Friday 28th of July | २०७४ श्रावण १३ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

थापालाई उपप्रधानमन्त्री र परराष्ट्र, गच्छदारलाई उपप्रधानमन्त्री र सञ्चार सहित सरकार विस्तारको तयारी

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष २८ बिहिबार
newsabhiyan
newsabhiyan

काठमाडौं, २८ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । राप्रपा अध्यक्ष कमल थापा र फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारलाई उपप्रधानमन्त्री बनाउने तयारी भएको छ ।

सरकारले संसद्मा प्रस्तुत गरेको संविधान संशोधन विधेयक पारित गराउन पनि प्रधानमन्त्री प्रचण्ड मन्त्रिपरिषद् विस्तारको रणनीतिमा लागेका हुन् । प्रचण्डले युएईको चारदिने भ्रमणअघि नै थापा र गच्छदारलाई मन्त्री बनाउन लागेका छन् ।

प्रचण्ड १ माघमा हुने अन्तर्राष्ट्रिय ऊर्जा सम्मेलनमा भाग लिन युएईको आबुधाबीतर्फ जाँदै छन् ।
प्रधानमन्त्री प्रचण्डले राप्रपा अध्यक्ष थापासँग २६ पुसमा र फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छदारसँग २५ पुसमा छलफल गरेका थिए । प्रचण्ड राप्रपाका थप मन्त्री बनाएर र फोरम लोकतान्त्रिकलाई पनि समेटेर सरकार बलियो बनाउने योजनामा छन्।

कांग्रेसले मन्त्रिपरिषद् विस्तार गर्न सकिने बताए पनि अहिले आफ्नो भागमा परेका मन्त्रालय छाड्न चाहेको छैन । राप्रपा अध्यक्ष कमल थापालाई नभएर नेता दिलनाथ गिरीको नेतृत्व गराएमा सहज हुने कांग्रेसको भनाइ छ । यसो गर्दा अहिले प्रधानमन्त्रीसँग रहेका मन्त्रालयमा राप्रपालाई मनाउन सकिन्छ भन्नेमा कांग्रेस छ ।

सत्ता गठबन्धनको सहमतिअनुसार सभापति शेरबहादुर देउवाको नेतृत्वमा बन्ने सरकारमा राप्रपा अध्यक्ष कमल थापालाई समेट्ने, तर अहिले गिरीलाई नै सरकारमा सहभागी गराउन कांग्रेसले राप्रपासँग छलफल गरेको छ । परराष्ट्र मन्त्रालय छाड्नुपर्ने भएकाले कांग्रेसले थापालाई सरकारमा सहभागी गराउन नचाहेको हो । खबर आजको नयाँ पत्रिका दैनिकमा  छ ।

थापा र गच्छदार सहभागी भए संशोधन विधेयक पारित हुने बुझाइ
प्रधानमन्त्री प्रचण्ड ३७ सिट रहेको राप्रपा र १४ सिट रहेको फोरम लोकतान्त्रिकलाई सरकारमा सहभागी गराउँदा संविधान संशोधन विधेयक पारित हुन बल पुग्ने बुझाइमा छन् । एमालेसहितका विपक्षी नौ दलले विधेयक पारित हुनै नदिने रणनीति अपनाएपछि सरकारले मन्त्रिपरिषद् विस्तार गरेर जाने रणनीति बनाएको हो । राप्रपा र फोरम लोकतान्त्रिकले संशोधनमा खुलेर समर्थन नगरेकाले संशोधनमा समर्थन लिन मन्त्रिपरिषद् विस्तारको तयारी भएको हो ।

राप्रपाभित्रै पनि अप्ठ्यारो
दुई राप्रपा एक नभएको अवस्थामा वाणिज्य र भूमिसुधार मन्त्रालय लिएर राप्रपाको एक पक्ष सरकारमा गएको थियो । तर, राप्रपा र राप्रपा नेपालबीच एकीकरणपछि संसद्मा बलियो शक्ति बनेको छ । अब मन्त्रालय लिँदा दुवै पक्षका नेताहरू सरकारमा सहभागी हुनुपर्ने दबाब नेतृत्वलाई छ । यो अप्ठ्यारो हल गर्न र संविधान संशोधनमा समर्थन खोज्न प्रधानमन्त्रीले राप्रपालाई थप मन्त्रालय दिएर सरकारमा सहभागी गराउन चाहेका हुन् ।

सरकारले भद्रताको शोषण गरिरहन मिल्दैन
अग्नि खरेल, एमाले नेता
हामीले अवरोध गर्दागर्दै संशोधन विधेयक पेस गरिएको हो । तर, अब त्यसैगरी प्रक्रिया अघि बढ्न सक्दैन र त्यसो गर्न एमालेले दिँदैन । हामीले अस्ति भद्रताको सीमाभित्र रहेर विरोध गरेका हौँ, तर हाम्रो भद्रताको शोषण गरिरहन र तोड्न मिल्दैन । हामी हेरिरहेका छौँ, सरकार कसरी प्रस्तुत हुन्छ । सरकार जसरी प्रस्तुत हुन्छ, त्यसैगरी जवाफ दिन हामी तयारी अवस्थामै छौंँ ।

थापालाई उपप्रधानमन्त्री र परराष्ट्र
प्रधानमन्त्री प्रचण्डले राप्रपा अध्यक्ष कमल थापासँग यसअघिको सरकारमा लिएका मन्त्रालय दिने गरी छलफल गरेका छन् । ओली सरकारमा थापा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री थिए । उनलाई सो जिम्मेवारी दिन प्रधानमन्त्री तयार छन् । त्यस्तै स्थानीय विकास र खानेपानी मन्त्रालय दिन प्रधानमन्त्री सकारात्मक रहेको स्रोतको भनाइ छ । दुई राप्रपा एकीकरण भएकाले राप्रपालाई थप तीन मन्त्रालय दिने प्रस्ताव प्रधानमन्त्री प्रचण्डको छ । राप्रपाले अहिले वाणिज्य र भूमिसुधार मन्त्रालय पाएको छ ।

गच्छदारलाई उपप्रधानमन्त्री र सञ्चार
फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारलाई पनि उपप्रधानमन्त्री तथा सञ्चार मन्त्रालय दिने गरी प्रधानमन्त्रीले प्रस्ताव गरेको स्रोतको भनाइ छ । २५ पुसमा गच्छदारसँग बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्रीले दुई मन्त्रालय दिन सकिने बताएको स्रोतको भनाइ छ । सञ्चारबाहेक महिला, बालबालिका तथा समाजकल्याण वा पशु मन्त्रालयमध्ये एक दिन सकिने प्रस्ताव प्रधानमन्त्रीको छ । अन्य मधेसी दल भने तत्काल सरकारमा जाने तयारीमा छैनन् ।

तर, सत्तासाझेदारबीच मिलेको छैन कुरा
राप्रपालाई थप मन्त्रालय दिने र फोरम लोकतान्त्रिकलाई सरकारमा सहभागी गराउने विषयमा सत्तासाझेदार कांग्रेस र माओवादी केन्द्र सहमत छन् । तर, कुन–कुन मन्त्रालय कसरी दिने भन्नेमा कुरा मिलेको छैन । प्रधानमन्त्री प्रचण्ड एकीकरणपछिको राप्रपालाई सत्तासाझेदारीमा महत्वपूर्ण स्थान दिएर समेट्न चाहन्छन् । तर, कांग्रेस सभापति शेरबहादुर देउवा राप्रपाका अन्य नेतालाई मन्त्री बनाउने र राप्रपा अध्यक्ष कमल थापालाई रोक्न चाहन्छन् । परराष्ट्र मन्त्रालय छाड्ने मनस्थितिमा देउवा छैनन् ।

कांग्रेसले राप्रपा नेता दिलनाथ गिरीलाई मन्त्री बनाउन प्रस्ताव गरेको छ । कांग्रेस नेता तथा गृहमन्त्री विमलेन्द्र निधिले गिरीसँग पटक–पटक छलफलसमेत गरेको स्रोतको भनाइ छ । निधि र गिरीबीच तीन–चार चरण छलफल भइसकेको छ ।

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan