• FB
  • FB
  • FB
Tuesday 28th of February | २०७३ फाल्गुण १७ मंगलबार

जिशिअ नपुगेको विद्यालयमा रोट्रयाक्टको सहयोग

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष २६ मंगलबार
newsabhiyan

विशन क्षेत्री, पर्वत, २६ पुस । २०५७ सालमा यो विद्यालय खुलेको हो । गाउँमा रहेका बालबालिकाको शिक्षाको लागि विद्यालयको आवश्यकता महसुस गरि स्थानीयवासीको सहयोगमा कक्षा तीनसम्म अध्यापन हुनेगरि विद्यालयको स्थापना भयो ।

विद्यालयले यहाँ रहेका दलितबाहुल्य विद्यार्थी तथा गैह्रदलित विद्यार्थीलाई शिक्षा लिन निकै सजिलो भयो । जिल्ला शिक्षा कार्यालयले सहयोग दिएको खण्डमा विद्यालयमा थप कक्षा अध्यापन गराउने लक्ष्य राखी विद्यालयमा अध्यापन सुरु गरिएको हो ।

तर नाग्लीवाङ्ग ४ मा रहेको यस जनजागृति प्राथमिक विद्यालयमा स्थापनादेखि हालसम्म एकपटक पनि कुनै पनि जिल्ला शिक्षा अधिकारी आएका छैनन् । विद्यालयमा शिक्षकको अभाव छ । बालबालिकालाई पिउने पानीको पनि समस्या छ । गाविसकै विकटको यो विद्यालयलाई जिल्ला शिक्षा कार्यालयले हेला गरेको छ ।

विद्यालयको समस्या सुनाउँदै प्रधानाध्यापक तारा महत भन्छिन्, शिक्षालाई प्रविधियुक्त बनाउन अन्य विद्यालयमा आईसिटी, कम्प्युटर, अङ्गे्रजी माध्यममा अध्यापन हुँदा यहाँ भने कालोपाटीमै अध्यापन गराउनु परेको छ । गुणस्तरीय शिक्षाको लागि लोकप्रिय नारा ल्याईएतापनि सबै कुराको अभावले अध्यापनमा प्रभाव परेको उनको भनाई छ ।

उनी थप्छिन्, ‘यहाँ अध्ययन गर्ने बालबालिका अत्यन्त कमजोर घरायसी आर्थिक अवस्था भएका परिवारबाट रहेका छन् । जाडो मौसम भएतापनि एकसरो लुगामा विद्यालय आउँछन्, कतिपयले खाना खान्छन् त कतिपयले अरुले दिएको तथा बासी खाना पाएमा खाएर नत्र भोकै विद्यालय आउने गरेका छन् ।’

स्थापनाको १६ वर्षपछि बल्ल विद्यालयमा सेतोपाटी ल्याईएको छ, तीन रोपनीको सार्वजनिक जग्गामा बनाईएको विद्यालयमा विद्यार्थीका लागि खेलमैदानको अभाव छ, विद्यालय अगाडि भिर हुँदा तारजाली गर्न सकिएको छैन्, यसले विद्यार्थीको लागि पनि जोखिम बढाएको छ । महत भन्छिन्, विद्यालयको अवस्था अत्यन्तै दयनीय छ, विद्यालयमा कहिलेकाही श्रोत व्यक्ति आउने गरेतापनि जिल्ला शिक्षा अधिकारी भने अहिलेसम्म आएका छैनन् ।

विद्यालयमा ईसिडी देखि कक्षा तीनसम्म ४७ जना विद्यार्थीले अध्ययन गर्दै आईरहेका छन् । यीमध्ये ३८ जना विद्यार्थी त दलित मात्रै रहेका छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमल बहादुर खड्का भन्छन्, ‘कक्षा एकदेखि तीनसम्म दुई जना शिक्षकले अध्यापन गराउँदै आईरहेका छौँ, ती मध्ये एक जना राहत तथा एक जनाको अस्थायी दरबन्दी रहेको छ ।’

उक्त विद्यालयमा जिल्ला शिक्षा कार्यालयले २०६८ सालमा नयाँ दुईकोठे पक्की भवनका लागि सात लाख ५० हजार तथा गतसाल भवन मर्मतका लागि २५ हजार छुट्याएको थियो । त्यस्तै शौचालय निर्माणका लागि दुई लाख रकम विनियोजन गरि आफ्नो उपस्थिती देखाएको शिक्षा कार्यालयबाट विद्यालयको निर्माणको झन्डै दुई दशक हुन लाग्दा पनि एउटा जिल्ला शिक्षा अधिकारी उक्त विद्यालयमा पुग्न सकेका छैनन् ।

शिक्षा कार्यालय पुग्न नसकेको उक्त विद्यालयमा भने सामाजिक क्षेत्रमा अग्रणी संस्था रोट्रयाक्ट क्लव अफ पर्वत र रोट्रयाक्ट क्लव अफ काठमाण्डौ नर्थले सोमबार एक संयुक्त कार्यक्रमको आयोजना गरि विद्यालयका सबै विद्यार्थीलाई स्वेटर वितरण गरेको छ ।

नाग्लीवाङ्गका युवा समाजसेवी सोम जिसीको अनुरोधमा दुवै क्लवले संयुक्त कार्यक्रमको आयोजना गरि विद्यार्थीलाई सहयोग गरिएको हो कार्यक्रममा विद्यालयमा रहेका ४७ जना विद्यार्थीलाई दुवै क्लवका पदाधिकारीहरुले खाजा खर्च कटाएर जाडो मौसममा उपयुक्त हुने कपडा वितरण गरिएको छ । यसबाट विद्यार्थीहरुलाई केही मात्रामा भएतापनि राहत हुने कार्यक्रमका अध्यक्ष आरसी पौडेलले बताए ।

विद्यार्थीको आधारभूत आवश्यक पुरा भएमा शैक्षिक सुधारमा सहयोग पुग्ने उनले बताए । कार्यक्रममा क्लवको सहयोग प्रति आभार प्रकट गर्दै प्रधानाध्यापक तारा महतले यसले शैक्षिक सुधारमा ठुलो प्रभाव पार्ने बताईन् ।

त्यस्तै कार्यक्रमका प्रमुख अतिथी तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमल बहादुर खड्काले गरिब विद्यालयमा सानो सहयोगले पनि ठुलो प्रभाव पार्ने बताउँदै क्लवको कार्यको प्रशंसा गरेका थिए ।
कार्यक्रममा जनकल्याण माविका प्रअ नारायणदत्त रेग्मी, विव्यस अध्यक्ष सोम जिसी, नेपाली कांग्रेसका दुर्गा बहादुर खत्री तथा आयोजकको तर्फबाट प्रवीण खड्का, ऋषिराज अधिकारीले मन्तव्य राखेका थिए ।

कार्यक्रम संयोजक विशन क्षेत्रीको स्वागत रहेको कार्यक्रममा सचेतक प्रमोद शर्माले कार्यक्रमको समय निर्धारण गरेका थिए । उक्त कार्यक्रमको सञ्चालन क्लवका सचिव गणेश पौडेल र सविता अर्यालले संयुक्त रुपमा गरेका थिए ।

कार्यक्रममा विद्यालयका शिक्षक, व्यवस्थापन समितिका पदाधिकारी तथा अभिभावकहरुको उपस्थिती रहेको थियो ।

 

एनभिएम ग्रुपद्वारा संचालित यस् न्यूज अभियान डट कममा तपाईं हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् ।

ताजा भिडियो ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan