स्थानीयवासीद्वारा ४० जनाको अवस्था बुझिदिन प्रशासनमा आग्रह
बागमती, ११ भदौ : मकवानपुरका स्थानीयवासीले बाढी प्रभावित जिल्लामा गएका ४० जनाको अवस्था बुझिदिन जिल्ला प्रशासन कार्यालयमा आग्रह गरेका छन् । जिल्लाका विभिन्न स्थानबाट उक्त क्षेत्रमा गएका तर सम्पर्क हुन नसकेका आफ्ना आफन्तहरू बारे बुझिदिन स्थानीयवासीले प्रशासनसँग अनुरोध गर्नुभएको प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले जानकारी दिनुभयो ।
“उक्त क्षेत्रमा मकवानपुर स्थायी बसोबास भई गोसाइकुण्ड लगायत स्थानमा दर्शन गर्न तथा घुम्न गएका, उक्त क्षेत्रमा सवारी साधन चलाउँदै आएका तथा अन्य विभिन्न पेशामा आवद्ध ४० जना व्यक्तिका सम्बन्धमा आफन्तहरूले सम्पर्क हुन नसकेको जनाउँदै प्रशासनमा बुझिदिन अनुरोध गर्नुभएको छ”, उहाँले भन्नुभयो, “उक्त क्षेत्रमा सहज सञ्चार सम्पर्क नभएका कारण कतिपयको अवस्था जानकारी नभएको पनि हुनसक्छ, हामीले अनुरोध भए अनुसार सम्बन्धित निकायसँग बुझ्ने प्रयास गरिरहेका छौं ।”
हेटौंडा प्रदेशको राजधानी समेत भएका कारण विपद्को उद्धार, सहयोग लगायतका काममा आवश्यकता अनुसार तत्तत् युनिटहरू परिचालन समेत भैरहेको उहाँले बताउनुभयो ।
