Wednesday 7th of October | २०८३ असोज २१ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

अफ्रिकाले आफ्नै क्रेडिट रेटिङ एजेन्सी खोल्दै

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २१ बुधबार | (रासस-एएफपी)

नैरोबी, २१ असोज : अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ संस्थाहरूले अफ्रिकी देशको आर्थिक अवस्था कमजोर मूल्याङ्कन गर्ने गरेको गुनासोबीच अफ्रिकाले आफ्नै क्रेडिट रेटिङ एजेन्सी सञ्चालनमा ल्याएको छ ।

अफ्रिकी सङ्घको समर्थनमा स्थापना भएको अफ्रिका क्रेडिट रेटिङ एजेन्सी (एएफसिआरए) ले अफ्रिकी देश, व्यवसाय तथा संस्थाको ऋण तिर्ने क्षमता र वित्तीय अवस्थाको मूल्याङ्कन गर्नेछ ।

मरिससमा मुख्यालय रहेको एएफसिआरएले फिच, मूडीज र एस एन्ड पीजस्ता प्रमुख अन्तर्राष्ट्रिय संस्थाको विकल्प दिने लक्ष्य राखेको छ ।

अफ्रिकन पियर रिभ्यु मेकानिजमका अनुसार महादेशका २३ देशलाई परम्परागत रेटिङ संस्थाले मूल्याङ्कन गरेका छैनन् । विश्लेषकहरूले अफ्रिकाको ठूलो अनौपचारिक अर्थतन्त्रलाई ती संस्थाले पर्याप्त रूपमा समेट्न नसकेको बताएका छन् ।

क्रेडिट रेटिङ कमजोर हुँदा ऋणको ब्याजदर बढ्छ । सन् २०२४ मा अन्तर्राष्ट्रिय बजारबाट लिएको प्रत्येक १०० अमेरिकी डलर ऋणका लागि अफ्रिकाले औसत नौ डलर ब्याज खर्च गरेको थियो । यो एसियाका उदीयमान बजारको ४.७० र ल्याटिन अमेरिकाको ६.५० डलरभन्दा बढी हो ।

नाइजेरियाका राष्ट्रपति बोला टिनुबुले अफ्रिकाले आफूअनुकूल नभई वास्तविक आर्थिक अवस्था र सुधारका आधारमा निष्पक्ष मूल्याङ्कन चाहेको बताउनुभएको छ । तर एएफसिआरएले लगानीकर्ताको विश्वास जित्न स्वतन्त्र र निष्पक्ष मूल्याङ्कन गर्नुपर्ने चुनौती रहेको विश्लेषकहरूको भनाइ छ ।

एएफसिआरएले कुनै अफ्रिकी सरकारको रेटिङ घटाउन सक्ने वा नसक्ने विषयलाई पहिलो परीक्षणका रूपमा हेरिएको छ । केन्याका व्यवस्थापन सल्लाहकार ज्याकब ओरेकीले एजेन्सीको विश्वसनीयता ‘अफ्रिकी’ भएकामा नभई यसको स्वतन्त्रता र मूल्याङ्कनको शुद्धतामा निर्भर हुने बताउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan