Friday 9th of October | २०८३ असोज २३ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

इरानले युद्ध अन्त्य गर्ने अमेरिकी योजनामा जवाफ दिने

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २३ शुक्रबार | (रासस/सिन्ह्वा)

तेहरान, २३ असोज : सात दिनभित्र युद्ध अन्त्य गर्ने र हर्मुज जलघाँटी पुनः खोल्ने प्रस्तावमा अमेरिकाले दिएको प्रतिक्रियाको समीक्षा गरिरहेको जनाएको छ । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले आगामी केही दिनभित्र अमेरिकी विचारको जवाफ दिने बताउनुभएको छ ।

तेहरानमा बिहीबार आयोजित अन्त्येष्टि समारोहका क्रममा उहाँले वार्ता जारी रहेको र तेहरान तथा वासिङ्टनले मध्यस्थकर्तामार्फत सन्देश आदानप्रदान गरिरहेको जानकारी दिनुभयो । इरानले आफ्नो सातदिने योजनासम्बन्धी अमेरिकी धारणा प्राप्त गरिसकेको र त्यसको समीक्षा भइरहेको उहाँले बताउनुभयो ।

इरानले सेप्टेम्बर २२ मा न्युयोर्कमा संयुक्त राष्ट्रसङ्घको महासभाको ८१औँ सत्रका अवसरमा मध्यस्थकर्तामार्फत अमेरिका समक्ष युद्ध अन्त्य गर्ने र हर्मुज जलघाँटी पुनः खोल्ने योजना प्रस्तुत गरेको थियो । उक्त योजनाअनुसार अमेरिकाले इरानका सर्त स्वीकार गरेमा सात दिनभित्र युद्ध अन्त्य गरी जलमार्ग पुनः खोल्ने प्रस्ताव गरिएको थियो ।

इरानी अधिकारीहरूले लेबनानसहित सबै मोर्चामा युद्ध अन्त्य गर्नु र हर्मुज जलघाँटी पुनः खोल्नु नै जारी कूटनीतिक प्रक्रियाको मुख्य उद्देश्य रहेको बताउँदै आएका छन् ।

यद्यपि, अमेरिकी उपराष्ट्रपति जेडी भान्सले सोमबार रोयटर्ससँगको अन्तर्वार्तामा युद्ध अन्त्यका लागि इरानले आफ्नो आणविक संवर्धन क्षमतामा अर्थपूर्ण कटौती गर्नुपर्ने बताउनुभएको थियो । उहाँले इरानले अमेरिकी माग पूरा गर्नुपर्ने धारणा राख्नुभएको थियो ।

यसको जवाफमा इरानको आणविक ऊर्जा सङ्गठनका अध्यक्ष मोहम्मद एस्लामीले बिहीबार युरेनियम संवर्धन आणविक उद्योगको अभिन्न अङ्ग भएको बताउनुभयो। अमेरिकी धम्की र सैन्य कारबाहीका बाबजुद इरान आफ्नो अडानबाट पछि नहट्ने उहाँले स्पष्ट पार्नुभयो।

इरानको आणविक कार्यक्रम अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीसँगको सुरक्षा सम्झौता तथा आणविक हतियार अप्रसारसम्बन्धी सन्धिअनुरूप रहेको दाबी पनि एस्लामीले गर्नुभयो ।

गत फेब्रुअरी २८ मा इजरायल र अमेरिकाले तेहरानसहित इरानका विभिन्न सहरमा संयुक्त आक्रमण सुरु गरेका थिए । त्यसको जवाफमा इरानले इजरायल तथा यस क्षेत्रका अमेरिकी सैन्य अखडा र सम्पत्तिलाई लक्षित गरी क्षेप्यास्त्र तथा ड्रोन आक्रमण गरेको थियो। त्यससँगै इरानले हर्मुज जलघाँटीमा आफ्नो नियन्त्रण थप कडा बनाएको थियो ।

युद्धरत पक्षबीच अप्रिल ८ मा युद्धविराम भएको थियो । त्यसपछि जुन १८ मा इरान र अमेरिकाले सबै मोर्चामा युद्ध अन्त्य गर्ने समझदारीपत्रमा हस्ताक्षर गरेका थिए ।

उक्त समझदारीअनुसार अन्तिम सम्झौतामा पुग्न दुवै देशले अगस्ट १७ मा समाप्त हुने ६० दिनको अवधिभित्र वार्ता गर्ने सहमति गरेका थिए । तर, तनाव बढ्दै गएपछि दुवै पक्षले वार्तामा उल्लेखनीय प्रगति गर्न सकेनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan