• FB
  • FB
  • FB
Monday 27th of February | २०७३ फाल्गुण १६ सोमबार

कथा : ग्याल्गर बस स्टप

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष २८ बिहिबार
newsabhiyan

सीता अर्याल

बसन्त ऋतु, सिरसिरे मन्द पवनको सुगन्धित झोक्काले मलाई यथार्थको धरातलमा ल्याइदिन्छ । हो, म त बस पो कुरिरहेको छु । म कुनै अर्कै संसारमा हराएको बेला बस हुँइकिइसकेको भए मेरो हालत के हुन्थ्यो होला ? एकाध सेकेन्डमा नै बस अगाडि आइपुग्यो । वालेटबाट बसकार्ड हातले झिक्दै र हिड्ने क्रम सँगै जारी राखेँ । तत्कालै बसभित्र प्रवेश गर्न समर्थ भएँ । तेजले चलिरहेको मुटुको गति केही मत्थर भयो ।

एकापट्टि काँधमा ह्यान्ड व्याग र अर्को हातमा लन्चव्याग लर्काउँदै दुई ईन्च हिलसहित जुत्ताको टक्टक्को आवाजमा झुल्केकी थिइन् तिनी । बस कुराइको त्यो दिन उनी उदियमान पूर्णचन्द्रसमान लागेको थियो । ढाडसम्म आउने धुपछायाँ रंगको बाक्लो केस सर्लक्कै छोडिएको थियो । दाहिने चोर औंलामा डाइमन्ड रिङ र नाकमा फुली लगाएकी थिइन् । अनि मलाई लाग्यो उनी पक्कै एसिएन हुनु पर्छ, त्यस्मा पनि कि नेपाली कि त इन्डियन । मेरा नयन उनीबाट पर हट्न पटक्कै मानेका थिएनन् । उनको त्यहीँ टल्किरहेको फुलियुक्त अनुहार एकटक लगाएर हेरिरहेका थिए ।

मनभरि कौतुहलता साह्रै ¤याङ्गिएर आयो । उनी को हुन् ? कहाँकी हुन् ? जान त पक्कै काममा नै जाँदैछिन् ।

मलाई कुनै सरोकारको विषय होईन त्यो । अनावश्यक कुरामा पनि यसरी चासो बढेर सीमा नै नाघ्न खोज्दछ कहिले कहीँ ।

तपाईं एसियन हो ?

‘होइन’ ।

आफूलाई बडो बाठो, बुज्रुक ठान्ने म । मनमा नराम्ररी ठेस लाग्यो ।

अनि कहाँ हो त तपाईंको घर ?

“यहीँ” । अमेरिकामा नै हो ।

अरु भन्दा पनि उनको नाकको फुलीले मलाई जिज्ञासु बनायो । जिज्ञाशा शान्त पार्न पुर्खौली खोतल्न थालेँ ।

उनले प्रस्ट पार्दै गईन्– तीन पुस्ता पहिले हामी आएरल्यान्डबाट आएका हौँ अर्थात् हाम्रो मूल थलो आएरल्यान्ड हो ।

“अनि त तपाईंले नाकमा फुली लगाउनु भएको छ नि ?”

ए …, फुली ?

नाकमा औलाको टुप्पोले देखाउँदै “मेरो मम् र ड्याड एसियाको विभिन्न देशमा जाँदा त्यहाँका मानिसले लगाएको देख्नु भएको रहेछ । उहाँहरूले साह्रै मन पराएर ल्याईदिनु भयो र मलाई लगाउन अनुमती दिनुभयो” ।

यसरी कुरा टुग्ङ्गयाइन् । उनको बस आयो । आफ्नो खिरिलो कम्मर यताउता लच्काउँदै बसभित्र चढिन् । गुड्न थालेको बसको पछाडि देखिएको बिद्युतिय नम्बर “४” याद गरिरहेँ । धेरै बेरसम्म उनका नीला नीला बान्की परेका लेन्सयुक्त आँखा मेरा चिम्सा आँखा वरिपरि नाचिरहे ।

उनी आफ्नो कारलाई वसस्टप नजिकैको पार्किङ लटमा पार्क गरेर बाँकी आधाबाटो वसबाट काट्दिरहिछन् । आफ्नो अफिसमा पार्किङ्ग सुविधा नभएको हुनाले त्यसो गर्नु परेको बताएकी थिइन् ।
बिहान आठ बजे बस स्टपमा पुग्नका लागि सबेरै चार बजे आँखा खुलेका थिए । हृदयभरि एक प्रकारको बेग्लै तरङ्गले प्रवेश गरेको थियो । म उनको अगाडि आफूलाई धेरै नै हेन्डसम देखाउन प्रयत्न गर्दथेँ । बोल्दा पनि ज्यादै होसियार हुन्थेँ । सकेसम्म अति नै सभ्य, ‘उनीजस्तै’ हुने कोसिस हरदम जारी रहन्थ्यो ।

नुहाई धुवाई सकिवरी सुहाउने खालको लुगा चयन गर्ने मेरो आदत भैसकेको थियो । लुगाफाटा लगायत आफ्ना सरसामान व्यवस्थित गर्ने बानीको सुरुवात पनि हुन थाल्यो । थरिथरि ब्रान्डका जुत्ताका आवश्यकता महसुस हुन थाल्यो । चट्ट लुगा फेरिवरी ऐना अगाडि उभिएर सनल फाईभ अत्तरका सिर्का काखीमुनि र छातितिर छर्केर हिँड्ने बानी वस्न पुग्यो । एक प्रकारले भनौ भने जथाभावी लुगा, जुत्ता आदिको प्रयोग गर्दै आएको मेरो वानीलाई उनीसँग बस्टपमा हुने दिनहुँको भेटघाटले सर्लक्कै परिवर्तन गराएको थियो ।

हामी दुईको कामको प्रकृति उस्तै भए पनि उनको छाँटकाँटै बेग्लै थियो । रवाफै बेग्लै थियो । उनी घरबाट कारमा आउँथिन् । म चाहिँ जीवनमा कार किन्न भ्याइनसकेको मानिस । मेरो के कुरा गर्नु र ? अझै केही वर्ष कार किन्न अनुकूल होला जस्तो थिएन ।

म ज्यादै आकर्षित थिएँ उनीप्रति । “ग्यालगर” जुन ठाउँ एउटा स्यानो गल्ली हो । हिउँ पग्लेपश्चात् भर्खरै पलाएका प्रशस्त रुखका पालुवाहरू राम्ररी हरिया भइसक्न भ्याएका पनि थिएनन् । त्यसमाथि भुइँमा ढकमक्क फुलेका विभिन्न प्रकारका फूलहरूले वातावरण नै अद्भूत पारेका थिए । यसो विचार गरेर ल्याउँदा स्वर्ग भनेको कतै यतै त होइन जस्तो लाग्थ्यो ।

उनी पनि बस टाइम भन्दा पाँच–सात मिनेट अगावै बस स्टप आइ पुग्न थालेकी थिइन् । दुवै जना भेट भएर गफ गर्ने लत जस्तै भैसकेको थियो । एक दिन मात्र पनि भेट भएन भने म त मणि हराएको नाग जस्तै हुन्थँे । म ठोकेरै भन्न त सक्तिनँ तर उनको पनि उस्तै हालत हुन्थ्यो कि सायद ? किनकि भोलिपल्ट भेट हुँदा उनको हाउभाउको प्रस्तुती नै बेग्लै ढङ्गको हुने गर्दथ्यो ।

जे जस्तो भएपनि, जति गफगाफ गरेपनि अहिलेसम्म फोन, इमेल, फेसबुक, ट्युटर आदिमा चाहिँ पुगिएको थिएन । एकदिन बिहान सधैं जस्तै हामी दुवैको उपस्थिति उही स्थानमा भयो । देखेँ, उनको अनुहारमा कुनै कान्ति थिएन, रातभरि अनिदो बसेकी जस्ती । सावर नलिएको कपाल । कुच्चीकाच्ची परेको पोसाकमा देखा परिन् । पहिलेजस्तो गफ पग्रिएनन् । आँखा पनि जुधेनन् । हाते व्याग थिएन र थिएन लन्च ब्याग पनि । दुई इञ्चको हिलको साटो सामान्य स्लिपरमा उनी आएकी थिइन् । एउटा सुन्दर सानो खाम मेरा हातमा थमाएर केही नबोली फरक्क फर्केकी थिइन् । मेरा दृष्टि उनीप्रति नै थिए । केही पर पार्क गरिएको रातो टोयटा स्मार्टमा बसेर उनी पार्कलन् सिटीतिर बतासिएकी थिइन् ।

उदेक र अचम्मले सीमा नाधिसकेको थियो । हत्तपत्त खाम खोलेर हेरँे । त्यसभित्र केवल “विजिनेस कार्ड” थियो । फटाफट उनको सेलफोन नम्बर डायल गरँे । पुरै रिङ गयो, उठेन । उनले तत्काल फोन रिसिभ नगरे पनि मेरो नम्बर त अबस्य देख्नेछिन् ।

सधैं बस स्टपमा छोटो समय भेट हुने त हो नि । त्यो भन्दा बढी अरू केही भएको होइन तापनि दिनभरि कस्तो नमिठो एकाकीपन महसुस भइरहेको छ । पटक्कै काम गर्ने जाँगर पलाएन । कताकता टाउको दुखेको जस्तो लाग्यो । त्यसैले चार घन्टामात्र काम गरेर फर्केँ ।

नियास्रिएर नै एक हप्ता बित्यो । उनकै विजिनेस कार्ड हातमा खेलाइरहेको थिएँ । इमेल गरि हेरौं न त भनेर छोटोमिठो इमेल तुरुन्त पठाइदिएँ । रिप्लाई आउलाकि भन्ने आसमा छिनछिनमा इमेल खोल्न थालेँ । “फोन कल ब्याक” पनि नगर्ने “इमेल” को रिप्लाई पनि नदिने भए तातो न छारो यो खोस्टो किन दिएकी ? कच्याककुचुक पारेर ट्रयास क्यानमा फालिदिएँ । मेरो पनि रिस त कम चर्को होइन । फोन र इमेलको आस मारिसकेको थिएँ । नियास्रोपन पनि अलिअलि हट्दै जान थालेको थियो ।

अफिसमा कामकै इमेल प्रयोग हुन्थ्यो । त्यसैले कहिले काहीँ त हप्तौँसम्म पनि पर्सनल इमेल खोल्दैनथेँ । यथाअवस्थामा आउन थालिसकेको थिएँ । टिपटप हुने तालिम चाहिँ पामेलाले नै दिएकी भन्दा कत्ति पनि अत्युक्ति हुँदैन ।

म बिबिध मनोरम दृष्य नियाल्दै टहल्न र फोटोहरू खिच्न अति मन पराउने प्रकृति प्रेमी मानिस हुँ । पार्कमा भर्खरै पोटाउन थालेका टुलिपहरूले मन एकोहो¥याएको थियो । आफ्ना आइफोनमा कैद गरिएका केही फोटोहरु प्यारी बहिनीलाई पठाइदिई हालेँ । यसरी फोटो पठाउँदा बहिनी लगायत आमा बुबामा खुसीको सीमा नै रहन्न ।

अफिसमा काम केही हल्का भएको मौकामा पर्सनल इमेल खोलेँ । ओहो….! अचम्म । पामेलका इमेलहरु धेरै आएका रहेछन् । त्यो भन्दा पनि आश्चर्यको विषय त पार्कमा खिचिएका फोटोहरू बहिनीलाई पठाएँ जस्तो लागेको त सबै पामेलालाई पठाएछु । सुषुप्त मायाँको जालो, या भनौ टुसाएर ¤याङ्गिन पनि नपाइसकेको मायाँले जरो त दरै गाडिसकेको पो रहेछ ।

लास्टको इमेलमा पामेलाले भनेकी थिइन्, इमेलको रिप्लाई चाहिँ गर्नु पर्दैन ? खालि फोटो मात्र पठाउने ? फोटो त एक मात्र भए पनि काफी छ नि । भावना लेखी पठाउनु । मायाँको वर्षा गराऊनु । स्नेहको खोला उर्लाउनु अनि पो …।

यसरी उनको र मेरो टुटिसकेको सम्बन्धको डोरी बिस्तारै बिस्तारै फेरि मजवुत हुन थाल्यो । इमेल र फोटोहरूको ओहोर दोहर निकै बढ्न थाल्यो । पामेला अफ्रिकामा एउटा गैरसरकारी संस्थामा काम गर्न थालिछन् । उनको एउटा इमेलमा मलाई पनि सुहाउँदो पोष्ट खोजिरहेको बताएकी थिइन् । एउटा कार्यक्रम संयोजकको पोस्ट मिल्न सक्ने संभाबनाले खुसी हुँदै फोन गरिन् ।

मलाई अफ्रिका जान पटक्कै मन छैन । किनकि पामेलाको सवै निर्णय आफै गर्ने बानी मलाई पटक्कै मन परेको थिएन । अमेरिकामा भर्खर आफ्नो अध्ययन सकि पढाइ अनुसारको जब सुरु गरेको धेरै भएको छैन । म यसैमा रमाइ रहेको मानिस । सर सल्लाह विना मेरा लागि काम किन खोजेकी ? राय मागेकी भए एक आपसमा विचार मन्थन हुन्थ्यो । एउटा निचोड निकाल्न सहज हुन्थ्यो । उनको मात्र निर्देशन र विचारले म अमेरिका छाडेर जाऊँ या नजाऊँ ? आफै अगाडि एउटा जटिल प्रश्न खडा भएको देखेँ ।

“के पामेला नै मेरो भविष्य र जिन्दगी हो त ।” लौ अब मैले निर्णय गर्नु पर्ने बेला आइसकेको छ ।

पामेलालाई आफ्नो गन्तव्य बनाउनु अगाडि प्यारा आमा बाबाको सरसल्लाह लिने कि नलिने ? अन्यथा असिम ममता र स्नेह बोकी मेरो बाटो हेरिरहेका उनीहरूको हृदयमा कत्तिको चोट लाग्ला ? त्यो पनि त विचार गर्नु प¥यो नि मैले ।

पामेला अफ्रिका जाने बेलामा खालि एउटा बिजिनेस कार्डको खोस्टो हातमा थमाएर गएकी थिई । ऊ जाने ठाउँ र जानुको कारणसम्म पनि त बताएकी थिइन । फेरि मेरो लागि आफैले काम खोजेर सूचित गर्नु कत्तिको उचित कुरा हो ? मैले केही बु¤न सकिरहेको छैन । यसरी एकोहोरो विचार लाद्ने आदत चाहिँ मलाई पटक्कै छुद्दे हुँदैन ।

“इन्फर्मेसन टेक्नोलोजी” मेरो पढाइको विषय । जहाँ पनि काम पाउन सक्छु भन्ने विश्वास बोकेको छु मैले । म यहाँ बस्दिन, किनकि यो पामेलाको सिटी हो । यहाँ बसेपछि यादहरूले सताउन सक्ला । यही ग्याल्गर गल्लीको बस स्पटले हमेसा यादहरुलाई पुनर्ताजगी बनाइरहेको छ । यस्ले मलाई बाँधिरहन पनि सक्छ । त्यसैले म यो मिनिसोटाबाट नै अर्को स्टेटमा मुभ हुनु जरूरी छ ।

बिहान ब्ल्याक कफीमा रमाउने मानिस म । कफीको सुर्कोसँगै इपेपर हेरिरहेको थिएँ । अत्यन्तै तरल राजनीतिक परिवेश र मौलाएको भ्रष्टाचार, आगजनी, लुटपाट, चेलीबेटी बेचबिखन आदि इत्यादि समाचारहरुमा डुबिरहेको थिएँ । सेल फोनले आफ्नो धर्म निर्वाह गर्न थाल्यो । अपरिचित नम्बर थियो तापनि बोल्नै प¥यो । “म क्याथी हुँ । पामेलाको मम् । मलाई तिमीसँग भेट्न मन छ र पामेलाले भेट्नु भनेकी छे ।” अनायास यस्तो आशा नगरिएको फोन आयो । के भनौं ? मलाई पटक्कै उनीसँग भेटन मन छैन ।

“मेरो समय मिलेको बेलामा फोन गरेर भेट्न आउँला” । यति भनेर मैले फोन राखेँ ।

एउटा बाहनको अति नै आवश्यकता महसुस नभएको होइन । एकमुस्ट रकम एकै पटक तिर्न नपर्ने भएकोले पनि झन् चाहना बढ्दै जान थालेको थियो । तर अर्कै सिटीमा मुभ हुने कि भन्ने तर्कनाले दोधारमा परेको छु । कुन ब्रान्ड र रंगको किन्ने होला भनेर यसो गम्न चाहिँ थालेको थिएँ । कालो विएमडब्लुमा आँखा गडिरहेको छ ।

उता आफ्नो बुबाले चढ्ने थोत्रो मोटर साइकल सम्झेँ । आमाका चर्चरी फुटेका हात र कुर्कुच्चाका तस्विरले हृदय कोतर्न थाल्यो । बासिङ् मेसिन किन्न नसकेर दिनभरि लुगा धुँदा सुन्निएका आमाका पाखुराले मलाई गिल्लि गरेजस्तो लाग्यो । बहिनीलाई उच्च शिक्षामा गर्नुपर्ने मोटै लगानी पनि टड्कारो थियो । राम्रो घर केटो छानेर पराइघरमा दिनै पर्ने संस्काररुपि बाध्यतालाई पनि सम्झेँ । यसरी विविध समस्याहरु जुलुस बनेर मनको पर्दामा ह्वात्तै देखा परे ।

स्वदेशी समस्या जती जटिल भएपनि आखिर गाडी त अमेरिकामा न्यूनतम आवस्यकताभित्र पर्छ क्यारे । बरु अधिक मूल्यको विएमडब्लु ब्रान्डको साटो कालो टोयटा क्याम्री पो किन्नु पर्छकि अहिलेका लागि ।
पामेलाको ममले फेरि फोन गरिन् । घरमा आउनका लागि सारै करकाप गर्न थाले । मलाई पनि लाग्यो “जाँदैमा हुने त के हो र” ? घरको ठेगाना मागेँ र जिपिएस्मा हालें । साउथ पार्कलन सिटीमा ठीक्कैको कण्डोमिनियममा बसेका रहेछन् ।

पामेलाले सवै बेलीबिस्तार लगाई सकेकी रहिछ । मलाई धेरै मायाँ देखाए । खाना त्यहीँ खाइवरि फर्कनको लागि अनुरोध गरे । बिफका परिकार आजका दिनसम्म मुखमा हालेको छैन । “बिफ एलर्जी” भनेर टारेँ । स्यान्ड्विच खाँदै थिएँ, पामेलाको ममले फ्रोजन चिकेन ब्रेष्ट तताइन् । तीन पिसजति उदरस्थ गरेँ । म त उनिहरूका अगाडि अलि पाखे जस्तै भएँ । किनकि सोडाहरू खाने बानी पनि अहिलेसम्म थिएन । डिजर्टमा ब्ल्याक फरेस्टको ठूलै पिस अटायो पेटमा ।

क्याथी धन्दै धन्दै भन्ने हो भने हाम्रा नेपाली महिलाहरू जस्तै लाग्यो । ढाडसम्म आउने कालै कपाल । ठूला ठूला आँखा, सर्लक्क मिलाएको आँखी भुईं । नाकमा दाहिनेतर्फ फुली टल्किरहेको थियो । सेतो टिसर्ट र प्याजी पाइजामामा उनी राम्ररी खुलेकी थिइन् ।

बुबाचाहिँ राम्रा थिएनन् । खै कसरी बयान गरुँ ? नढाटी भन्नु पर्दा चिम्पान्जीको जस्तै अनुहार रहेछ । तर पामेला त निकै राम्री छे । उसमा बुबाको रुपको अंश केही पनि देखिदैन थियो ।
मानिसले बिना स्वार्थ अरूलाई किन मायाँ गर्छ ? जन्म दिने बाबुआमाको मायाँमा त स्वार्थ हुन्छ । बुढ्यौलीको सहाराको स्वार्थ ।

पामेलाको बुबा आमाले किन यति धेरै माया पोखे ममाथि ? लिभिङ रुममा केही क्षण मीठा मीठा गफ गर्दै वसिसके पश्चात् म आफ्नो अपार्टमेन्टमा फर्कन तयार भएँ । क्याथी भित्र पसिन् र तुरुन्तै एउटा राम्रो पेपर व्याग ल्याईन् । “हाम्रो तर्फबाट तिमीलाई” भनेर त्यो ब्याग मेरो हातमा थमाइदिइन् । धन्यवाद त भने तर कता कता असजिलो महशुस भैरहेछ मलाई ।

“यो पामेलाले अफ्रिकाबाट तिम्रा लागि स्पेसल पठाएकी” ।

पश्चिमा मूलुकमा पनि “प्वाँख लागिसकेका” सन्तानप्रति आमाबाबुको यति बिघ्न लगाव देख्दा आश्चर्यमा परेको थिएँ म ।

जिन्दगीमा यस्ता क्षणहरू पनि आउँदा रहेछन् कि निर्णय गर्ने क्षमता र अवसरले साह्रै ठूलो भूमिका खेल्दो रहेछ । अहिले मलाई त्यही क्षणले कराप्न थालेको छ । पामेलालाई स्विकार्दै पश्चिमा मुलुकका रितिस्थिति, संस्कार र सभ्यतामा समाहित भैदिऊँ या त आफ्नो संस्कारमा लुट्पुटिदै ममतामयी पुज्य आमाबुबाको वचन स्वीकार गरुँ । यी दुईमा एक रोज्न पर्ने स्थिति देखा पर्न आएको छ ।

मलाई लाग्यो अब म पामेलासँग टाढा हुँदै जानु पर्छ । यदि आपसी मोहको स्थिति यो भन्दा अगाडी पुग्यो भने सम्पर्क बिहिन हुन गाह्रो हुन्छ । अहिलेसम्म त केही बितिसकेको छैन ।

अपार्टमेन्टमा पुगेर गिफ्ट खोली हेरेँ । खरानी रंगको अफ्रिकन उलनको सुट रहेछ । न्यायपूर्वक भन्नुपर्दा सुट राम्रो थियो । भित्री भागमा एउटा सुन्दर कार्ड पनि रहेछ । मेरो जन्मदिन अघिल्लो महिनामा भए पनि गिफ्ट भर्खरै मिलेको थियो ।

ग्याल्गर बस स्टपको मन्द चिसो सिर्सिरे हावा । भर्खर हिउँ पग्ली सके पश्चात पलाएका पालुवाहरु । स–साना सुन्दर चराचुरुङ्गीका चिरचिर च्याँ च्याँ । जमिनबाट बाहिर च्याउने बित्तिकै फुल्ने ती सुन्दर पुष्पहरू । यी बिबिध पुराना स्थिति र चित्रहरु फेरि मेरा स्मृतिका पर्दामा नाँच्न थाले । पामेलाका थरिथरिका छविहरू आँखा वरिपरि सल्वलाउन आयो । पलभरका लागि मन केही पुलकित भएको आभाष भयो ।

“मलाई यो के भएको ?” के अनुरागका विजहरू पुन अङ्कुराउन त थालेनन् ?

स्काइपको घन्टी बज्न थाल्छ । बुबा, आमा दुवै छोरासंग पेटभरि अनुहार हेरेर गफ गर्ने भनी कस्सिनु भएको रहेछ । औसीको कालो रातमा पूर्ण चन्द्र उदाए जस्तै आनन्द भयो । उहाँहरूको एक्लो छोरो म । दुवै तिरबाट प्रेमका नदी बग्न थाले । विचमा बहिनी आई । दौडेर गई काखमा बोकी म्वाइ खाउँ झैँ हृदय उर्लेर आयो । तर बहिनी ठूली भैसकेकी थिई । अब काखमा बोक्ने समयले नेटो काटि सकेको थियो । तापनि मायाँमा कुनै कमी आएको थिएन बरु ¤याँगिएर मौलिई रहेको थियो ।

म विदेशीएको पनि लामै समय भइसकेछ । प्यारी सानी बहिनी स्कुल पढ्दै गर्दा छोडी आएको थिएँ । कलेज पढ्ने भैसकी । गाउँ, समाजमा पनि कति परिवर्तन भैँसक्यो होला ? बुबा आमाका केश सेतै देखेको थिएँ । हजुरआमाहरू झन कस्ता भए होलान् विचराहरू ? समय कति छिटो थाहै नदिई बितेर जाँदो रहेछ ।

पामेलालाई थ्याङ्क्यु ईमेल लेखेँं । मेरो अन्तरहृदयले मसक्क आँट्यो । “म उसँग टाढिनु नै पर्दछ । चाहे म ऊस्का मनमा स्वार्थी किन नदरिऊँ । त्यसैले मेरो इमेल एड्रेस चेन्ज गरेँ । फोनको कन्ट्याक्ट अबधि सकिएकोले मैले अर्कै प्लानको नयाँ फोन भरखरै लिएको हुँ । नम्बर फरक भैहाल्यो । मनमा त लाग्यो एक्कासि म वेपत्ता हुँदा अरुको अन्तरहृदयमा ठूलै चोट पर्ला ।

हरेक तन्नेरी मनहरू यौन उन्मादको पराकाष्ठामा पुगि समयको बहाबसँगै अत्यन्त मोहग्रस्त हुन सक्छन् । मादकतामा लठ्ठीदै विवेकसून्य भएर उचित र अनुचित मार्ग खुट्याउन सक्दैनन् । त्यसैले मैले आफ्नो यथार्थ धरातल भुल्न हुँदैन । सही समयमा नै म पामेलासँग टाढिनै पर्दछ । आफ्नो संस्कार, परंपरा मिल्दो कन्यासँगको दाम्पत्य जीवन नै सुखद र दीर्घिजबि हुन जान्छ । प्यारा आमाबाबुको अन्तर हृदयको चाहना पनि त्यही हो । त्यसैले आज बुबाआमासँग स्काइपमा गफ गर्दा अर्को वर्ष बिबाह गर्न नेपाल आउने छु भने । खुसीको भेलमा समाहित हुनुभयो वहाँहरु ।

कुनै पनि स्मृतिलाई भुसुक्कै भुलेर सून्यमा झर्न त गाह्रै पर्ला । त्यो ग्यालगर बस स्टपलाई कताकता प्यारो भन्न मन लाग्छ । मेरा स्मृतिमा अमिट छाप बनेर बसेको छ त्यो । पामेला र मेरो जीबन जोडन त सकेन तर जो कोहीको पनि मन छुने प्राकृतिक सौन्दर्य बोकेर बसेको भने अवश्य छ ग्याल्गरले ।

कहिले काँही त्यही उपहार स्वरुप प्राप्त खरानी रंगको अफ्रिकन सुट देखेको बेला पामेलाको याद त आइहाल्छ । तर म आफ्नै छुट्टै संसारमा विचरण गरिरहेको स्वतन्त्र प्राणी भएको छु । हातमा तात्तातो कफी कपले च्वास्स पोलेपछि पो म यथार्थ धरातलमा वर्लन आईपुगेँ ।

अस्तु ।

–सीता अर्याल, विस्कन्सन, अमेरिका

(कथाकार परिचय– जन्म मितिः वि.सं. २०१८।६।१४,
जन्म स्थानः— बन्दीपुर, तनहु“ ।
स्थाई ठेगानाः— गोरखा बजार ।
पहिलो प्रकाशित रचनाः— भय (कथा),
प्रकाशित कृतिहरू– १)“मृगतृष्णा“ कथासङ्ग्रह २०६०, २)“उपमा” कथासङ्ग्रह २०६२, ३)पुस्तान्तर —संयुक्त कथा सङग्रह २०६६ ।
सम्पादन– गोरखा पर्यटन, काठमाडौंद्वारा प्रकाशित तीज —२०६२, तीज —२०६४, तीज— २०६६ पत्रिकाहरुको प्रधान सम्पादक ।
संयुक्त सम्पादन– दण्डपाणि अज्र्याल स्मृतिकेन्द्रद्वारा प्रकाशित दण्डपाणि अज्र्याल जन्म शताब्दी स्मृतिग्रन्थ — २०६३ र ज्ञानविन्दु — २०६४ ।
पुरस्कार तथा संमान— छिम्केश्वरी युवा क्लव तनहँुुद्वारा आयोजित कविता प्रतियोगीता २०३७ मा प्रथम, हरि उत्कृष्ट प्रतिभा पुरस्कार २०६२ । विभिन्न सङ्घ, संस्थाहरुवाट प्रदान सम्मान—पत्र र कदर—पत्रहरु ग्रहण ।
सोधग्रन्थः— सीता अर्यालको जीवनी, व्यक्तित्व र कृतित्वको सम्वन्धमा त्रिभुवन विश्वविद्यालयको स्नातक स्नातकोत्तर तहमा अध्ययन गर्ने विद्यार्थीहरुले सोधग्रन्थ तयार ।
शिक्षा—ः स्नातकोत्तरसम्मको अध्ययन ।
लेखनको मूल बिधाः— कथा ।
अनुभवः— १९ वर्षको शिक्षण अनुभव ।
हालको ठेगानाः— विस्कान्सन, अमेरिका, फोन नं. ६१२—७४९—३०१३ ।
Email : [email protected]
न्यूज अभियानका लागि साहित्य सङ्ग्रहबाट ।

एनभिएम ग्रुपद्वारा संचालित यस् न्यूज अभियान डट कममा तपाईं हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् ।

ताजा भिडियो ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan