Saturday 29th of April | २०७४ बैशाख १६ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

संशोधन प्रस्तावपछि खुल्यो निर्वाचनको बाटो

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष २५ सोमबार
newsabhiyan
newsabhiyan

काठमाडौं, २५ पुस । एक महिनादेखि अवरुद्ध संसद् हिजो आइतबार ३ बजेदेखि सुचारु भएको छ । एमालेको सामान्य होहल्लाबीचमै कानुनमन्त्री अजयशंकर नायकले संशोधन विधेयकलगायत विषय प्रवेश गराएपछि आजदेखि संविधान संशोधन प्रस्तावमा छलफल हुने भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीमाथिको महाअभियोग पनि हिजै संसद्को महाअभियाग सिफारिस समितिमा पुगेको छ भने लेखा समितिका सभापतिको निर्वाचन अबको चार दिनपछि हुँदैछ ।

लेखा समितिको सभापतिमा एमालेको दाबी भए पनि माओवादी केन्द्रले पाउने सम्भावना बढेको छ । हिजो बिहानसम्म जटिल देखिएको राजनीति एकाएक सहजतातर्फ बढेकाले केही दिनभित्रै निर्वाचनको मिति घोषणा हुने भएको छ ।

द्रुत गतिमा विकास भएको राजनीतिसँग एमाले नेताहरूले भने सत्ता बार्गेनिङको राजनीति भित्रभित्रै चलाएका छन् । राष्ट्रिय सहमतिको सरकार गठन गरी चुनाव घोषणा गर्न कांग्रेस, माओवादी र मधेसी दल तयार भए संविधान संशोधन विधेयक पारित गराउन मार्गप्रशस्त गरिदिने सर्त एमालेले अघि सारेको थियो ।

सर्वोच्च अदालतले फैसलामा उल्लेख गरेअनुसार सीमांकनको संशोधन थाती राख्ने हो भने संविधान संशोधन विधेयकलाई समर्थन गर्ने संकेत यसअघि नै एमालेले दिइसकेको थियो । संविधान संशोधन प्रस्ताव राष्ट्रघाती भएको ठहर गर्दै सदन र सडक आन्दोलनमा उत्रेको एमालेले भित्रभित्रै सत्ताका लागि बार्गेनिङ गरिरहेको छ भन्ने विश्वास धेरैलाई लागेको थिएन, तर कांग्रेस नेताहरूसँगको गोप्य बैठकमा एमालेका नेताहरूले मुखै खोलेर सत्ताको बार्गेनिङ गरेका छन् ।

५ नम्बर प्रदेशको आन्दोलन तुहिएपछि एमालेले काठमाडौंको जनप्रदर्शनको आयोजना गरेको थियो । ५० हजार मान्छे उतार्ने भन्दै जनप्रदर्शन गरिए पनि अपेक्षा गरे जस्तो धेरै मान्छे उत्रेनन् । एमालेको काठमाडौं उपत्यकामा मात्रै तीन हजारको हाराहारीमा पूर्णकालीन सदस्य छन् ।

काठमाडौं उपत्यकाबाट मात्रै संविधानसभाको गत निर्वाचनमा एमालेले करिब एक लाख मत पाएको थियो । तर निःशुल्क बसको व्यवस्था गरेर १४ वटा जिल्लाबाट मान्छे ओसार्दा पनि एमालेको २२ गतेको जनप्रदर्शनमा १० हजारभन्दा बढी मान्छे सहभागी भएनन् ।  खुल्ला मञ्चमा आमसभा गर्ने भनिए पनि मान्छेको सहभागिता नहुने भएपछि त्यही दिन बिहान राष्ट्रिय सभागृहको सडकमा मञ्च बनाइयो, तर महेन्द्र पुलिस क्लब अगाडिको प्रदर्शनीमार्गको सडकसमेत भरिएन ।

जतिसुकै चर्का राष्ट्रवादको नारा लगाइए पनि आन्दोलनमा जनताले साथ नदिएपछि एमालेले आमसभा सकिएलगत्तै त्यसै दिन बेलुकादेखि सत्ता समीकरणको नयाँ पासा फ्याँकेको हो । आमसभामा सम्बोधन गर्नासाथ एमालेका दुई मुख्य नेताहरू माधव नेपाल र वामदेव गौतम माओवादी नेताद्वय  पुष्पकमल दाहाल प्रचण्ड र नारायणकाजी श्रेष्ठ कहाँ पुगेका थिए ।

स्रोतका अनुसार सुरक्षागार्डलाई समेत जानकारी नदिई शुक्रबार साँझ भएको उक्त भेटमा सुरुमै माओवादी नेता नारायणकाजीले भने– ‘राष्ट्रिय सहमतिको सरकार गठन गरी चुनावमा जाऔं, मधेसी दललाई चुनावमा सहभागी गर्न संशोधन प्रस्ताव ल्याइएको हो, यसमा तपाईहरूले साथ दिनोस् ।’

श्रेष्ठको प्रस्तावलाई एमाले नेताद्वयले  स्वीकार गरको स्रोतले बताएको छ । उनीहरूले भने– ‘राष्ट्रिय सहमतिको सरकार गठन गरी चुनाव घोषणा गर्न कांग्रेस, माओवादी र मधेसी दल तयार भए संविधान संशोधन विधेयक पारित गराउन मार्गप्रशस्त गर्छौं, तर सेफल्यान्डिङका लागि तपाईहरूले सीमांकन संशोधनलाई थाती राखिदिनुप¥यो ।’

एमाले नेताहरूको उक्त भनाइ सुनेपछि बसिरहेको ठाउँबाट जुरुक्क उठ्दै प्रधानमन्त्री प्रचण्डले ‘ल डन’ भनेका थिए’ एमाले निकट स्रोतले भन्यो । राजधानीकै एक एमाले कार्यकर्ताको घरमा उक्त भेटघाट भएको थियो ।

नेपाली कांग्रेसलाई सत्ता हस्तान्तरण गर्ने समयमा प्रधानमन्त्री प्रचण्डले राजीनामा दिने र त्यसपछि हुने प्रधानमन्त्री निर्वाचनमा आफूले पनि उम्मेदवारी दिने भन्दै सहयोगका लागि गौतमले सहयोग गरिदिन माओवादी नेताहरूलाई आग्रह गरेका थिए । एमालेको तर्फबाट गौतमलाई भावी प्रधानमन्त्रीको रूपमा अघि सार्ने र माओवादी केन्द्रलाई उप–प्रधानमन्त्रीसहित गृह मन्त्रालय दिने प्रस्ताव एमालेबाट गरिएको थियो ।

अध्यक्ष खड्गप्रसाद ओलीसँग बिच्केका गौतमले एमाले नेता माधव नेपालको साथमा प्रधानमन्त्री बन्ने प्रस्तावलाई अघि बढाएपछि नारायणकाजीले यो विषयमा प्रधानमन्त्री प्रचण्डलाई ब्रिफिङ गरेका थिए । शुक्रबार साँझ माधव नेपाल, वामदेव गौतमले माओवादी नेताहरूसँग गरेको यो छलफलबारे शनिबार बिहान अध्यक्ष ओलीलाई जानकारी गराइएको थियो ।

आगामी निर्वाचनलाई ध्यानमा राखेर माओवादी र एमालेको समीकरणमा समेत उल्लेख्य सहयोग पुग्ने माओवादीको अपेक्षा रहेकै कारण प्रचण्ड सरकारले राजीनामा दिँदा अब आउने समीकरणमा कांग्रेसले धोका पाउने हो कि भन्ने आशंका गरिएको छ ।

सत्ता समीकरणकै संकेतका रूपमा कमल थापा र विजय गच्छदार पनि एमाले नेतृत्वसँग नजिक रहेकाले पनि यो विषयमा शंकाको ठाउँ रहेको सूत्रहरूले जनाएका छन् । संशोधन विधयकलाई सत्ता समीकरण र निर्वाचनसँग दाँजेर एमालेले कांग्रेसबाट माओवादी अलग्याउने र आफू पुनः सत्तामा जान खोजेको अवस्था छ, स्रोतले भन्यो, खबर तरुणमा उल्लेख गरिएको छ ।

जसलाई माओवादीका युवा तथा मध्यमस्तरका नेताहरूले पनि सहयोग गर्ने एमालेको बुझाई छ । शनिबार साँझ वामदेव निवास भैंसेपाटीमा भएको स्थायी समितिको बैठकमा भने यो विषयले प्रवेश पाएन । यसलाई कम्तीमा आउँदो डेढ महिनासम्म गोप्य राख्ने सहमति भएको थियो ।

तत्कालका लागि कांग्रेस र माओवादीबीचको सहकार्य तोड्नु नै एमालेका लागि सबैभन्दा ठूलो सफलता हुने भएकाले पनि वामदेव गौतमलाई अघि सारी माओवादी–कांग्रेस गठबन्धन तोड्ने तयारीका लागि यो पूर्वाभ्यास भएको स्रोतले जनाएको छ ।

तर एमालेको यो षड्यन्त्रमा फस्न नहुने तर्क पनि माओवादी केन्द्रमा उत्तिकै सशक्त छ । एमालेसँग मिलेर जाँदा आगामी निर्वाचनबाटै पार्टी समाप्त हुने जनार्दन शर्मा, वर्षमान पुनहरूको विश्लेषण छ ।

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

ताजा भिडियो ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan