कोप–३१ मा जलवायु वित्त र ऊर्जाको मुद्दा
पेरिस, २० असोज : विश्वव्यापी तापक्रम वृद्धि र जलवायुजन्य क्षति बढिरहेका बेला टर्कीको अन्ताल्यामा नोभेम्बर ९ देखि सुरु हुने कोप–३१ मा ऊर्जा रूपान्तरण, जलवायु वित्त र बढ्दो जलवायु सङ्कट प्रमुख विषय बन्ने भएका छन् ।
यसपटक टर्कीले सम्मेलन आयोजना गर्दैछ भने अस्ट्रेलियाले वार्ताको नेतृत्व गर्नेछ । जीवाश्म इन्धनको प्रयोग घटाउने उयका रूपमा ‘विद्युतीकरण’ लाई विशेष प्राथमिकता दिइएको छ ।
सन् २०३५ सम्म अन्तिम ऊर्जा मागमा विद्युत्को हिस्सा २० प्रतिशतबाट बढाएर ३५ प्रतिशत पु¥याउने स्वैच्छिक लक्ष्यमा राष्ट्रहरूलाई प्रतिबद्ध गराउने प्रयास हुनेछ ।
जीवाश्म इन्धनलाई चरणबद्ध रूपमा हटाउने विषयमा भने विश्वव्यापी सहमति हुन सकेको छैन । गत वर्षको कोपमा सहमति जुट्न नसकेपछि ब्राजिलले कोइला, तेल र ग्यासबाट टाढा जान मार्गदर्शन गर्ने स्वैच्छिक ‘रोडम्याप’ जारी गर्ने अपेक्षा गरिएको छ । यस वर्ष करिब ६० राष्ट्रले जीवाश्म इन्धनविरुद्ध छिटो कदम चाल्न माग गर्दै छुट्टै सम्मेलनसमेत आयोजना गरेका छन् ।
विद्युतीकरणअन्तर्गत डिजेलबाट चल्ने सवारीसाधन र ग्यासबाट हुने ताप प्रणालीको स्थानमा विद्युतीय विकल्प प्रयोग गर्ने अवधारणा अघि सारिएको छ । तर विश्वको करिब एकतिहाइ विद्युत् अझै कोइलाबाट उत्पादन हुने भएकाले थप विद्युत् कसरी उत्पादन गर्ने भन्ने प्रश्न पनि उठेको छ ।
टर्कीले आर्टिफिसियल इन्टेलिजेन्स (एआई), मिथेन, फोहोर व्यवस्थापन र जलवायु अनुकूल सहर निर्माणलगायत विषयमा गैरबाध्यकारी पहल अघि बढाउने भएको छ । औपचारिक वार्तामा भने अघिल्ला सम्मेलनबाट बाँकी प्राविधिक विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।
जलवायुजन्य विपद्पछि गरिब राष्ट्रहरूले नवीकरणीय ऊर्जातर्फ रूपान्तरण, जलवायु अनुकूलन र विपद्पछिको पुनःस्थापनाका लागि धनी राष्ट्रबाट थप आर्थिक सहयोग माग्दै आएका छन् । कोप–३१ का अध्यक्ष मुरात कुरुमले जलवायु वित्तको ‘खाडल’ पुर्नु अन्ताल्याको प्रमुख प्राथमिकता हुने बताउनुभएको छ ।
यसैबीच, सन् २०२८ मा हुने कोप–३३ मा जलवायु कार्यको प्रगतिको ‘ग्लोबल स्टकटेक’ गरिनेछ । भारतले उम्मेदवारी फिर्ता लिएपछि आयोजक देश अझै तय भएको छैन । संयुक्त राज्य अमेरिका जलवायु विषयमा अनुपस्थित रहेका बेला चीनले कोप–३३ आयोजना गर्नेबारे विचार गरिरहेको बताइएको छ ।
