अष्ट्रेलियाका बोसिस्टो काठमाण्डु गोर्खाजबाट एनपिएल खेल्दै
काठमाडौँ, २४ असोजः अष्ट्रेलियाका अलराउन्डर विल बोसिस्टो नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणमा काठमण्डु गोर्खाजबाट खेल्ने भएका छन् । काठमण्डुले सामाजिक सञ्जालमार्फत बोसिस्टोलाई अनुबन्ध गरेको जानकारी दिएको हो ।
बोसिस्टोले एनपिएलको अघिल्ला दुई संस्करणमा कर्णाली याक्सबाट खेलेका थिए । तेस्रो संस्करणमा भने उनी नयाँ टोलीबाट मैदान उत्रनेछन् । काठमाण्डुले यसअघि अष्ट्रेलियाका अनुभवी ब्याटर डेविड वार्नर, श्रीलङ्काका सहान अराचिङ्गे र भारतका केएस भरतलाई पनि टोलीमा समेटिसकेको छ ।
तेत्तिस वर्षीय बोसिस्टो ब्याटिङसँगै अफब्रेक बलिङ गर्ने क्षमता भएका खेलाडी हुन् । उनले अष्ट्रेलियाको उमेर समूहको क्रिकेटमा समेत महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । सन् २०१२ मा अस्ट्रेलियाको यु–१९ टोलीको कप्तानी गरेका उनले सोही वर्षको यु–१९ विश्वकप खेलेका थिए ।
बोसिस्टोले अस्ट्रेलियाको घरेलु क्रिकेटमा फस्र्ट क्लास, लिस्ट ‘ए’ र टी–२० प्रतियोगिता खेलेका छन् । उनले फस्र्ट क्लास क्रिकेटका २८ खेलमा एक हजार १०० भन्दाबढी रन बनाउनुका साथै अफब्रेक बलिङबाट १७ विकेट लिएका छन् ।
