Saturday 25th of March | २०७३ चैत १२ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

देशभक्तको हविगत

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष २७ बुधबार
newsabhiyan
newsabhiyan

-डिलकाजी पौडेल


के म देशभक्त हूँ ? मैले मलाई नै सोधेँ । हूँ, म साँच्चै देशभक्त हूँ ! छुच्चो दिमाख पड्किहाल्छ । मन–मस्तिष्कले परामर्शको खोजी गरिरहेको हुन्छ । कारूणिक द्विविधा हट्न नपाउँदै एकोहोरो टोलाइरहेका आँखाका नानी झिसमिस बनिदिन्छ ।

‘पक्का पनि म आत्मीय देशभक्त होइन’ तर बाहिरी जीवनमा म आफूलाई देशभक्तिमा ढाल्ने पूर्ण पर्यत्न गरिरहेकै हुनेछु । सोच्छु, यदि म देशभक्त हुन्थेँ भने, मैले सामान्य जीवनमा कहिल्यै कसैलाई झुक्याउने, ढाँट्ने, छलकपट गर्ने, आफू अगाडि बढ्ने बहानामा अरुलाई होच्याउनेदेखि लिएर राष्ट्रको सम्पत्तिमा चासो नदिने, भ्रष्टाचार गर्ने आदि–इत्यादि गर्ने थिइनँ होला !

यत्ति सोच्न नपाउँदै मेरो माथिल्लो कन्सिरीको रौँ तातेर आयो र बर्बराउन थालेँ– अरु त ठीकै हो चाहेर वा नचाहेरै, जान वा अञ्जानमा गरेँ होला, तर के म सरकारी कर्मचारी वा नेता हूँ र भ्रष्टाचार गर्नलाई ? अहँ, म मान्दिन मैले भ्रष्टाचार गरेँ भनेर ।

निकै गहिरो सोचमा परेँ म, आफैँले आफैँलाई भ्रष्टाचारी भनेकोमा । तव सुरू भो भ्रष्टाचारको विष्लेषण । आखिर के रहेछ भ्रष्टाचार भनेको ? कसरी हुन्छ भ्रष्टाचार ? के सरकारी कर्मचारी र पदमा पुगेका नेतालै मात्रै गर्छन् त भ्रष्टाचार ? म खुल्दुलीले छटपटाउन थालेँ ।

म सन्दर्भग्रन्थ लिई आफ्नो निष्कर्ष निकाल्छु– भ्रष्टाचार एउटा वीष हो जसले देश, सम्प्रदाय अथवा समाजका मानिसको दिमागमा नराम्रो दुर्गन्ध फैलाएको हुन्छ । यसले केवल थोरै इच्छा अथवा अनुचित लाभको लागि सामान्य मानिसलाई बर्वादीतर्फ धकेलिरहेको हुन्छ ।

यसको सम्बन्ध अरु कोहीद्वारा आफ्नो शक्ति अथवा पदको गैरजिम्मेवारी तरिकाले दुरुपयोग गर्नु हो, चाहे सरकारी होस् या गैरसरकारी संस्था किन नहोस् यसको प्रभाव व्यक्तिको विकासका साथै राष्ट्रमा पनि परिरहेको हुन्छ । यही समाज तथा समुदायबीच असमानताका ठूलो कारण हो । साथै यसले राजनीतिक, आर्थिक तथा सामाजिक रुपमा राष्ट्रको प्रगति र विकासमा बाधा पु¥याउँछ ।

वास्तवमा मैले विगतमा गरेको अवैधानिक, अमानवीय, अनुचित कार्य कोट्याउँदै जान थालेँ । सानोमा आमाले ‘कलम किन्’ भनेर दिनुभएको ५ रुपैयाँमा १ रुपैयाँको सुइरो किनेर ४ रुपैयाँको गुच्चा किनेर पल्लोघरे साईंलादाइको छोरासँग जंगलतिर गई खेलेको कुरो टुप्लुक्क दिमागमा उपस्थित हुन्छ । यसलाई के भन्ने भनेर टुङ्गो लगाउन नपाउँदै, ‘भ्रष्टाचार’ बाहिर कानमै गुञ्जिने गरी जिब्रो पड्कियो ।

मैले सुरूवात गरेको भ्रष्टाचारको स्वरुप ‘गर्दा र गरेको सुन्दा’ सामान्य लाग्छ तर वास्तवमै बुझ्दा गम्भीर हुन आउँछ । यसै प्रसङ्गलाई रिउखोलाको पुलसँग जोड्न थालेँ । त्यहाँ पनि सरकारले छुट्याएको ५ रुपैयाँमा मैले जसरी नै १ रुपैयाँको पुल बनाएर ४ रुपैयाँको गुच्चा किनेर खेल्न त गएको होला नि !

त्यसैले त मेरो खोलबिनाको सुइरो भोलिपल्ट भाँच्चिए जसरी मजबुत जगबिनाको पुल बाढीले बगाएर लगेको थियो । उफ ! बच्चाको कुरा के गर्ने, अहिल्यै के–के गर्छु सम्झन मनलाई ताजगी बनाउन लागेँ ।

विवाह दर्ता बनाउन जाँदा ३५ दिन कटिसकेकोले जरिवाना तिर्नुपर्ने नियमलाई मध्येनजर गर्दै विवाहको मिति नै परिवर्तन गरेर आफूलाई महान् सम्झेको घटनाले पनि आफ्नो स्थान लिई छाड्यो र यस घटनालाई पनि भ्रष्टाचारकै स्वरुप नदिइरहन सकिनँ ।

१५–२० हजार मासिक कमाइरहेकै भए पनि, क्याम्पसमा गरिब हुँ भनेर छात्रवृत्ति लिन नचुकेको वास्तविकता पनि बर्रर असिना परे झैँ पर्न लाग्यो । अझ पुरानै विद्यार्थी परिचय–पत्रमा नयाँ मिति राखेर बसभाडामा छुट लिएको आधिकारिक भ्रष्टाचार त ह्वात्तै मैँमाथि हामफालेजस्तो लाग्यो ।

फारम भर्ने लाइनमा बस्नुपर्ने झण्झटले एकजना अगाडि बसेको व्यक्तिलाई २०० रुपैयाँ दिएर ३ घण्टाअघि फारम भरेर फर्केको नेपालमा चल्ने खालको व्यवहारसँगै भनाइहरु पनि गुञ्जिन लाग्यो ‘घुस लिन्या र दिन्या दुवै अपराधी हुन् ।’ अँ त है साँच्चै मन लर्वराउन थाले, आजसम्म मैले कति सामान किनेँ ।

जस्तैः किरानाको खाद्यान्नदेखि लिएर लत्ताकपडा, जुत्ताचप्पल स्टेशनरी सामान, ग्यास, चुलो, दराज, पलङआदि । तर कहिल्यै पनि बिल मागिनँ । बिल दिए पनि समान्य कागजको खोस्टामा लेखेर दिन्छन्, त्यही गोजीमा हाल्यो हिँड्यो । के यो भ्रष्टाचारलाई गरेको प्रोत्साहन होइन र ? आँखा रसाउन थाल्छ । ह्या..! सामान्य जीवनमा आउने पराकम्पनको बारेमा सोचेर भ्रष्टाचारको अन्त्य हुन्छ र ? अहँ, हुँदै हुन्न ।

ठूलै कुरा सोच्नु प¥यो भनेर दायाँ–बायाँ फर्किन्छु केही देख्दिन । देख्छु त केवल खोक्रो देशभक्ति । समाचारमा आउनकै निम्ति गरेको सहयोगले अरुलाई त झुक्याउला, आफैँलाई त पिरोलिरहन्छ नि । अस्ति भूकम्प जाँदा एकजनाले मामाघरको भत्केको फोटो प्रिन्ट गरेर क्याम्पसमा छात्रवृत्ति पाउँ भनी दिएको निवेदन, झुटो हो भनी क्याम्पसमा उजुरी गर्न गइनँ किनकि मलाई के मतलब !

पल्लो भित्ताबाट खसेको आवाजसँगै जीउ सिरिङ्ग भयो र ठूलै स्वरको ठेस लाग्यो । उसो भए केको देशभक्ति त ? जब म काम गरिरहेको हुन्छु । पछाडिबाट आवाज आउँछ ‘दाइ कालिका एफएम कता पर्छ ?’ म जुरुक्क उठ्दै हातको इसाराले देखाउँछु । धन्यवाद दाइ भन्दै बाटो लाग्छ । पुनः ‘दाइ कालिका एफएम कता पर्छ ? हेर्छु, अर्कै रहेछ । के कार्यक्रम रहेछ एफएममा उठेरै उसको गन्तव्यतर्फ सोझिएँ ।

सर सप्तगण्डकी क्याम्पस कता पर्छ ? उठ्नै अल्छी लागेर सीधा जानुस् अनि दायाँ मोडेर ५ मिनेट हिँड्नुस् । हे हजुर ! सेक्युरिटीको अफिस कता होला ? त्यही पल्लोघरको माथि हेर्नुस् त । गएर हेर्दै फर्किआएछ लौ न मैले त फेला पार्न सकिनँ । हेर्दा त पढेलेखेकै जस्तो हुनुहुन्छ, बोर्डमा पढ्नुस् न नाम ।

ममा मानवीय उग्र स्वरुप देखापर्छ, काम गर्नै नदिने भए । देशभक्त हूँ भनेर फूर्ति लगाउने मनुष्य त ठाउँमा आइहालेछ नि ! अगाडि कम्प्युटरमा ठूलो अक्षरमा देखापर्छ । जाबो ४ जनाले सोध्दा त हल्लिने मानिसको चरित्र त्यतिका जनताले नहल्लाउन पनि कसरी ?

नेताप्रति आभार प्रकट गर्न खोज्छु तर फेरि एकाएक सिंगौरी खेल्छु म रिसेप्सनमा बसेको रिसेप्सनिष्ट हूँ र तिनीहरुलाई बताइरहनलाई, मेरो आफ्नो काम गर्नुपर्दैन ? देशभक्त बन्ने सपना टाढिँदै गएको अनुमान पनि नलगाइरहन सक्दिनँ ।

बाइकमा पेट्रोल हालिदिने आश्वासनमा परी बाइक ¥यालीमा जानुलाई देशभक्ति भनिन्छ भने ०४६ सालको जनआन्दोलनमा आमाको पछि–पछि खालीखुट्टा कुदेको हुँ म ! अनि भइनँ त म देशभक्त ? अँ साँच्चै, रक्तिम परिवारको गीत कम मनपर्छ मलाई, लोकदोहोरीमा त झन् ढल्की–ढल्की नाच्छु । अरुलाई सुमधुर दिने स्वर नभए पनि आफ्नो निम्ति त कुनै राष्ट्रिय कलाकारभन्दा कम छैनजस्तो लाग्छ ।

तर, गीत रेकर्ड गर्छु आफैँलाई के नमिले–के नमिलेकोजस्तो लाग्छ सम्झन्छु– आज मलाई रुघा लागेकोले होला यस्तो स्वर आएको । नाचेको त अरुले पनि राम्रै प्रतिक्रिया दिएको मान्छु, त्यसपछि देशभक्तिको आभाष हुन्छ । बुद्धि भ्रष्ट भएकै हो त ? प्रश्नका लाम लाग्न थाल्छन् । नेपाली गीतमा नाच्दैमा देशभक्ति भइन्छ त ? खै के, खै के ! अचानक निधारमा हात बजारिएछ ।

देशमै बसेर आफ्नै सीप, पौरख बेचेर, राष्ट्रको हितको निमित्त राजस्व तिरी व्यवसाय चलाएको छु । कुनै नेताको चाकडी गरेको छैन । आफ्नो आस्था र विश्वास जसले राम्रो गर्छ उसैलाई दिनेछु । राष्ट्रप्रेमको स्टाटस बेला–बेलामा फेसबुकमा हालेकै छु । तर यसो भनिरहँदा विदेशमा रहनेहरुलाई के देशको माया छैन होला ? के उनीहरुमा देशभक्तिको भावना छैन होला भन्ने प्रश्नको उत्तर दिइरहनु नपर्ला ।

वास्तवमा विदेशमा रहँदा देशको माया जति लाग्छ त्योभन्दा स्वदेशमा रहँदा निकै कम लाग्छ । यो कुरा मैले केही समय भारतमा रहँदा अनुभूति गरेकै हूँ । देशमा बसी अरुले विदेशबाट कमाएर, बा आइएमईमा हालिदिएको छु है अनि कान्छाभाइलाई आइफोन पाइस् भन्ने शब्द सुन्दा खुट्टा तीनफिट उठाएर पासपोर्ट नबनाएको पनि होइन ।

स्वदेशको मायामा परेर देशभक्त बनेर हो या सुहाउँदो तलब सुविधा नपाएर कुन्नि आफ्नो कौतुहलता आफैँ मेटाउन नसकेर छटपटीमा पर्दै गर्दा खाना पाकिसकेको आवाजभित्रबाट गुञ्जियो ।

हजुर ! म तब–तबसम्म खाना खान्न, जबसम्म म देशभक्त हूँ कि स्वभक्त हूँ निष्कर्ष निस्कन्नँ । अन्ततः यी मेरा छुद्र व्यवहारले खोक्रो भए पनि देशभक्त बनेकै हूँ न कि पैसा लिएरै समाजसेवा ।

dilkajipaudel@gmail.com / न्यूज अभियानका लागि चितवन पोष्टबाट ।

न्यूज अभियान डट कमको अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् र हरेक खबर विशेष खबरका लागि पल-पलको अपडेट पाउनुहोस् ।

ताजा भिडियो ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan