भोटेकोशी बाढीः प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार र राहत तीव्र
काठमाडौँ, ११ भदौः रसुवास्थित नेपाल–चीन सीमा क्षेत्रबाट बहने भोटेकोशी नदीमा आएको बाढीबाट बढी प्रभावित क्षेत्रलाई केन्द्रित गरी खोज, उद्धार र राहत कार्यलाई तीव्र तुल्याइएको छ ।
नेपाली सेनाको कमाण्डमा सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोली आज बिहानैदेखि बाढीग्रस्त क्षेत्रमा फसेका नागरिकको उद्धार, हराइरहेका व्यक्तिको खोजी र विस्थापितलाई राहत दिन क्रियाशील रहेको सैनिक प्रवक्ता राजाराम बस्नेतले जानकारी दिनुभयो ।
सेनाले रसुवाको स्याफ्रूबेँसी, टिमुरे र मैलुङ क्षेत्रमा फसेका स्वदेशी तथा विदेशी १२० जनाको हवाई उद्धार गरेको छ । बाढी प्रभावित क्षेत्रमा दुई हजार ३५० सैनिक परिचालन भएका प्रवक्ता बस्नेतले जानकारी दिनुभयो ।
