भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवास निर्माण अघि बढाउने सरकारको निर्णय
काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारका लागि सरकारले अस्थायी आवास (ट्रान्जिसनल सेल्टर) निर्माणको काम अघि बढाउने निर्णय गरेको छ।
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा मंगलबार बसेको बैठकले विभिन्न विकास साझेदार संघसंस्था र स्थानीय तहसँगको सहकार्यमा प्रभावित परिवारका लागि तत्काल अस्थायी आवास निर्माण गर्ने निर्णय गरेको हो।
बैठकले पुनर्निर्माण तथा आवास निर्माणमा सहयोग गर्न इच्छुक विकास साझेदार संघसंस्थालाई आफूले कुन स्थानीय तहमा कति संख्यामा घर निर्माण गर्न सक्ने हो, त्यसको विवरण प्राधिकरणलाई उपलब्ध गराउन आह्वान गरेको छ।
निर्णयअनुसार सहयोगी संघसंस्थाले नेपाल सरकारले उपलब्ध गराएको जग्गामा तोकिएको मापदण्ड र आवश्यक प्राविधिक प्रक्रियाअनुसार अस्थायी आवास निर्माण गर्नुपर्नेछ।
यसैगरी, प्रभावित क्षेत्रका वास्तविक लाभग्राही परिवारको विवरण संकलन गरी कति परिवारका लागि आवास निर्माण आवश्यक छ भन्ने यकिन गर्न सम्बन्धित स्थानीय तहलाई पत्राचार गर्ने निर्णयसमेत बैठकले गरेको छ।
सरकारले प्रभावित परिवारलाई सुरक्षित आवासको व्यवस्था गर्दै बाढीबाट विस्थापित नागरिकको पुनर्स्थापना प्रक्रियालाई प्रभावकारी रूपमा अघि बढाउने उद्देश्यले स्थानीय तह, विकास साझेदार तथा सम्बन्धित निकायबीच समन्वय गरी आवास निर्माणलाई तीव्रता दिने जनाएको छ।
