मलेसियाबाट म्यान्माली नागरिकको स्वदेश फिर्ता, सुरक्षामा प्रश्न
याङ्गुन, १८ असोज : मलेसियाबाट करिब एक हजार ५०० म्यान्माली नागरिक आइतबार स्वदेश फर्किएका छन् ।
म्यान्माका एक सरकारी अधिकारीका अनुसार उनीहरूलाई युद्धको अवस्थाबाट प्रभावित देशमा फर्काइएको हो । मानवअधिकारसम्बन्धी संस्थाहरूले भने उनीहरूको सुरक्षाबारे पर्याप्त सुनिश्चितता नरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
फर्किएका आफन्तलाई लिन बिहानै सयौँ परिवार थानलिनस्थित म्यान्मार नौसेनाको आधार शिविरबाहिर पुगेका थिए । केही परिवारले आफन्तको तस्बिर र नाम लेखिएका कागज बोकेका थिए ।
तर, अधिकांश परिवारले तत्कालै आफ्ना आफन्तलाई भेट्न पाएनन् । नौसेनाका एक अधिकारीले फर्काइएका व्यक्तिलाई याङ्गुन क्षेत्रका विभिन्न स्थानमा लगिने र त्यहाँ आफन्तसँग भेट गराइने जानकारी दिएका थिए ।
एक महिलाले मलेसिया पुगेको तीन महिनापछि पक्राउ परेका आफ्ना १९ वर्षीय भाइलाई खोजिरहेकी थिइन् । फर्काइने व्यक्तिको सूचीमा भाइको नाम देखिए पनि शिविरभित्र गएर भेट्न नपाएको उहाँले बताउनुभयो ।
मलेसियाबाट मंगलबार तीनवटा नौसैनिक जहाजमा १ हजार ४७६ जना म्यान्माली नागरिक ल्याइएको सरकारी विवरणमा उल्लेख छ । मलेसियाले पहिलो चरणमा करिब ५ हजार जनालाई स्वदेश फर्काउने योजना बनाएको बताइएको छ ।
संयुक्त राष्ट्रसङ्घ र मानवअधिकार संस्थाहरूले भने म्यान्मामा सन् २०२१ को सैन्य सत्ता परिवर्तनपछि जारी द्वन्द्वका कारण फर्काइएका व्यक्तिको सुरक्षा सुनिश्चित गर्न कठिन हुने बताएका छन् ।
मलेसियाले उनीहरू स्वेच्छाले स्वदेश फर्कन सहमत भएको जनाएको छ । तर, संयुक्त राष्ट्रसङ्घ तथा मानवअधिकार संस्थाहरूले उनीहरूसँग स्वदेश फर्कन पर्याप्त विकल्प थियो कि थिएन भन्ने विषयमा प्रश्न उठाएका छन् ।
फर्काइएकामध्ये रोहिङ्ग्या समुदायका मानिस पनि हुन सक्ने भन्दै मानवअधिकारकर्मीहरूले थप चिन्ता व्यक्त गरेका छन् । म्यान्माबाट ठूलो संख्यामा विस्थापित भएका रोहिङ्ग्या समुदायका धेरै मानिस हाल मलेसियामा शरण लिँदै आएका छन् ।
म्यान्मामा सन् २०२१ देखि जारी द्वन्द्वका कारण ठूलो मानवीय संकट देखिएको छ । संयुक्त राष्ट्रसङ्घका मानवअधिकार प्रमुख भोल्कर टर्कले हिंसाबाट प्रभावित अवस्थामा मानिसहरूलाई जबर्जस्ती स्वदेश फर्काउनु उपयुक्त नहुने बताउनुभएको छ ।
