Friday 9th of October | २०८३ असोज २३ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

पोखरामा स्कुल बस दुर्घटना हुँदा मृत्यु भएका पाँच जनाको पहिचान (अपडेट)

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २३ शुक्रबार |

कास्की, २३ असोजः कास्कीको पोखरा महानगरपालिका-२८ कालिका ओख्लेको भीरमा आज बिहान स्कुल बस दुर्घटना हुँदा चार विद्यार्थीसहित पाँच जनाको मृत्यु भएको छ । घटनामा १४ जना घाइते भएका छन् । सौर्य माझठानाबाट कालिकास्थानतर्फ आउँदै गरेको कालिका बोर्डिङ स्कुलको ग२ख १४१७ नम्बरको बस आज बिहान सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटना भएको हो ।

    दुर्घटनामा परी मृत्यु हुनेमा पोखरा महानगरपालिका-२८ माझठानाकी १३ वर्षीया ममता तिवारी, सोही ठाउँका १४ वर्षीय अशिम कँडेल, कक्षा १० मा अध्ययनरत माझठानाकी १४ वर्षीया रुमिका नेपाली र माझठानाकै कक्षा १० मा अध्ययरत सुवेच्छा तिवारी रहेका जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एवं प्रहरी उपरीक्षक नविन कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार उपचारका लागि लिफ्ट मागेर सोही बसमा सवार भएका पोखरा-२८ निवासी ६५ वर्षीय बाबुराम तिवारीको पनि दुर्घटनामा मृत्यु भएको छ ।

    दुर्घटनामा घाइते भएका तीन जनाको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको प्रहरी उपरीक्षक कार्कीले जानकारी दिनुभयो । घाइतेहरूमा पोखरा-२८ सौर्यकी कक्षा १० मा अध्ययनरत १६ वर्षीया सृष्टी तिवारी, सोही ठाउँका कक्षा १० मा अध्यनरत १६ वर्षीय शिसन थापामगर र डाँडागाउँका १६ वर्षीय कक्षा १० मा अध्यनरत सौगात तिमिल्सिना रहेका छन् । उनीहरूको अवस्था मध्यम रहनुका साथै बोल्न सक्ने अवस्थामा रहेका प्रहरीले जनाएको छ ।

    पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत घाइतेमध्ये माझठानाकी १५ वर्षीया अस्मी कँडेलको अवस्था गम्भीर रहेको प्रहरी उपरीक्षक कार्कीले जानकारी दिनुभयो । छ । 

    यसैगरी मादी गाउँपालिका-१२ पहिरेकी १४ वर्षीया स्नेहा खत्री, पोखरा-२८ माझठानाकी १३ वर्षीया सोनिया तिवारी, १३ वर्षीय अङ्कित पराजुली, मादी-१२ पहिरेकी १५ वर्षीया स्मृति खत्री, पोखरा-२८ माझठानाकी १६ वर्षीया स्नेहा तिवारी, १४ वर्षीया आकृती बुढाथोकी, १५ वर्षीया मेरिना तिवारी, १४ वर्षीया सुप्रिया आचार्य र १६ वर्षीय यमन मगर घाइते भएका छन् । उनीहरू सबैको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ । बस चालक पोखरा महानगरपालिका–१५ निवासी ५७ वर्षीय तुलबहादुर गुरुङको ढाड र छातीमा चोट लागेको छ । उहाँको अवस्था मध्यम छ ।

    दुर्घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय शिशुवाबाट प्रहरी निरीक्षक सन्तोष पौडेलको कमान्डमा सात जना, जिल्ला प्रहरी कार्यालय कास्कीबाट प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानको कमान्डमा ट्राफिक प्रहरीसहित १५ जना तथा सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ हेक्वा कालिका गण पोखराबाट सशस्त्र प्रहरी नायब निरीक्षक बलराम गौतमको कमान्डमा १० जनाको टोली उद्धारमा खटिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan