Tuesday 6th of October | २०८३ असोज २० मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २० मंगलबार |

गण्डकी, २० असोज : कास्कीका ऐतिहासिक पाँच कोटलाई समेटेर आगामी आइतबार ‘पोखरा पाँचकोट ५० किमि अल्ट्रा ट्रेल रेस–२०८३’ आयोजना हुँदैछ । नेपाल भूतपूर्व खेलाडी मञ्च, पोखराको आयोजना र विजयपुरस्थित नेपाली सेनाको पश्चिम पृतना हेडक्वाटरको विशेष सहयोगमा उक्त दौड प्रतियोगिता आयोजना गरिएको हो । 

    मङ्गलबार नेपाली सेनाको पश्चिम पृतना हेडक्वाटरमा आयोजित समन्वयात्मक बैठकमा पृतनापति उपरथी भोलानाथ थापाले नेपाल भूतपूर्व खेलाडी मञ्चको अगुवाई र निजी क्षेत्रलगायतको सहयोगमा प्रतियोगिता आयोजना हुन लागेको बताउनुभयो । उहाँले पहिलोपटक हुन लागेको यस अल्टा ट्रेल दौडले पोखराको खेल पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । 

    नेपाल भूतपूर्व खेलाडी मञ्च, पोखराका पूर्वअध्यक्ष एवं प्रतियोगिताका ‘रेस डाइरेक्टर’ तेज गुरुङले नेपालको शाहवंशीय इतिहाससँग जोडिएको कास्कीकोटसहित ऐतिहासिक महत्त्वका सराङकोट, झुप्राङकोट, अर्मलाकोट र काहुँकोटलाई समेटेर अल्ट्रा ट्रेल दौड आयोजना गरिएको बताउनुभयो । यस दौड प्रतियोगिताले प्रकृति, संस्कृति र साहसिकतासँगै इतिहासलाई पनि जोडेको उहाँको भनाइ छ । 

    उहाँका अनुसार ५० किमिको दौड पोखरा महानगरपालिका–२४ स्थित कास्कीकोटबाट सुरु भई सराङकोट, विन्ध्यवासिनी मन्दिर, जौबारी पुल, पानी ट्याङ्की, घार्मीडाँडा, ढिकीडाँडा, झुप्राङकोट, बलायँखर्क, महापुरुष डाँडा, च्होगो डाँडा, अर्मलाकोट, कुरा गाउँ, पिपलडाली, र्‍यालेचौर, काहुँकोट हुँदै नेपाली सेनाको फूलबारी ब्यारेकमा पुगेर सकिनेछ । 

    ५० किमि दुरीमा दौड पार गर्न नसक्ने धावकका लागि १६ किमि दुरी निर्धारण गरिएको मञ्चका पूर्वअध्यक्ष गुरुङले बताउनुभयो । जसमा कास्कीकोटबाट सुरु भई सराङकोट, विन्ध्यवासिनी मन्दिर, हरिचोक, सिम्पानीचोक, बगर ट्याक्सीचोक, पृथ्वीनारायण क्याम्पस, बालमन्दिर माध्यमिक विद्यालय, नारायण थान, पहेँलो पुल हुँदै पोखरा महानगरपालिका–११ स्थित फूलबारी ब्यारेकमा गई समाप्त हुनेछ । 

    प्रतियोगिताका विजेतालाई पुरुष र महिला गरी दुवैतर्फ समान रूपमा पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । ५० किमि दौडमा प्रथम स्थान गर्ने पुरुष र महिला धावकले रु. एक लाख ५० हजार नगदसहित पदक र प्रमाणपत्र प्राप्त गर्नेछन् ।  दोस्रो स्थान प्राप्त गर्नेलाई रु. एक लाख, तेस्रो हुनेलाई रु. ७५ हजार, चौँथोलाई रु २५ हजार र पाँचौँ स्थान हासिल गर्नेलाई रु. १५ हजारसहित पदक र प्रमाणपत्र प्रदान गरिने भएको छ । 

    १६ किमि दौडमा प्रथम स्थान गर्ने पुरुष र महिला धावकले रु २५ हजार, दोस्रो हुनेले रु. १५ हजार, तेस्रो र चौँथो हुनेले क्रमशः रु १० हजार र पाँच हजार नगदसहित पदक र प्रमाणपत्र प्राप्त गर्नेछन् । दौड पूरा गर्ने सबै धावकलाई ‘फिनिसर्स मेडल’ प्रदान गरिने मञ्चका अध्यक्ष दिलबहादुर गुरुङले जानकारी दिनुभयो । प्रतियोगितामा १८ वर्ष उमेर पुगेका धावकले मात्र भाग लिन पाउने भएका छन् । यही असोज २२ गते दिउँसो ४ बजेसम्म नाम दर्ताका लागि समयावधि तोकिएको छ । 

    हालसम्म केही विदेशीसहित ५० भन्दा बढी धावकले नाम दर्ता गराइसकेको आयोजकले जनाएको छ । प्रतियोगितामा नेपालका चर्चित अल्ट्रा धावकहरूको पनि सहभागिता रहने अध्यक्ष गुरुङले बताउनुभयो । करिब दुई सयजना धावकले प्रतियोगितामा भाग लिने अनुमान गरिएको उहाँको भनाइ छ । यस दौडमा भाग लिने धावकहरूले प्रकृतिको सुन्दरता, स्थानीय संस्कृति र ग्रामिण जीवनशैलीलाई नजिकबाट नियाल्न पाउने अध्यक्ष गुरुङले बताउनुभयो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan