Sunday 8th of November | २०८३ कार्तिक २२ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

तिहारको तेस्रो दिनः मनाइयो कुकुर तिहार

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक २२ आइतबार |
newsabhiyan

काठमाडौँ, २२ कात्तिकः यमपञ्चकको तेस्रो दिन आज इमान्दारीपूर्वक घरको सुरक्षामा खटिने कुकुरको पूजा गरी मीठो खानेकुरा खान दिएर मनाइएको छ ।

कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठो खान दिए यमलोकको यात्रा गर्दा यमराजको पहरेदारका रुपमा मूलढोकामा बस्ने श्याम र सबल नाम गरेका कुकुरले सहजरुपमा बाटो छोडिदिने धार्मिक विश्वास रहेको धर्मशास्त्रविद् प्रा तोयराज नेपालले बताउनुभयो । 
 
घरमा कुकुर पाल्नाले मुटु र मधुमेहजस्ता रोग नलाग्ने आधुनिक वैज्ञानिक मान्यता छ । वैवस्वत मन्वन्तर कुलमा जन्मिएको कुकुर अहिले लोकप्रिय घरपालुवा जनावरका रुपमा समेत स्थापित भएको छ ।

तिथिको घटबढका कारण धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गर्ने पर्व पनि आजै परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष सह प्राडा पुरुषोत्तम भट्टराईले जानकारी दिनुभयो । आज साँझ दीपावली गरी लक्ष्मी पूजाको तयारी भइरहेको छ ।

नेपालीको दोस्रो ठूलो चाड तिहार यस वर्ष शुक्रबारदेखि सुरु भएको हो । यमपञ्चकको पहिलो दिन शुक्रबार नयाँ भाँडा किनी घरमा ल्याई राखेर धनतेरस पर्व मनाइएको थियो ।

त्यसै साँझदेखि यम दीपदान पनि सुरु भएको छ । दोस्रो दिन शनिबार सन्देशवाहकका रुपमा कागको पूजासहित मीठा खानेकुरा खान दिई मनाइएको छ । आयुर्वेदका प्रवर्तक धनवन्तरी जयन्ती पनि यसै दिन मनाइएको थियो ।

तिहारको तेस्रो दिन आज बिहान उठेर नजिकको नदी, ताल, तलाउ, पोखरी, वा धारामा गई स्नान गरिएको थियो । यसलाई नरक चतुर्दशी स्नान भनिन्छ । स्नानपछि बत्ती बालेर दक्षिण फर्र्काई बगाइएको थियो । यसलाई नरक बगाउने पनि भनिन्छ । बिहान नित्य कर्म सकेपछि कुकुरलाई पूजा गरी मीठा खानेकुरा खान दिइएको छ । 

कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म पाँच दिन देशभर तिहार अर्थात् यमपञ्चक पर्व मनाइन्छ । चौथो दिन कात्तिक २३ गते सोमबार गाई पूजा गरिँदै छ ।  

पाँचौँ दिन कात्तिक २४ गते मङ्गलबार गोवद्र्धन पूजा, हलितिहार, बलीपूजा, गोरुपूजा पर्व परेको छ । नियमित तिथि गणना गर्दा पाँचौँ परेपनि दिन अनुसार छैटौँ कात्तिक २५ गते बुधबार दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि तिहार पर्व समापन हुन्छ । भाइटीकाको साइत कात्तिक २५ गते बुधबार ११ः०७ बजे उत्तम रहेको समितिका अध्यक्ष भट्टराईले राससलाई जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan