विपत्तिमै पनि उठ्नु छ
"बाढीले बगाएको देश होइन, हाम्रो आँसु हो"
आजको दिन
हिमाल चुप थिएन,
नदीहरू पनि सामान्य थिएनन्
आकाशको छाती चिरेर
कुनै अज्ञात विपत्तिले
हिमालको मुटु फुटाइदिएको थियो
चीनतिरको हिमाली काखबाट
हिमताल फुटेको खबर आयो,
र केही क्षणमै
पानीले बाटो मात्र होइन,
मानिसका सपना पनि बगाउन थाल्यो
रसुवाको धरती काँप्यो,
नदीहरू आफ्नो सीमाभन्दा बाहिर निस्किए,
बस्तीहरू निद्राबाट उठ्न नपाउँदै
बाढीको गर्जनमा हराए
कसैको घर बग्यो,
कसैको खेत बग्यो,
कसैको पसल बग्यो,
कसैको जीवनभरको कमाइ बग्यो
तर सबैभन्दा ठूलो कुरा,
कसैको घरको ढोकामा
फर्केर आउनुपर्ने एउटा मान्छे
कहिल्यै फर्किएन
आज नेपाल रोइरहेको छ
तर यो आँसु
कमजोरीको आँसु होइन
यो आँसु हो,
आफ्ना सन्तान गुमाएको आमाको,
आफ्नो सहारा गुमाएको बाबुको,
आफ्नो संसार गुमाएको पत्नीको,
आफ्नो भविष्य गुमाएको बालकको
आज
रसुवाका पहाडहरू रोइरहेका छन्,
नदीका किनारहरू रोइरहेका छन्,
घरका भग्नावशेषहरू रोइरहेका छन्
र ती भग्नावशेषभित्र
कति अधुरा सपना छन्
कसैले छोरीको विवाह सोचेर राखेको पैसा,
कसैले छोराको पढाइका लागि बचाएको रकम,
कसैले बुढेसकालका लागि बनाएको घर
एकैछिनको बाढीले
वर्षौंको संघर्षलाई
माटोमा मिसाइदियो
तर हेर्नुस्
त्यही मृत्युको मैदानमा
केही मानिसहरू
आफ्नो जीवनको माया नगरी
अरूको जीवन बचाउन दौडिए,
नेपाल प्रहरीका जवानहरू
बाढीको वेगसँग भिडे
सशस्त्र प्रहरीका सुरक्षाकर्मीहरू
आफ्नै ज्यानको जोखिम मोलेर
अर्काको जीवन खोज्दै हिँडे
नेपाली सेनाका वीरहरू
मृत्युको आँखामा आँखा जुधाएर
उद्धारको हात बढाउँदै गए
उनीहरूलाई थाहा थियो
अर्को छाल आउन सक्छ,
अर्को पहिरो खस्न सक्छ,
आफू पनि बग्न सक्छु
तर उनीहरूले सोधे
“म बाँचूँ कि अरूलाई बचाऊँ?”
र उत्तर थियो
“पहिले नागरिक”
यही हो
वर्दीको अर्थ
यही हो
कर्तव्यको शपथ
यही हो
नेपालको सुरक्षाकर्मी
आज
कति वर्दीहरू
घर फर्किएनन्,
कुनै आमाले
ढोकातिर हेर्दै भनिरहेकी होलिन्
“मेरो छोरा आउँछ कि?”
कुनै श्रीमती
फोनको स्क्रिन हेर्दै होलिन्
“सायद अहिले फोन आउला”
कुनै बच्चाले
बाबाको तस्वीर समातेर सोधिरहेको होला
“बाबा कहिले आउनुहुन्छ?”
तर
कतिपय प्रश्नहरूको उत्तर
बाढीले सधैँका लागि बगाएर लगिसकेको हुन्छ ।
हे नेपाल!
आज तिमी दुखी छौ,
तर तिमी एक्लो छैनौ
काठमाडौंका सडकदेखि
रसुवाका पहाडसम्म
आज एउटै धड्कन छ
मानवता
हिमालदेखि तराईसम्म
आज एउटै आवाज छ
उद्धार
पूर्वदेखि पश्चिमसम्म
आज एउटै प्रार्थना छ
“मान्छे बचाऊ``
हामीसँग
धेरै धन नहुन सक्छ,
ठूला स्रोत नहुन सक्छन्,
तर हामीसँग
एकअर्काका लागि
धड्किने मुटु छ ।
हे विश्व समुदाय!
आज
नेपाल तिमीलाई बोलाइरहेको छ
यो कुनै राजनीतिक अपिल होइन,
यो कुनै स्वार्थको माग होइन,
यो कुनै शक्ति प्रदर्शन होइन
यो
एउटा पीडित राष्ट्रको
मानवीय पुकार हो,
हाम्रो पहाडमा
घाइतेहरू छन्
हाम्रा बस्तीमा
घरविहीनहरू छन्
हाम्रा परिवारमा
शोकाकुल आमाहरू छन्
हाम्रा बालबालिकाका आँखामा
भोलिको डर छ
त्यसैले
आऊ,
नेपालको आँसु पुछ्न सहयोग गर
आऊ,
विपद्मा परेकाहरूको हात समात
आऊ,
औषधि लिएर आऊ,
उद्धारको प्रविधि लिएर आऊ,
आवश्यक सामग्री लिएर आऊ,
तर सबैभन्दा पहिले
मानवता लिएर आऊ
हामीलाई
दया होइन,
साथ चाहिएको छ,
हामीलाई
सहानुभूति मात्र होइन,
सहयोग चाहिएको छ,
हामीलाई
समाचारको एउटा शीर्षक होइन,
बाँच्ने अवसर चाहिएको छ
नेपाल सानो होला,
तर नेपालीको पीडा
सानो छैन,
हाम्रो भूगोल सानो होला,
तर हाम्रो मानवता
हिमालभन्दा अग्लो छ,
आज
त्रिशूलीको पानीमा
केवल पानी बगेको छैन
त्यहाँ
कसैको बाल्यकाल बगेको छ,
कसैको भविष्य बगेको छ,
कसैको परिवार बगेको छ,
कसैको जीवन बगेको छ,
तर
हामी हार्ने छैनौँ
किनकि
नेपालको इतिहासले सिकाएको छ
भूकम्प आयो,
हामी उठ्यौँ ।
धन्यवाद !!
