित्यो, अहिले पृथ्वीनारायण शाहमाथि हिलो छ्यापिँदैछ ।

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहमाथि अहिलेको पुस्ताले प्रश्न उठाउनुको मुख्य कारण उनका उत्तराधीकारीहरूको दुष्कर्म हो । बुहारी राजेन्द्रलक्ष्मी शाह र कान्छा छोरा बहादुर शाहबाहेक पृथ्वीनारायण शाहका उत्तराधिकारी सबैले मुलुकलाई धोका दिएको इतिहास देखिन्छ ।

मुलुकलाई सबैभन्दा ठूलो धोका दिँदै प्रतिगमनमा धकेल्ने मुख्यपात्र महेन्द्र शाह हुन् भन्ने कुरा इतिहासले प्रमाणित गरेको छ । तर पृथ्वीनारायण शाहसँगै राष्ट्रिय विभूतिको सूचीमा महेन्द्रको नाम पनि समावेश गराइयो । जब पृथ्वीनारायण शाह र महेन्द्र शाह उस्तै उस्तै हुन् भनेर प्रचार गरियो, तब पृथ्वीनारायण शाहमाथि प्रश्न उठ्यो । जबकि यी दुई पात्रको तुलना आवश्यक नै थिएन ।

पृथ्वीनारायण शाहका सच्चा उत्तराधिकारी भानुभक्त आचार्य र बीपी  कोइराला हुन् भन्ने यथार्थतालाई ढाकछोप गर्दै महेन्द्रको नाम अघि सारिएपछि गडबड सुरु भएको हो । दिव्योपदेशमा पृथ्वीनारायण शाहले स्पष्ट रूपमा भनेका छन्– ‘नेपाल भनेको दुई ढुंगाबीचको तरुल हो, लोकसम्मतिका आधारमा अघि बढ्न सकिएन भने मुलुक नरहन सक्छ ।’

उनले नेपाललाई अरु उपमा नदिएर दुई ढुंगाबीचको तरुल भन्ने उपमा किन दिए त ? ढुंगा भनेको स्थायी हो, तर नियमित मलजल र माटो पु¥याउन सकिएन भने तरुल स्थायी रहँदैन,  मलजल नपाए मर्छ । त्यसैले लोकसम्मतिका आधारमा अघि बढे मात्रै मुलुकले स्थायित्व पाउँछ भन्ने भनाइ उनको थियो ।

पृथ्वीनारायण शाहले प्रजा मोटा भया दरबार बलियो हुन्छ, लोकसम्मतिका आधारमा मुलुक चलाउनुपर्छ भन्ने कुरा दिव्योपदेशमा उल्लेख गरेका छन् भने बीपी कोइरालाले प्रजातन्त्रविना देश रहँदैन भनेका छन् । यी दुवै भनाइको तात्पर्य एउटै हो ।

पृथ्वीनारायण शाहले आफ्नो दिव्योपदेशमा भनेका छन्– ‘म विराज बखतीलाई काजी बनाउन चाहन्थें, तर दुनियाँसँग बुझ्दा कालु पाण्डे काजी बनोस् भन्ने चाहना रहेको पाएँ, त्यसैले कालु पाण्डेलाई काजी बनाएँ । जनता जोसँग राजी हुन्छन्, उसैलाई काजी बनाउनू ।’

पृथ्वीनारायणको पालामा अहिलेको जस्तो मतदान गर्ने प्रणाली थिएन, जनताकहाँ प्रत्यक्ष पुगेर राय लिनु निकै कठिन काम थियो, तर पनि उनले राज्यको कार्यकारी प्रमुख (काजी) नियुक्ति गर्दा घरघरमा दूतहरू पठाई राय लिने गरेका थिए । किनकि जनताको सहभागिता बेगर राज्य सञ्चालन गरियो भने मुलुक रहँदैन भन्ने उलाई थाहा थियो । तर उनका उत्तराधिकारीहरूले यो मर्मलाई ख्याल नगर्दा मुलुक अंग्रेजको अर्धउपनिवेश जस्तो बन्न पुग्यो ।

जनताको ठूलो बल मद्दत लिएर बीपी कोइरालाको अगुवाइमा भएको २००७ सालको जनक्रान्ति सफल भएपछि मात्रै पृथ्वीनारायण शाहले भनेजस्तो लोकसम्मतिका आधारमा कार्याकारी प्रमुख (प्रधानमन्त्री) बन्ने प्रणाली स्थापित भयो । २०१५ सालको आमनिर्वाचनमा जनताले संसद् र सरकार चुने ।

तर राजा महेन्द्रले १८ महिना नबित्दै जननिर्वाचित सरकार विघटन गरी शासनसत्ता आफ्नो हातमा लिए । अधिकारविहीन प्रधानमन्त्री आफैंले मनोनीत गर्न थाले । राजा महेन्द्रको यो कदम भनेको पृथ्वीनारायण शाहको विचारमाथिको विभत्स ढंगको बलात्कार थियो ।

मुलुक दुई ढुंगाबीचको तरुल हो, मलजल नपाए कुहिन सक्छ भन्ने कुराको ख्याल बीपी कोइरालाले जुन हदसम्म गरेका थिए, त्यो कुरालाई राजा महेन्द्रले हेक्का राखेनन् ।

आजसम्म पनि हामीले राष्ट्रियता बलियो भयो भनेर ढुक्क हुनसक्ने अवस्था नआउनुको मुख्य कारण भनेको राजा महेन्द्रको यही मुख्र्याइँ हो । जसले पृथ्वीनारायण शाहको विचारमाथि हुर्मत लियो, त्यसैलाई सबैभन्दा महान भन्दै राष्ट्रिय विभूति घोषणा गरिएपछि पृथ्वीनारायणमाथि प्रश्न उठ्नु स्वाभाविकै हो ।

पृथ्वीनारायण शाहको पालामा गोरखादेखि पूर्वको टिस्टासम्मको भूभाग एकीकरण भएको हो । त्यसेला काठमाडौं उपत्याकालाई मात्रै नेपाल भनिन्थ्यो, त्यसभन्दा पूर्वतर्फ वल्लो किराँत, माझ किराँत, पल्लो किराँत, लिम्बुवान, सिक्किमलगायतका स–साना राज्य थिए । जसमध्ये लिम्बुवान र सिक्किम केही बलिया थिए ।

पृथ्वीनारायण शाहले वल्लो किराँत, माझ किराँत र पल्लो किराँत सजिलै जिते पनि लिम्बुवानसँगका धेरै युद्धहरू न हार न जितको अवस्थामा पुगेको इतिहासमा उल्ल्लेख छ । उत्ता सिक्किम र लिम्बुवानबीच पनि  पटक पटक युद्ध भइरहन्थ्यो । दुईतिरको युद्धका कारण लिम्बुवानका राजा हिलिहाङ आजित भएका थिए । यो कुरा थाहा पाएपछि पृथ्वीनारायण शाहले लिम्बुवानका राजा हिलिहाङसँग मित लगाएर सम्झौता गरी सिक्किमसँग लडाइँ गरेका थिए ।

यसरी सिक्किमको केही भूभाग लिम्बुवानमा गाभिएको थियो । पछि हिलिहाङले किपटको अधिकार आफूलाई रहने सर्तमा आफ्नो देशलाई नेपालमा विलय गराएका थिए । त्यसकारण लिम्बुवानका राजा हिलिहाङ पनि राष्ट्रनिर्मातामध्येका एक हुन् ।

तर एकीकरणमा महत्वपूर्ण योगदान पु¥याएका हिलिहाङ मात्रै होइन, अन्य धेरैको इतिहास मेट्ने काम पृथ्वीनारायण शाहको उत्तराधिकारीहरूले गरे । जसका कारण पृथ्वीनारायण शाहको बद्नाम गर्न खोज्नेहरूले मौका पाए ।  पृथ्वीनारायण शाहलाई शीर्षस्थानमा राख्दै नेपाल एकीकरणमा योगदान पु¥याउने वीर सपुतहरूको इतिहास खोतलेर नेपाल निर्माणको अभिलेख तयार गर्नुपर्छ । र, एकीकरणका अभियान्ता राजा हिलिहाङलाई राज्यले स्मरण गर्नुपर्छ ।

न्यूज अभियानका लागि तरुणबाट 

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan