Monday 11th of December | २०७४ मङ्सिर २५ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बजारमा छापा मार्ने काम तीव्र ,बजार अनुगमन हुने डरले व्यापारीहरु त्रसित

न्यूजअभियान | प्रकाशित मिति : २०७४ असोज ६ शुक्रबार
newsabhiyan
newsabhiyan

काठमाडौं, ६ असोज । सरकारले बजार अनुगमनलाई तीव्रता दिएको छ । चाडबाडको समयमा विभिन्न स्किम ल्याएर व्यापारीहरुले उपभोक्ता ठगी गर्ने तथा करछली गर्ने भएकाले बजार अनुगमनलाई तीव्रता दिइएको हो ।

आपूर्ति मन्त्रालय र मातहतका कार्यालयका अतिरिक्त अर्थ मन्त्रालयले पनि बजार अनुगमनका लागि राजस्व अनुसन्धान विभाग र आन्तरिक राजस्व विभागलाई निर्देशन दिएको छ । सबैभन्दा बढी कारोबार हुने समयमा अनुगमन गर्दा राजस्व चुहावट रोक्न बल पुग्ने भन्दै अर्थले राजस्व अनुसन्धान र आन्तरिक राजस्वलाई अनुगमनका लागि निर्देशन दिएको हो ।

दशैँ सुरु हुनुभन्दा अगाडि नै आपूर्तिमन्त्रीको नेतृत्वमा दरबारमार्गका ब्रान्डेड कपडा, जुत्ता र घडीपसलमा छापा मारेर कारबाही सुरु भएपछि यस वर्ष बजार अनुगमन हुने डरले व्यापारीहरु त्रसित भए । आपूर्ति मन्त्रालयले दरबारमार्गको अतिरिक्त मारुती गाडी बिक्री गर्ने चौधरी ग्रुपको एउटा कम्पनीमा समेत छापा मारेको छ ।

आपूर्तिले छापा मार्नथालेपछि अर्थ मन्त्रालयले विभिन्न कर कार्यालयमार्फत राजधानीका न्युरोडलगायतका क्षेत्रका बजारमा व्यापक छापा मारेको छ । ‘केही दिनअगाडि त दिनहुँ बजार अनुगमन हुन्थ्यो’, न्युरोडका एक व्यापारीले बिहीबार आर्थिक दैनिकसित भने, ‘एक/दुई दिन रोकिएको छ । फेरि कहिलेदेखि सुरु हुने थाहा छैन ।’ कर कार्यालयका कर्मचारीहरुले पसल सिल नगरे पनि कागजात लिएर गएर बयानका लागि बोलाएको ती व्यापारीले जानकारी दिए ।

अर्थ मन्त्रालयको निर्देशनमा बजार अनुगमनलाई तीव्रता दिइएको राजस्व अनुन्धान विभागका एक निर्देशकले पनि स्वीकार गरे । ‘बजार अनुगमन हाम्रो नियमित कार्यक्रम हो’, ती निर्देशकले भने, ‘चाडबाडको बेला धेरै राजस्व चुहावट हुनसक्ने भएकाले सचेत हुन अर्थ मन्त्रालयले पनि निर्देशन दिएको कारण बजार अनुगमनले तीव्रता पाएको छ ।’ ती निर्देशकका अनुसार राजस्व अनुसन्धानको टोलीले बिहान ५ बजेतिरको समयमा धेरै गाडी समातेका छन् । विभिन्न गोदामबाट साना गाडीमा सामान हालेर पसलहरुमा लैजाने क्रममा राजस्व अनुसन्धानका कर्मचारीहरुले भ्याटबिलसहित सामान लगेको छ÷छैन भनेर चेक गर्ने गरेको छ । दैनिकजसो चार÷पाँच वटा गाडीहरु ‘लुज’ बिल लिएको कारण पक्राउ पर्ने गरेका छन् । भ्याटबिलविना सादा बिलमा सामान बोकेर लैजाने गाडीहरुलाई राजस्वका कर्मचारीहरुले पक्राउ गर्ने गरेका छन् । भ्याटबिल नल्याएसम्म ती गाडीहरु छाड्ने गरिएको छैन ।

धेरै सामान बिक्री हुने बेलामा राजस्व चुहावट पनि बढी हुने सम्भावना भएकाले बजार अनुगमनका लागि तीव्रता दिन राजस्व अनुसन्धान र आन्तरिक राजस्व विभागलाई निर्देशन दिइएको केही दिनअगाडि राजस्व सचिव शिशिर ढुंगानाले जानकारी दिएका थिए । उनका अनुसार व्यवसायमा ताला नै लगाउने गरी कारबाही नगर्न भने निर्देशन दिइएको छ । धेरै कारोबार हुने बेला सिलबन्दी नै गर्दा कुनै पनि व्यापारीको एक वर्षकै कारोबार प्रभावित हुने भएकाले सकभर कागजात नियन्त्रणमा लिएर अनुसन्धान गर्न लगाइएको छ । आर्थिक दैनिकबाट


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan