• FB
  • FB
  • FB
Monday 16th of January | २०७३ माघ ३ सोमबार

सरकार विरुद्ध एमाले आक्रमक, विदेशनीति कार्यदलमा बस्न अस्विकार

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष २७ बुधबार
newsabhiyan

काठमाडौं, २७ पुस । सरकार विरुद्ध एमाले पछिल्लो समय झनै आक्रमक बन्दै गएको छ । सरकारका गतिवीधि ठिक नभएको भन्दै प्रमुख प्रतिपक्षी एमालेले सहभागी हुन अस्वीकार गरेपछि सरकारले गठन गर्न लागेको परराष्ट्रनीति मस्यौदा कार्यदल अलपत्र परेको छ ।
 
परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले प्रमुख राजनीतिक दलबाट कार्यदलमा सदस्य राखेर साझा परराष्ट्र नीतिको मस्यौदा बनाउन गरेको घोषणा प्रमुख प्रतिपक्षीका कारण अलपत्र परेको हो । 
 
दाहाल नेतृत्वको सरकार ’लम्पसारवादी भारतपरस्त’ भएको उल्लेख गर्दै यो सरकारले ल्याउन लागेको विदेशनीति भारतपरस्त हुने निष्कर्षसहित एमालेले कार्यदल गठनमा असहयोग गर्ने नीति लिएको एमाले स्रोतले बतायो ।
 
एमालेले तीन दिनअघि परराष्ट्रमन्त्री महतलाई पत्र लेखी सरकारले ल्याउन लागेको परराष्ट्रनीति आफूलाई मान्य नहुने बताएको हो ।
 
‘यो सरकारले ल्याउन लागेको विदेश नीति र हाम्रो पार्टीको विदेशनीतिसम्बन्धी अवधारणा कत्ति पनि मेल खाँदैन’, एमाले नेता कृष्णगोपाल श्रेष्ठले भने, ‘त्यसकारण हामी विदेशनीति मस्यौदा कार्यदलमा प्रतिनिधित्व गर्न सक्दैनौं ।
 
यसबारेमा पार्टीको आधिकारिक धारणा लिखित रूपमा परराष्ट्रमन्त्रीलाई जानकारी गराइसकेका छौं ।’ विदेशनीति मस्यौदा कार्यदलमा सदस्य पठाउने विषयमा एमालेभित्रै पनि विवाद देखिएको छ ।
 
स्रोतका अनुसार पार्टीको विदेश विभाग प्रमुखसमेत रहेका वरिष्ठ नेता माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओलीलाई थाहै नदिई सुटुक्क सैन्यविद् दीपकप्रकाश भट्ट र पत्रकार विष्णु रिजालको नाम परराष्ट्रनीति मस्यौदा कार्यदलका लागि परराष्ट्रमन्त्री महतलाई अघिल्लो साता पठाइदिएका थिए ।
 
तर अध्यक्ष ओलीले मुलुकको विदेशनीति समीक्षा गर्नेजस्तो संवेदनशील विषयमा वर्तमान सरकारसँग आफ्नो पार्टीको अवधारणा र सिद्धान्त नमिल्ने जनाउँदै तत्काल पत्र लेखी नाम आधिकारिक नरहेको जानकारी मन्त्री महतलाई गराउन नेता श्रेष्ठलाई निर्देशन दिएका थिए ।
 
अन्नपूर्णका अनुसार, एमाले विदेश विभागका सचिव यादवचन्द्र शर्माले विभागका तर्फबाट भट्ट र रिजालको नाम लिखित रूपमै जानकारी गराइएको बताए । तर त्यसपछिको घटनाक्रमबारे आफू अनभिज्ञ रहेको जनाए । एमाले अध्यक्ष ओलीनिकट श्रेष्ठले भने विदेश विभागका तर्फबाट कार्यदलका लागि दुईजनाको नाम प्रस्ताव गरिएको जानकारी नरहेको बताए ।
 
‘पार्टीको कुन तह वा तप्काले के प्रस्ताव गरेको थियो त्यसको अर्थ रहँदैन । पार्टी अध्यक्षको निर्णय नै पार्टीमा आधिकारिक हुन्छ । म तपार्ईंलाई पार्टी अध्यक्षको धारणा सुनाउँदैछु’, श्रेष्ठले भने । महतले एमालेको नाम प्राप्त भएको भन्दै मस्यौदा कार्यदल चाँडै गठन हुने बताएका थिए । तर अध्यक्ष ओलीले कार्यदलमा आफ्नो पार्टी सहभागी नहुने बताएपछि कार्यदल अलपत्र परेको हो ।
 
प्रमुख राजनीतिक दलबाट परराष्ट्र मामिलामा विज्ञता भएका व्यक्तिलाई सदस्य राखेर विश्वपरिस्थितिसँग मेल खाने देशको राष्ट्रिय स्वार्थ पूर्तिका लागि साझा परराष्ट्रनीति ल्याउनुपर्ने आवश्यकता महसुस भएको मन्त्री महतले बताएका थिए ।
 
मन्त्री महत आफैं उक्त कार्यदलको संयोजक बन्ने पक्षमा छन् । १० देखि १२ जना सदस्य रहने उक्त कार्यदलले विश्वव्यापी, क्षेत्रीय र घरेलु सन्दर्भ हेरी नयाँ खालको बृहत् विदेशनीतिको दस्ताबेज मस्यौदा ६ महिनाभित्र ल्याउने अवधारणा मन्त्री महतले अघि सारेका छन् ।

एनभिएम ग्रुपद्वारा संचालित यस् न्यूज अभियान डट कममा तपाईं हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् ।

ताजा भिडियो ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan