ग्यास बुलेट पल्टियो, सडक भासियो : पृथ्वी राजमार्ग अवरुद्ध
काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी नजिक मछेडीमा ग्यास बुलेट पल्टिएको र गजुरी नजिक गलौदीमा सडक भासिएपछि राजमार्ग अवरुद्ध भएको छ।
प्राप्त जानकारीअनुसार मछेडीमा ग्यास बुलेट पल्टिनुका साथै ग्यास चुहावट भएपछि सुरक्षा व्यवस्थापन र उद्धार कार्यमा चुनौती थपिएको छ। यस्तै, गलौदीमा काठमाडौं जानेतर्फ सडक भासिएपछि सवारी आवागमन पूर्ण रूपमा प्रभावित भएको छ।
गलौदीमा भासिएको सडक खुलाउन पछाडितर्फको भाग काटेर (ब्याक कटिङ) सडक सञ्चालनमा ल्याउनुपर्ने देखिएको छ। तर, मछेडीमा ग्यास चुहावट भइरहेको र घटनास्थलसम्म पुग्न कठिनाइ भएकाले तत्काल काम अघि बढाउन समस्या भएको जनाइएको छ।
रातिको समय भएकाले घटनास्थलमा खटिएको टोलीले अवस्थाको निरीक्षण गरी आवश्यकताअनुसार जनशक्ति तथा उपकरण परिचालन गर्ने तयारी गरेको छ।
राजमार्ग अवरुद्ध हुँदा यात्रु तथा सवारीसाधन प्रभावित भएका छन्। यात्रुहरूलाई सतर्कता अपनाउन र सुरक्षाकर्मीको निर्देशन पालना गर्न आग्रह गरिएको छ।
