१५औँ महाधिवेशनमा रञ्जित कर्णको महामन्त्रीमा उम्मेदवारी
‘कांग्रेस कमजोर भएको होइन, संगठनात्मक ऊर्जा कमजोर हुँदै गएको हो’
काठमाडौं । नेपाली कांग्रेसका नेता रञ्जित कर्णले पार्टीको १५औँ महाधिवेशनमा केन्द्रीय महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन्।
कर्णले आफ्नो उम्मेदवारीलाई कुनै व्यक्ति वा गुटविरुद्धको अभियान नभई कांग्रेसभित्रको संगठनात्मक कमजोरी र कार्यशैली परिवर्तनका लागि नयाँ बहसको सुरुवात भएको बताएका छन्।
उम्मेदवारी घोषणा गर्दै कर्णले कांग्रेस कमजोर भएको नभई कांग्रेसभित्रको संगठनात्मक ऊर्जा कमजोर हुँदै गएको दाबी गरे। उनले पार्टीसँग विचारको इतिहास, नेतृत्व र लामो राजनीतिक विरासत भए पनि त्यसलाई वर्तमान पुस्तासँग जोड्ने तथा नयाँ पुस्तालाई नेतृत्वको मूलधारमा ल्याउने प्रयास पर्याप्त हुन नसकेको बताए।
कर्णले भने, ‘कांग्रेससँग विचारको इतिहास छैन भन्ने होइन, त्यो विचारलाई आजको पुस्तासँग जोड्ने प्रयास कमजोर भएको हो। कांग्रेससँग नेता छैनन् भन्ने होइन, नयाँ पुस्तालाई नेतृत्वमा ल्याउने ढोका पर्याप्त खुला छैन।’
उनले आफू महामन्त्रीको पद माग्न मात्र उम्मेदवार नबनेको स्पष्ट पार्दै कांग्रेसभित्र संगठन, नेतृत्व, कार्यकर्ता र नयाँ पुस्ताको भूमिकाबारे गम्भीर बहस आवश्यक रहेको बताए।
कर्णले कांग्रेसले आफैंलाई केही असहज प्रश्न सोध्नुपर्ने समय आएको उल्लेख गरे। उनका अनुसार पार्टीको सदस्यता केवल संख्या बढाउने माध्यममा सीमित हुँदै गएको, कार्यकर्ता निर्णय प्रक्रियाको साझेदार बन्न नसकेको तथा नयाँ पुस्तालाई पार्टीको नेतृत्व र निर्णय प्रक्रियामा पर्याप्त स्थान दिन नसकिएको अवस्था छ।
उनले प्रश्न गरे, ‘कांग्रेसको सदस्यता किन संख्या मात्र बनिरहेको छ? कार्यकर्ता किन निर्णयको साझेदार होइन, निर्देशनको पर्खाइमा बस्नुपर्ने अवस्थामा छन्? नयाँ पुस्ता कांग्रेससँग जोडिन चाहँदा हामीले उसलाई कति ठाउँ दिएका छौँ?
र कांग्रेसको संगठन जनताको जीवनसँग कति जोडिएको छ?’
कर्णका अनुसार यस्ता प्रश्न असहज भए पनि पार्टी पुनर्निर्माणका लागि तिनबाट भाग्न मिल्दैन। संगठनलाई जीवन्त बनाउने हो भने नेतृत्वले आत्मसमीक्षा गर्दै कार्यकर्ता र जनतासँगको सम्बन्धलाई नयाँ ढंगले परिभाषित गर्नुपर्ने उनको भनाइ छ।
उनले आफ्नो उम्मेदवारीको मुख्य उद्देश्य कांग्रेसको संगठनलाई पुनर्जीवित गर्नु, कार्यकर्तालाई अधिकार र जिम्मेवारीसँग जोड्नु, नयाँ पुस्तालाई नेतृत्वको साझेदार बनाउनु तथा कांग्रेसलाई जनताको विश्वासको केन्द्रमा पुनः स्थापित गर्नु रहेको बताए।
‘म यही प्रश्नको जवाफ खोज्न, कांग्रेसको संगठनलाई पुनर्जीवित गर्न, कार्यकर्तालाई अधिकार र जिम्मेवारीसँग जोड्न, नयाँ पुस्तालाई नेतृत्वको साझेदार बनाउन र कांग्रेसलाई जनताको विश्वासको केन्द्रमा पुनः स्थापित गर्न महामन्त्री पदमा आफ्नो उम्मेदवारी घोषणा गर्दछु,’ कर्णले भने।
कर्णले आफ्नो उम्मेदवारीलाई परम्परागत गुटगत प्रतिस्पर्धाको रूपमा नबुझ्न पनि आग्रह गरेका छन्। उनले उम्मेदवारी कुनै व्यक्तिविरुद्ध नभई पार्टीभित्र मौलाउँदै गएको प्रवृत्तिविरुद्ध भएको दाबी गरे।
‘मेरो उम्मेदवारी कुनै व्यक्तिविरुद्ध होइन, प्रवृत्तिविरुद्ध हो। कुनै गुट निर्माणका लागि होइन, बलियो संगठन निर्माणका लागि हो। कुनै पद प्राप्तिका लागि होइन, जिम्मेवारी बहनका लागि हो,’ उनले भने।
कांग्रेसको अबको आवश्यकता केवल ठूलो संख्याको पार्टी नभई विचार, संगठन, नेतृत्व र जनसम्बन्धका दृष्टिले विश्वसनीय पार्टी निर्माण गर्नु रहेको उनको भनाइ छ।
उनले भने, ‘मलाई ठूलो कांग्रेस मात्र चाहिएको छैन। मलाई विचारमा स्पष्ट, संगठनमा सक्रिय, नेतृत्वमा लोकतान्त्रिक, आचरणमा अनुशासित र जनतासँग जोडिएको विश्वसनीय कांग्रेस चाहिएको छ।’
कर्णले कांग्रेसले नेतृत्व परिवर्तनको बहससँगै कार्यशैली परिवर्तनको बहस पनि अघि बढाउनुपर्नेमा जोड दिए। उनका अनुसार एउटै नेतृत्व वा केही व्यक्तिको परिवर्तनले मात्र संगठनमा नयाँ ऊर्जा आउँदैन। संगठनको संरचना, निर्णय प्रक्रिया, कार्यकर्ताको भूमिका र जनतासँगको सम्बन्धमा समेत परिवर्तन आवश्यक छ।
उनले पार्टीको भविष्य केही नेताको व्यक्तिगत लोकप्रियता वा पदमा निर्भर नभई संगठनको सक्रियता र जनविश्वासमा निर्भर रहने बताए। ‘पार्टीको भविष्य नेताको कुर्सीले होइन, संगठनको ऊर्जाले तय गर्छ। र कांग्रेसको शक्ति भवनमा होइन, कार्यकर्ता र जनताको विश्वासमा हुन्छ,’ कर्णले भने।
१५औँ महाधिवेशनलाई उनले कांग्रेसका लागि केवल नेतृत्व चयन गर्ने नियमित प्रक्रिया नभई पार्टीको भविष्यबारे गम्भीर समीक्षा र पुनर्निर्माणको अवसरका रूपमा लिनुपर्ने संकेत गरेका छन्।
कर्णको उम्मेदवारीसँगै महामन्त्री पदको प्रतिस्पर्धा थप रोचक बन्ने देखिएको छ। विशेषगरी कांग्रेसभित्र नयाँ पुस्ताको भूमिका, संगठनात्मक पुनर्संरचना, कार्यकर्ताको अधिकार, नेतृत्वमा पुस्तान्तरण र पार्टीको जनसम्बन्धलाई केन्द्रमा राखेर उनले अघि सारेको बहसले महाधिवेशनको राजनीतिक विमर्शमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ।
उनको उम्मेदवारीको मूल सन्देश भने स्पष्ट छ—कांग्रेसलाई जोगाउने बहस मात्र होइन, कांग्रेसलाई समयअनुकूल पुनर्जीवित गर्ने बहस आवश्यक छ। पार्टीको ऐतिहासिक विरासतलाई सम्मान गर्दै त्यसलाई वर्तमान पुस्ताको आकांक्षा र जनताको बदलिँदो अपेक्षासँग जोड्न सके मात्र कांग्रेसले आफ्नो राजनीतिक प्रभाव र जनविश्वासलाई पुनः मजबुत बनाउन सक्ने कर्णको धारणा छ।
