Tuesday 6th of October | २०८३ असोज २० मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

विपद्लाई केन्द्रमा राखेर कानुन निर्माण गर्नुपर्छः मन्त्री गौतम

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २० मंगलबार | (रासस)
newsabhiyan

काठमाडौँ, २० असोजः कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले विपद्का घटनालाई केन्द्रमा राख्दै कानुन निर्माण गर्नुपर्ने बताउनुभएको छ ।
  
प्रतिनिधिसभा अन्तर्गतको हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको आजको बैठकमा बोल्दै उहाँले विपद्का घटना बढ्दै गए पनि विगतका चेतावनीलाई गम्भीर रूपमा लिन नसकिएको बताउनुभयो ।

“विगतको १०–१२ वर्षको विपद्को वार्निङ निरन्तर थियो, हामीले कति सुन्यौँ, कति सुनेनौँ ?” मन्त्री गौतमले भन्नुभयो, “जुरेको पर्वत, मेलम्चीको पहिरो, थामेको बाढीदेखि रोशी खोलासम्मको इतिहास हेर्दा नदी करिडोर र राजमार्ग क्षेत्रमा पटक–पटक ठूलो विपद् आएको छ । भोटेकोशी र रसुवामा आएको बाढीले सबैलाई झक्झकाइदिएको छ ।”

मन्त्री गौतमले  कानुन निर्माण गर्दा मात्र नभई राज्यका हरेक कामकारबाहीमा विपद्लाई केन्द्रमा राख्नुपर्ने आवश्यकता औँल्याउनुभयो । 

उहाँले भोटेकोशी विपद्पछि हराइरहेका व्यक्तिको मृत्यु घोषणा र मृत्यु दर्तासम्बन्धी कानुनी प्रक्रियाका विषयमा कानुन मन्त्रालयले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडिआरआरएमए)सँग निरन्तर छलफल गरिरहेको जानकारी दिनुभयो ।

मृत्यु घोषणासम्बन्धी व्यवस्था मुलुकी देवानी संहिता र पञ्जीकरण ऐनलगायत कानुनमा रहेको उल्लेख गर्दै उहाँले विपद्को तत्कालीन अवस्थामा कानुन संशोधन गर्नु उपयुक्त हुन्थ्यो कि हुँदैनथ्यो भन्ने विषयसमेत विचारणीय रहेको बताउनुभयो ।

“त्यतिबेला शव व्यवस्थापनकै विषयमा वादविवाद थियो । निजी क्षेत्रबाट फ्रिजको उपलब्धताका विषय पनि उठेका थिए । तत्कालीन अवस्थामा शव व्यवस्थापनका लागि आवश्यक कानुनी प्रबन्ध नगरिएको भए अवस्था झन जटिल हुन सक्थ्यो,” मन्त्री गौतमले भन्नुभयो ।

उहाँले तत्कालीन अवस्थामा शव व्यवस्थापनका लागि आवश्यक कानुनी पूर्वाधार जारी गरिएको र अहिले मृत्यु घोषणा तथा मृत्यु दर्ताको प्रक्रियाबारे समाधान खोज्न छलफल भइरहेको बताउनुभयो ।

मन्त्री गौतमले भोटेकोशी विपद्पछि राहत, मौसम पूर्वानुमान, उद्योगी व्यवसायीलाई सहजीकरण, विपद्मा परिवार गुमाएका बालबालिकाको संरक्षणलगायतका विषय गत मन्त्रालयसँग सम्बन्धित रहेको जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan