Monday 26th of October | २०८३ कार्तिक १० सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

क्षेत्रीय सुरक्षा वार्ताका लागि तीन देशका अधिकारी तेहरान जाने

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १० सोमबार | रासस/एएफपी

इरानले क्षेत्रीय सुरक्षाबारे छलफल गर्न साउदी अरेबिया, टर्की र पाकिस्तानका वरिष्ठ अधिकारी तेहरान आउने घोषणा गरेको छ । इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का उपसचिव अली बघेरी कानीले सोमबार जानकारी दिँदै बैठकको मिति भने खुलाउनुभएको छैन ।

    कानीका अनुसार बैठकमा साउदी अरेबियाका रक्षामन्त्री खालिद बिन सलमान, पाकिस्तानका सेना प्रमुख जनरल असीम मुनीर र टर्कीका गुप्तचर प्रमुख इब्राहिम कालिन सहभागी हुनुहुनेछ । उहाँहरूले इरानका सुरक्षा प्रमुख मोहसेन रेजाईसँग छलफल गर्नुहुनेछ ।

    इरानी राज्य टेलिभिजनसँगको अन्तर्वार्तामा कानीले चार देशको बैठकले स्थायी क्षेत्रीय सुरक्षा कायम गर्न महत्त्वपूर्ण भूमिका खेल्न सक्ने बताउनुभयो । उहाँले यस पहलले क्षेत्रमा स्थिरता स्थापना गर्न सहयोग पुग्ने आशा व्यक्त गर्नुभयो । पाकिस्तानका सेना प्रमुख मुनीरले गत साता तेहरान भ्रमण गर्दा बैठकको प्रस्ताव गरिएको उहाँले जानकारी दिनुभयो ।

    फेब्रुअरीदेखि अमेरिका र इजरायलले इरानमाथि आक्रमण सुरु गरेपछि मध्यपूर्वमा युद्ध चर्किएको छ । त्यतिबेला वासिङ्टन र तेहरानबीच इरानको आणविक कार्यक्रमबारे वार्ता चलिरहेको थियो ।

    अप्रिलमा भएको युद्धविरामले तीव्र बमबारीको प्रारम्भिक चरण अन्त्य गरे पनि हर्मुज जलघाँटीको नियन्त्रणलाई लिएर तनाव कायम छ । विश्वको करिब पाँचौँ भाग तेल तथा तरलीकृत प्राकृतिक ग्यास यही जलघाँटी हुँदै ओसारपसार हुने गरेको छ ।

    इरानले जलघाँटीमाथि आफ्नो नियन्त्रण रहेको दाबी गर्दै अनुमति नलिई पार गर्न खोज्ने जहाजलाई नियमित रूपमा निशाना बनाएको छ । त्यसको जवाफमा अमेरिकाले इरानी बन्दरगाहमा नौसैनिक नाकाबन्दी लगाएको छ ।

    अमेरिका र इरानबीचको कूटनीतिक प्रयास पनि अवरुद्ध भएको छ । द्वन्द्वको स्थायी समाधानका लागि मार्ग खोल्ने अपेक्षा गरिएको सम्झौता भङ्ग भएपछि वार्ता थप कठिन बनेको छ । यसैबीच, यमनमा साउदी अरेबिया र इरान समर्थित हुथीबीचको लडाइँले पनि क्षेत्रीय तनावलाई थप विस्तार गरेको छ ।
–––

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan